PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कर्मचारीलाई तलब दिन धौधौ भइरहँदा कांग्रेस सांसदले अर्थमन्त्रीसँग राखे सांसद विकास कोष ब्युँताउने माग



प्रकाश भण्डारी

कर्मचारीलाई तलब दिन धौधौ भइरहँदा कांग्रेस सांसदले अर्थमन्त्रीसँग राखे सांसद विकास कोष ब्युँताउने माग

काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुले सांसद विकास कोष ब्युँताउन लबिङ सुरु गरेको छन्। कांग्रेसका सांसदले अर्थमन्त्री डा.प्रकाश शरण महतलाई सांसद विकास कोषलाई ब्युँताउने नीति तथा कार्यक्रममै ल्याउन माग गरेका हुन्।

सोमवार र मंगलवार नेपाली कांग्रेसको संसदीय दलमा अर्थमन्त्री महतले सांसदहरुसँग सुझाव मागेका थिए। कांग्रेसका सांसद पुष्प शाहले सांसद विकास कोष जसरी पनि ब्युँताउन भन्दै अर्थमन्त्रीलाई सुझाव दिएको जानकारी दिए।

भने,'निर्वाचन क्षेत्र विकास कोष पुनर्जीवित गर्नुपर्छ। अहिलेको आर्थिक संकटका कारण नयाँ योजनाहरु पनि विभाग मन्त्रालयमा समावेश नहुने। सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जान मुखै देखाउन पनि गाह्रो भयो भनेर सुझाव दिएका छन् सांसदहरुले।'

अर्थमन्त्री महतले भने अहिले कर्मचारीलाई तलब र समाजिक सुरक्षा भत्ता दिन पनि कठिन भएको 'ब्रिफिङ' सांसदहरुलाई गरेका थिए।

आर्थिक संकटको बेला भएकाले बहुवर्षीय योजना र क्रमगत योजनालाई नै निरन्तरता दिने छलफल भएको पनि शाहले बताए। सांसदहरुले सांसद विकास कोष नभएकाले निर्वाचन क्षेत्रमा आफूलाई जान पनि समस्या भइरहेको गुनासो अर्थमन्त्री महतलाई गरेका थिए।

'हामीलाई ६ करोड रुपैयाँ बिनियोजित गर्न पर्छ नभए राम्रो हुँदैन भन्ने कुरा सबै सांसदले राखेका छन्। अर्थमन्त्रीले विचार गर्छु भन्नुभएको छ सायद होला यो,' उनले भने।

यसअघि आर्थिक वर्ष २०७७/७८ कै बजेटमा उक्त कोष हटाउनुपर्ने आवाज उठेको थियो। तर, तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घटाएर उक्त कार्यक्रमलाई निरन्तरता दिएका थिए। प्रतिनिधि सभा विघटनका बेला अर्थमन्त्री रहेका एमालेका नेता विष्णु पौडेलले २०७८/७९ को बजेटमा सांसद विकास कोष खारेज भएको घोषणा गरेका थिए। यसअघि नेपाली कांग्रेसकै नेता शेखर कोइरालले २०७७ जेठ २० मा कोष खारेज गर्नुपर्ने माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell