काठमाडौं : निर्वाचन आयोगले मतदान नसकिएसम्मका लागि ४८ घण्टा अगाडीदेखि मौन अवधिको समय लागू गर्छ। आइतवारको उप निर्वाचनमा पनि वैशाख ७ गते राति १२ वजेदेखि मौन अवधि सुरु भएको थियो। तर मौन अवधिमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपका सभापति तथा चितवन-२ का उम्मेदवार रवि लामिछाने भने फेसबुक लाइभमा आएका छन्।
उनले मतदानकै बेलामा लाइभमा आएर मतदान गर्न अपिलसमेत गरे। निर्वाचन आचारसंहिता विपरित लामिछानेले फेसबुक लाइभमा आएर मतका लागि अपिल गरेको देखिएको हो। 'मत हाल्न सबै जानुहोला। यहाँका मतदातालाई केहि भए सबैले जिम्मा लिनुपर्छ। तपाईँका कारणले घाइते भएका मतदाताले तपाईँप्रति कहिले सदभाव राख्ने छैनन्,' फेसबुक लाइभमा लामिछानेले भने।
मौन अवधिमा शान्तपूर्वक मतदान मात्रै गर्न पाइने भए पनि लामिछानेले उक्त आचारसंहिताको पालना नगरेका हुन्।
'म बिनम्रतापूर्वक भन्न चाहन्छ शान्त पूर्वक मतदान गर्न। कति मत खस्यो भन्ने कुराले निर्धारण गर्छ। कृपया मतदान गर्न गइदिनुहोला। चितवनमा रहेका नेतालाई तथा काठमाडौंमा रहेका शीर्ष नेतालाई म आग्रह गर्न चाहन्छु सबै नेता कार्यकर्तालाई सम्झाउनुहोला,' लामिछानेको भनाइ छ। त्यसअघि उनले मतदातालाई भेट्न खोजेपछि केहिबेर सामान्य झडप समेत भएको थियो। झपडको स्थिति उत्पन्न भएपछि लामिछाने फेसबुक लाइभमा आएका थिए।
लामिछाने आज बिहानमात्रै पनि फेसबुक लाइभमा आएका थिए। उक्त लाइभमा पनि लामिछानेले आचारसंहिताको उल्लंघन गरेर मत मागेका थिए। 'रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनहुँ र चितवन तिनै ठाउँमा भोट घण्टीलाई नै हो,' लामिछानेले बिहानको लाइभमा भनेका थिए।
रवि लामिछानेले मौन अवधिको उल्लंघन गरेको निर्वाचन आयोगको ठहर, 'यस्तो गर्न पाइँदैन'
के छ आचारसंहितामा?
निर्वाचन आचारसंहिता २०७९ को दफा १७ मा मौन अवधिमा पालना गर्नुपर्ने आचारणका बारेमा उल्लेख गरिएको छ। जसमा अन्तक्रिया गर्ने नपाइने, मत माग्न नपाइने, सामाजिक सञ्जालबाट सन्देश दिन नपाइने पनि उल्लेख छ।