काठमाडौं : सकम्बरी गीतको आलोचना बढ्न थालेपछि गायक प्रकाश सपुतले आफ्नो धारणा राखेका छन्। सामाजिक सञ्जालमार्फत सपुतले दोहोरी साँझबाटै आफूले यो कथा पाएको दाबी गरेका छन्। बिहीवार साँझ फेसबुकमा रात्रिकालिन मनोरनञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेका छन्, 'यदि रात्राकालीन मनोरन्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुँदैन थिएँ। म सधै ऋणी छु। आभारी छु। र साथै इमान्दारिताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने 'सकम्बरीको' कथा पनि मसँग हुँदैनथ्यो।'
सपुतले दोहोरी क्षेत्रका कलाकारलाई हेर्ने समाजको दृष्टिकोण पक्षपातपूर्ण रहेको उल्लेख गर्दै यसै गीतलाई आधिकारिक रिपोर्ट नमान्नसमेत आग्रह गरेका छन्।
'सकम्बरी'को किन भइरहेको छ चर्को आलोचना? सर्जक दोषी कि अडियन्स!
'सकम्बरीले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो। यो सबै क्षेत्रमा छ। अझ भनौ विश्वव्यापी छ। यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृति विशेष छ। त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हो,' सपुतले भनेका छन्, 'र कुनै अर्को क्षेत्रमा छँदैछैन भन्नु पनि अपत्यारिलो हो। तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ। यो एउटा शैली हो। कथा निर्माण प्रक्रिया हो। यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला। यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनु होला।'
सपुतको सकम्बरीले युट्युबमा सात दिनमा करोड़ भ्युज पाएको छ।