PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

समुदायको 'भोट बैंक' कब्जा गर्ने दाउमा दलहरु : बारामा पहिलो यादव, निर्णायक मत मुस्लिमको



राधेश्याम पटेल

समुदायको 'भोट बैंक' कब्जा गर्ने दाउमा दलहरु : बारामा पहिलो यादव, निर्णायक मत मुस्लिमको

वीरगंज : मधेशमा जातीय समुदायलाई भोट बैंककै रुपमा हेरिन्छ। चुनावको दिन नजिकिएसँगै उम्मेदवारहरू यही भोट बैंक कब्जा गर्ने रणनीति बनाउन जुटिरहेका छन्।

बिहान होस् या बेलुका, घरदैलोदेखि रातिसम्मको प्रचारमा उनीहरूले पहिलो प्राथमिकता हो जातिगत मत। यसैगरी, गैर जातिगत मत तान्ने रणनीति दोस्रो प्राथमिकतामा परेको छ। मतदाता रिझाउन उम्मेदवारको 'टेक्निक' पनि थरीथरीको देखिन्छ। कोही मतदाताकै घरमा खाने, जबरजस्ती घरआँगन तथा खेतमा पस्ने, नमस्ते गर्ने, मिठो बोल्ने, अँगालो हाल्ने, फोटो खिचाउने, पोस्टर–पम्पलेट बाँड्ने।

बारा क्षेत्र नं २ मा करिब एक लाख पाँच हजारभन्दा बढी मतदाता रहेकामा सबैभन्दा बढी यादव, दोस्रोमा थारू, तेस्रोमा मुस्लिम भएका कारण सबै दलको नजर यी जातिमा विशेष रूपमा बढ्दो छ। यादव जातिमा १४ हजार १६७ पुरुष, महिला १० हजार ३३३ गरी कुल २४ हजार ५०० मत रहेकाले पहिलो प्राथमिकताको जाति यादव बनेको छ।

बलिया प्रतिस्पर्धीहरूमध्ये यादव जातिबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमात्र उम्मेदवार भएकाले उनलाई यादवहरूले बढी मत दिन सक्ने विश्लेषण गरिएको छ। दोस्रोमा थारू, उनीहरू ६.४ प्रतिशत अर्थात् नौ हजार ३३२ मत रहेको बुझिएको छ। थारू जातिको बसोबास बारा–२ को उत्तरी भेगमा भएकोले उक्त क्षेत्रका आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली, जसपा, जनमत, एमालेलगायतको पोल्टामा जाने आँकलन गरिएको छ तर उत्तरी भेगमा एमालेका पुरुषोत्तम पौडेल र आम जनता पार्टीका ज्ञवाली बढी सक्रिय छन्।

त्यसैगरी, कुल मतको ५.१ प्रतिशत अर्थात् छ हजार ४९२ मतदाता मुस्लिम समुदायको रहेको छ। जातिगत मत हेर्दा मुस्लिम तेस्रो नम्बरमा छ। त्यसकारण पनि मुस्लिम समुदायको मतमा निर्णायक हुने देखिन्छ। यसैमा प्रमुख भनिएका उम्मेदवारको आश टिकेको देखिन्छ।

 


चुनाव नजिकिँदा यसरी तातियो बाराको माहोल : डिजेवाला गाडीदेखि भारतीय गाडीको लस्कर, भेटिए अटोमा भोट माग्ने पनि, कसको अवस्था के?



एक वा दुईवटा जातिगत मतलाई आकर्षित गर्न उम्मेदवार तथा नेता, कार्यकर्ताहरूले भरमग्दुर प्रयास गरिरहेका छन्। त्यसैगरी, बारा–२ मा कुल मतदाताको ४.३ प्रतिशत अर्थात् चार हजार ६७२ मत कुशवाहा, ३.१ प्रतिशत अर्थात् चार हजार १३४ मत कानू, २.१ प्रतिशत अर्थात् तीन हजार ४०५ मत तेली जातिबाट रहेका छन्। यादवबाहेकको मतदाता सङ्ख्या कुल मतदाताको ४६ प्रतिशत अर्थात् ५० हजारको हाराहारीमा मतदाता छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले बाहिरिया र आफ्नै क्षेत्रको उम्मेदवारको पहिचान गरी ‘धर्तीपूत्र उम्मेदवारलाई मतदान गरौं’ भन्ने अभियान ४६ प्रतिशत गैरयादव मतदातालाई रिझाउन रहेको हुन सक्छ।

‘यादव भर्सेज अल’को रणनीतिले चुनावमा बाजी मार्ने दाउमा जनमत पार्टी रहेको देखिन्छ। तर सत्तारूढ गठबन्धन दलका साझा उम्मेदवार जसपा अध्यक्ष यादवको अड्ढगणित अगाडि रहेको देखिन्छ। उनी अंकगणितमा अगाडि भए तापनि तटस्थ मतदाताहरूले आगामी चुनावमा प्रभाव पार्न सक्ने आँकलन पनि गरिएको छ। तटस्थ मतदाता भन्नाले कुनै पनि दलमा नलागेको, दलको कार्यक्रममा सहभागी नहुने गरेको, राम्रोलाई राम्रो–नराम्रोलाई नराम्रो भन्ने र उम्मेदवारको छवि र दलको ग्राफ हेरेर स्वतन्त्ररूपमा निर्णय लिने मतदाताहरू हुन्।

बारा-२ मा पाँचवटा पालिकाका सम्पूर्ण वडा र कोल्हवी नपाको ८ नं वडा गरी ४४ वटा वडा यो क्षेत्रभित्र पर्छ। जसमा सबैभन्दा बढी मतदाता बाराको महागढीमाई नगरपालिकामा छन्। उक्त नगरपालिकामा ११ वटा वडा छन्। त्यसपछि पचरौता नपामा नौवटा वडा, सुवर्ण गापामा आठवटा, देवताल गापामा सातवटा, करैयामाई गापामा आठवटा वडा गरी यी पाँच पालिकामा ४३ वटा वडा छन्।

सत्ता गठबन्धन दल जसपाको सो क्षेत्रमा दुईजना निर्वाचित विधायक, करैयामाई र देवतालमा जसपा, महागढीमाई र सुवर्णमा काङ्ग्रेस, पचरौतामा एमालेबाट पालिका प्रमुख छन्। पाँचवटा पालिकामध्ये चारवटामा सत्तारूढ गठबन्धनकै प्रमुख भएकाले पनि जसपा अध्यक्ष यादवलाई बलियो उम्मेदवार मानिन्छ। तर एमाले, आम जनता पार्टी र जनमत पार्टीबीच सहमति भई जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिने रणनीति पनि बन्न सक्ने बताइएको छ। यदि यी तीन दलले सहमति गरेमा यादवले चुनावमा कडा चुनौती पाउने जानकारहरू बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell