PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पहिले ‘प्रेम’ अनि ‘रिभेन्ज पोर्न’ : टिकटकसँग जोडिँदै अपराधको श्रृङ्खला



सविन ढकाल

पहिले ‘प्रेम’ अनि ‘रिभेन्ज पोर्न’ : टिकटकसँग जोडिँदै अपराधको श्रृङ्खला
Photo: ISTOCK / BBC THREE

काठमाडौं : नेपाल प्रहरीको इन्टरपोल जवाफको प्रतीक्षामा छ। इन्टरपोलले प्रकृया अगाडि बढाउने संकेत गरेपछि धनगढीका एक युवक समातिनेछन्। युवक भारतमा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसैले इन्टरपोल मार्फत् युवकलाई नेपालमा पठाउन प्रक्रिया चालिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरो थप अनुसन्धानका लागि तम्तयार छ। प्रहरीको अनुसन्धानले गरेको संकेत अनुसार - अदालतबाट ती युवकले जरिबानासहित केही वर्षको कैद सजाय भोग्नेछन्।

प्रहरीले खोजिरहेका ती युवकको अपराध विद्युतीय कारोबार ऐन आकर्षित हुने मुद्दामा जोडिएको छ - सामाजिक सञ्जालको प्रयोग। उनको अपराधबाट पीडित चाहिँ एक किशोरी हुन्।

सुनसरीको इटहरी घर भएकी किशोरीलाई ती युवकले अपराधको जालमा पारेका हुन्। त्यो अपराध जसले किशोरीको ज्यान जानेसम्मको स्थिति बन्यो। किशोरीको मानसिक अवस्था घटनाले गम्भीर मोडमा पुर्‍याएको छ।

सन्दर्भ झन्डै दुई महिना अगाडिको हो। सुनसरी नै घर भएका एक युवक काठमाडौंको भोटाहिटीमा रहेको साइबर ब्युरोमा उजुरी लिएर पुगे। प्रहरीसामु उनको जस्तो उजुरी कुनै नौलो विषय थिएन।

सधैं यसखाले उजुरी आइरहन्छ। तर, उजुरीको प्रकृति हेर्दा त्यहाँका प्रहरी नै झस्किन पुगे। किशोरीका दाजु बहिनीमाथि भएको अपराधको विषय लिएर प्रहरीकहाँ पुगेका थिए।

किशोरीका दाजुलाई सामाजिक सञ्जालमा एउटा भिडियो मिल्यो। त्यो भिडियो हेरेर उनी छाँगाबाट खसे झैँ भए। भिडियो उनकै बहिनीको रहेछ। अश्लील।

त्यसको केही समयमा नै अर्को म्यासेज उनीसामु आयो। रकमको बार्गेनिङ गर्दै लेखिएको थियो म्यासेजमा - पाँच लाख रुपैयाँ नदिए भिडियो भाइरल गर्ने! उनीहरुका बुवा रोजगारीका लागि दुबईमा। बुवा पनि छोरीको घटना थाहा पाएपछि टेलिफोनबाट प्रहरीसँग जोडिए।

‘हामीसँग पीडित परिवार आउँदा किशोरीको अवस्था एकदमै नाजुक थियो। उनको मानसिक अवस्थामा पनि निक्कै कमजोर थियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

प्रहरीले घटनाको बारेमा किशोरीसँग संक्षिप्तमा जानकारी लिएको छ।

टिकटकबाट भएको भेटले निम्त्यायो अपराध

सपना (परिवर्तित नाम) नृत्य भनेपछि हुरुक्कै। टिकटकमा त्यस्तै एक युवक भेटिन् उनले - राम्रोसँग नाच्न जान्ने। दुवैलाई जोड्ने माध्यम चाहिँ टिकटक।

विस्तारै सपना र ती युवक टिकटकबाटै कुराकानीमा जोडिन थाल्छन्। दुवै नाचगानमा रमाउने भएकाले उनीहरुबिच रिदम पनि मिल्दै गयो।
कुराकानीसँगै टिकटक भिडियो लाइभमा समेत जोडिनेक्रम सुरु भयो। त्यसपछि प्राइभेट भिडियो कलको श्रृङ्खला सुरु।

कुराकानीबाट किशोरीलाई युवक सहजै आफ्नो जालमा पार्न सफल भए। नितान्त निजी कुराहरु पनि सेयर हुन थाल्यो। उनीहरूबिच अन्तरङ्ग कुराकानी भिडियोमा समेत भयो। त्यही कुराकानीलाई युवकले आफ्नो मोबाइलमा रेकर्ड गरे। त्यही रेकर्डलाई हतियार बनाए। र, थाले बार्गेनिङ।

एसईईको तयारीमा रहेकी सपना। आफ्नै दाजुसम्म भिडियो पुगेर पैसा मागेको विषय थाहा हुनसाथ मानसिक तनावमा पुगिहालिन्। एसईई आउन केही साता अगाडि उनीहरू प्रहरीकहाँ पुगे।

प्रहरीले घटनालाई गहन रुपमा लियो। त्यसपछि सपनालाई छुट्टै होस्टलमा राखेर एसईईको तयारी गराइयो। अपराधीलाई पक्राउ गर्ने र घटना गोप्य राख्ने आश्वासन दिएपछि पीडित परिवार केही ढुक्क भयो। किशोरीले एसईई दिइसकेकी छिन्।

युवकले गरेको अपराधलाई प्रहरीको भाषामा ‘रिभेन्ज पोर्न’ भनिन्छ। पहिले सहमतिमा भएका कुरालाई पछि बार्गेनिङ गर्नु नै यसको विशेषता हो। पछिल्लो समय ‘रिभेन्ज पोर्न’का घटना बढेर गएको साइबर ब्युरोका एसपी पशुपति रायले बताए।

‘चालु आर्थिक वर्षमा मात्र ९ सय वटा यस्ता उजुरीहरू परेका छन्। घटनाहरू बढ्दै गएको देखिन्छ,’ एसपी रायले भने।

यस्ता घटनाबाट बच्नको लागि अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा व्यक्तिगत कुराकानी नगर्न प्रहरीको अनुरोध छ। त्यसो त ‘रिभेन्ज फोर्न’का घटनामा आफन्तबाट पनि पीडित भइरहेका छन्। श्रीमान्, प्रेमीबाट पनि पहिलेको सम्बन्धको आधारमा लिएका फोटो भिडियोलाई आधार बनाएर आर्थिकदेखि यौन सम्बन्ध कायम राख्न बार्गेनिङ भएका केसहरु समेत पर्छन् यसमा।

‘हनी ट्रयापिङ’ भन्दा डरलाग्दो बन्दै 'सेक्सटोर्सन', टार्गेटमा पूर्व मन्त्रीदेखि व्यापारीसम्म



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell