काठमाडौं : यसपटक राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भए। निर्वाचित भएयता पौडेल राष्ट्रपति संस्थामाथि लागेको 'दाग' मेटाउन लागिपरेका छन्।
यसअघि राष्ट्रपति संस्था शाही शैलीको सवारीका कारण बदनाम थियो। संयोग भनौ यसपटक राष्ट्रपति निर्वाचनताका आफ्नो दोस्रो कार्यकाल पुरा गरेर शितलनिवासबाट बिदाई लिन लाग्दा पनि विद्यादेवी भण्डारी विवादमा तानिइन्।
भण्डारी संसद भवनमा सम्बोधन गर्न पुग्दा सवारीको शाही शैलीले सडक ठप्प बन्यो। त्यसपछि सर्वसाधारणमात्र हैनन् डाक्टरहरु सडकमा उत्रनुपर्यो, कारण सडकमा लामो समय शाही शैलीको कडिकडाउ। जसले गर्दा डाक्टरले प्रहरीको कुटाइसमेत खानुपर्यो। यस्तो जाममा पर्दा कतिपयले आक्रोशित हुँदै सडकमै लामो हर्न बजाउँथे।
फागुन २५ गते नयाँ राष्ट्रपति चुनियो। राष्ट्रपतिमा चुनिँदै गर्दा पौडेलले आफूले सर्वसाधारणको बाटो नछेक्ने वचन दिएका थिए। राष्ट्रपतिको जीवनशैलीदेखि सवारीसम्म आलोचना भएको छ नि। यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? सञ्चारकर्मीले पौडेललाई प्रश्न गरेको थिए।
'यसलाई व्यवस्थापन गर्न सकिन्छ। जनतालाई दु:ख दिने गरी जनताको बाटो रोक्ने गरेर यो काम हुन सक्दैन। हुनुहुँदैन,' जवाफमा पौडेलले भनेका थिए।
आफूले गरेको वाचामा राष्ट्रपति पौडेल खरो उत्रन्छन् त? 'प्रोटोकल'ले नै मिल्दैन - धेरैलाई शंका थियो।
तर, राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आफूले भने झैं सवारीको व्यवस्थापन गरे। 'प्रोटोकल'ले उनलाई छेकेन। पशुपति निस्कँदा होस् या सेना दिवसको दिन टुँडिखेलमा सहभागी हुँदा पौडेले सामान्य सवारीमै निस्किए। लस्करको सवारी लिएर हिँडेनन्।
शितल निवास नछिर्दै पौडेल फागुन २६ गते बिहान गुहेश्वरी र पशुपतिनाथ मन्दिरमा दर्शनमा निस्किएका थिए। त्यही दिन दिउँसो सुन्दरीजलस्थित वीपी संग्राहलय पुगे। लगत्तै पौडेल स्वयम्भु पुगे। पौडेल फागुन २७ गते ललितपुरको बाँडेगाउँस्थित नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आश्रम पुगे।
त्यही दिन नै कीर्तिपूरको चम्पादेवीमा रहेको पुष्पलाल स्मृति प्रतिष्ठानमा पुगेर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरे।
फागुन २९ गते पौडेलले पद तथा गोपनियताको शपथ लिए। लगतै लैनचौरस्थित शहिद स्मारकमा पुगेर शहिदहरुप्रति सम्मान प्रकट गरे। चैत ५ गते पौडेल वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवि कुमारीको दर्शन गरे। त्यहाँ पुग्दा पौडेल सामान्य सवारीमा पुगेका थिए। साथै कुमारीघरमा चियापानमासमेत सहभागी भएका थिए उनी। कुमारीघरमा राष्ट्रप्रमुखले चियापान गरेको यो पहिलो पटक थियो।
राष्ट्रपति पौडेल चैत १२ गते गोरखा दरवारको अवलोकनमा पुगे। गोरखा दरबारमा गोरखनाथ र गोखरकालीको दर्शन साथै पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे। गोरखामा पौडेलले सवारी शब्द प्रयोग नगर्न आग्रहसमेत गरेका थिए।
बधाई तथा शुभकामनामा सहजता
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई तथा शुभकामना दिनेको ओइरो लाग्यो। यसका लागि शीतल निवासमा सहज व्यवस्थापन गरिएको उनको सचिवालयको दाबी रह्यो।
पौडेल शीतल निवास पुगेपछि विभिन्न संघसंस्था, उद्योगपति, व्यापारी, कानुन व्यावसायी, पत्रकार, प्राध्यापकहरुले भेटघाट गरी शुभकामना तथा बधाई दिएका थिए। पौडेलले चैत १० गते दिउँसो तनहुँका सर्वसाधरणसँग भेटघाट गरे।
यो बीचमा राष्ट्रपति पौडेलले सातै प्रदेशका प्रदेश प्रमुख, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, महान्याधिवक्ता डा दिनमणी पोखरेलसँग भेट तथा परामर्श गरे।
राष्ट्रपति पौडेल यही बीचमा बिरामीसमेत भए। जसका कारण उनी पाँच दिनसम्म शिक्षण अस्पतालमा उपचारमा बिताए। चैत १९ गते शिक्षण अस्पतालमा पाँच दिनपछि शितल निवास फर्के।
सल्लाहकार नियुक्तीमा भने विवाद
राष्ट्रपतिले आफ्ना लागि विभिन्न विज्ञहरु नियुक्त गर्न पाउँछन्। तर यसपटक विज्ञ नियुक्तीबारे सुरुमै एमाले सांसद रघुजी पन्तले प्रश्न उठाएका थिए। यद्यपि, राष्ट्रपति पौडेलले ३ जना विज्ञ नियुक्ती गरे।
रामचन्द्र पौडेलले आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरे। यसैगरी कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरे। कुँवर गण्डकीका प्रदेश प्रमुख भइसकेका व्यक्ति हुन्। राष्ट्रपतिका सल्लाहकार बनेकाले राज्यमन्त्री सरहको सुविधा पाउने उल्लेख छ। यद्यपि, मर्यादाक्रमअनुसार प्रदेश प्रमुख राज्यमन्त्रीभन्दा माथिल्लो ओहोदाको पद हो। यी दुई सल्लाहकार नियुक्तीमा खासै विवाद नभए पनि राजनीतिक सल्लाहकार नियुक्ति भने विवादमा तानियो।
मन्त्री भइसकेका कांग्रेस नेता सुनिलबहादुर थापा राजनीतिक सल्लाहकारमा नियुक्त भए। जसलाई शीतल निवासले केही समय बाहिर ल्याउनसमेत चाहेन। यद्यपि, थापा आफैले भने आफू राजनीतिक सल्लाहकार नियुक्त भएको स्विकारेका थिए। कुनै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रभावशाली नेताका रुपमा रहेका थापा गुटसहित कांग्रेस छिर्दा झन् कमजोर बने। यसपटक गठबन्धनको उम्मेदवार बनेर धनकुटाबाट चुनाव लड्दा पनि उनी निर्वाचित भएर आउन सकेनन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनलाई पौडेलले राजनीतिक सल्लाहकारको पद दिएर 'न्याय गरेको' समेत कांग्रेसीजनको बुझाइ छ।
स्वकीय सचिवालयमा निष्पक्षता!
सचिवालय बढीजसो आफन्त भर्ती गर्ने थलो बन्छ। तर, राष्ट्रपति पौडेल सचिवालय गठनमा निष्पक्ष बने।
उनले प्रमुख स्वकीय सचिवमा डा सुरेशचन्द्र चालिसे, प्रेस सचिवमा किरणकुमार पोखरेल, निजी सचिवमा चिरन्जिवी अधिकारी, प्रेस संयोजकमा खिला कार्की, स्वकीय उपसचिवमा सुशील तिमिल्सेना, स्वकीय अधिकृतमा दिनेश शर्मा, कार्यालय सहयोगीमा विमला थापामगरलाई रोजे। काजमा हल्का सवारी चालक चन्द्र लामा रोजेका छन् उनले। राष्ट्रपति पौडेलले सचिवालयमा आफ्नो क्षेत्र, जिल्ला, आफन्तभन्दा पनि सम्बन्धित क्षेत्रका विज्ञलाई समेटेको राष्ट्रपतिको कार्यालयले दाबी गरेको छ।