PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

उपनिर्वाचनले उदाङ्गो पारेको दलहरुको छवि : नयाँ नेता झन् अराजक, पुरानाको बिग्रिएको पारा उस्तै



प्रकाश भण्डारी

उपनिर्वाचनले उदाङ्गो पारेको दलहरुको छवि : नयाँ नेता झन् अराजक, पुरानाको बिग्रिएको पारा उस्तै

काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचन केही तनावपूर्ण रह्यो। हिसांत्मक घटना नभए पनि स्थिति सामान्य भने रहेन।

बारा-२ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) र जनमत पार्टीको टकरावका दृश्य चुनाव प्रचारकै बेलादेखि चर्चामा थिए। आइतवार पनि त्यसले निरन्तरता पायो।

जनमतका अध्यक्ष डा सिके राउतले जसपाले धाँधली गरेको आरोप लगाए। जसपा र जनमतका कार्यकर्ताबिच चुनाव प्रचारकै बेला घम्साघम्सी भएको थियो।

चितवन-२ रवि लामिछानेका कारण चर्चामा रह्यो उपनिर्वाचनमा पनि। लामिछानेलाई मतदानकै दिनसम्म पनि विवादले छाडेन।

उनले आचारसंहिता उल्लंघन गरेर मौन अवधिमा पनि मत मागे फेसबुक लाइभ मार्फत। तनहुँ-१ रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका कारण अरु दल दबाबमा छन्।

आचारसंहिताको धज्जी

पुराना नेतामाथि आक्रोश व्यक्त गरिरहन्छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। तर उनका गतिविधि भने पुराना पार्टीका नेताका भन्दा कम छैनन्।

‘पानी माथिको ओभानो’ हुन खोजिरहने लामिछानेले आइतवार पनि मौन अवधिको उल्लंघन गरे। बिहानै फेसबुकमा लाइभ गरेर आफूलाई र आफ्ना पार्टीका उम्मेदवारलाई मत मागेका थिए।

‘रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनहुँ र चितवन तीनै ठाउँमा भोट घण्टी लाई नै हो,’ लामिछानेले लाइभमा भनेका थिए।

मौन अवधिमा कुनै पनि सञ्चार माध्यममार्पत मत माग्न नपाइने भएपनि लामिछानेले त्यसको ठाडै उल्लंघन गरे। जबकी उनले अरु पार्टीका नेता कार्यकर्तालाई सिकाउन भ्याएका थिए दिउँसोको लाइभमा।

उनी मतदान स्थलमा पुगेपछि उनका समर्थकले होहल्ला गरेपछि स्थिति केही समय असामान्य बनेको थियो। उक्त घटनापछि केही समय मतदान नै रोकियो। सर्वदलीय बैठकले रास्वपाले माफी माग्ने सहमति गराएपछि भने मतदान फेरि सुरु भएको थियो।

सिके राउत पनि उस्तै

नयाँ पार्टीका नेताहरुको तुलनामा जनमतका अध्यक्ष डा सिके राउत सुझबुझपूर्ण नेतृत्व भएको भन्दै उनको प्रशंसा नै हुने गरेको थियो। निर्वाचनका बेलामा भने उनले पनि आफ्नो पार्टीलाई जसरी पनि जिताउने र जसपालाई हराउनै पर्ने रणनीति बनाउँदा बारा-२ मा पनि स्थिति तनावपूर्ण नै बन्न पुग्यो।

उनले पनि मौन अवधिको उल्लंघन गरेर मतदानकै बेला जसपाले धाँधली गरेको भन्दै आक्रोश व्यक्त गर्न भ्याए। उक्त घटना पनि आचारसंहिता उल्लंघन भएको निर्वाचनका आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले बताएका छन्।

‘निर्वाचनबारे गुनासोहरु गर्न परे सम्बन्धित निकाय छन्। तर यसरी बाहिर गएर मतदानबारेमा टिकाटिप्पणी गर्नु आचारसंहिता उल्लंघनको विषय हो,’ उनले भने।

राउतले भनेका थिए, ‘प्रहरीको मिलेमतोमा गुण्डाराज चलिरहेको छ। दिनदहाडै मान्छे मार्छु भन्दा प्रहरीले केही गरेको छैन। मुख्यमन्त्रीदेखि मन्त्रीहरु खुलेयाम हिँडिरहेका छन्।’

रास्वपाको विवादित चाला पछ्याउन थालेका स्वर्णिम

नेपाली कांग्रेस त्यागेर रास्वपामा प्रवेश गरेपछि तनहुँ-१ मा उम्मेदवार छन् - अर्थविद डा स्वर्णिम वाग्ले। अर्थशास्त्रीका रुपमा नाम कमाएका वाग्ले पनि रास्वपामा प्रवेश गरेपछि भने विवादित अभिव्यक्ति दिन थालेका छन्।

उनले रास्वपाका सभापति लामिछानेको बचाउ कतिसम्म गर्न थालेका छन् भने आइतवार लामिछानेको फेसबुक लाइभ नै सेयर गरे। उक्त लाइभ आचार संहिता उल्लंघनको विषय भन्दै रोक्नुको सट्टा वाग्लेले नै सेयर गरेपछि उनलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ

पुरानाको झन बिग्रदो चाला

गठबन्धन गरेरै चुनावमा गएको नेपाली कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई चुनावमा जिताउन यसपटक पनि अस्वभाविक गतिविधिमै सक्रिय रह्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी सभापति शेरबहादुर देउवालाई चुनावी सभामा सहभागी गराएर मन्त्रीको आश्वासन देखाएको थियो मतदातालाई।

फाइल फोटो : रासस।


निर्वाचन ऐन र आचार संहिताविपरित सत्ता गठबन्धनले आफ्ना उम्मेदवारलाई मत मागेको थियो। तनहुँमा गोविन्द भट्टराईलाई जिताए आफूले मन्त्री बनाउने बताएका थिए प्रचण्डले। रास्वपालाई रोक्न गठबन्धनका नेताहरु पनि आरोप प्रत्यारोपमा उत्रिए। चुनावका बेलामा देखिने अराजनीतिक अभिव्यक्ति यसपटक पनि शीर्ष नेताहरुबाटै देखिए।

मतदातामा झन् निरासा

राजनीतिक दलहरुप्रति भने मतदाता झन् निरास हुन थालेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा पहिलाको तुलनामा कम मात्रै मत खसेको थियो।

मंसिरमा भएको निर्वाचनमा ६१ प्रतिशत मात्रै मत खसेको थियो। उप निर्वाचनमा झनै कम मत खसेको छ। तीनै निर्वाचन क्षेत्रमा पहिलाको भन्दा कम मात्रै मत खसेको हो।

समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा २ मा ६३.५६ प्रतिशत, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ १ मा ५४.०३ प्रतिशत मतदान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell