PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आफूमाथि आक्रमण हुन थालेपछि ओलीका ५ टिप्पणी, भन्छन् : टाट पल्टिन लाग्यो, देश बर्बाद हुँदैछ



प्रकाश भण्डारी

आफूमाथि आक्रमण हुन थालेपछि ओलीका ५ टिप्पणी, भन्छन् : टाट पल्टिन लाग्यो, देश बर्बाद हुँदैछ
फोटो : ओलीको सचिवालय

काठमाडौं : पछिल्लो समय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफूलाई कालोझण्डा देखाइएको घटनाप्रति अत्यन्तै गम्भीर देखिएका छन्। ओलीमात्र होइन, नेकपा एमाले समेत उक्त घटनाबाट कतिसम्म झस्कियो भने तत्कालै संसदलाई जानकारी गरायो। गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझायो। पूर्व राजा ज्ञानेन्द्र शाहको चर्को आलोचना गर्न ओलीले कुनै कसर बाँकी राखेनन्।

अघिल्लो साता र यसै साता पनि अधिंकाश कार्यक्रममा राजावादी र सत्तारुढ दलको ओलीले तीखो आलोचना गरिरहेका छन्- उनीमाथि भएको घटनामा संलग्न रहेको भनेर। उपनिर्वाचनको नतिजासँगै ओली आफ्नै पार्टी संगठनप्रति पनि रोष प्रकट गरिरहेका छन्।

'हामीले के काम गरेका छौं भनेर बुझाउन सकेनौं,' ओलीले मिसन ग्रासरुट अभियान सम्मान तथा प्रशिक्षण कार्यक्रममा यसै भने।

झापामा कालो झण्डा देखाएको घटनाको विरोधका लागि जोडतोडले लागेको ओलीले मंगलवार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले निरन्तरता पाए देश टाट पल्टिने ठोकुवा नै गरे। कोसी प्रदेशको नामाकरणबारे विरोध जनाइरहेकाले ओलीलाई कालो झण्डा देखाएका थिए। उक्त घटनालाई एमालेले अराजकतको संज्ञा दिइसकेको छ। उक्त घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मंगलवार पूर्व राजा शाहको आलोचना गरेका थिए।

फोटो : ओलीको सचिवालय


'डराएर कराएको कराई गरे'

ओली अरुको आलोचना गर्दा आफ्नो नेतृत्वको सरकारले गरेका कामको प्रशंसा गरिहाल्छन्। मंगलवार पनि ओलीले त्यसलाई निरन्तरता दिए। उनले गरेको कामबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र डराएको समेत ओलीको टिप्पणी छ।

'कांग्रेस-माओवादी एमालेले गरेको कामबाट डराएर, एमालेले केही पनि गरेन भनेर कराएको कराइ गरे। उनीहरुको भ्रष्टाचारको पर्दफास होला भनेर एमालेले भ्रष्टाचार गर्‍यो भने,' ओलीको भनाई थियो। उनले आफू नेतृत्वको सरकार रहेका बेलामा भएका राम्रा कामको चर्चा गर्न नचाहेको भन्दै आलोचना गरे। नाकाबन्दी खोलेको, राष्ट्रियताका पक्षमा लडेका जस्ता विषयलाई विज्ञहरुले बेवास्ता गरेको भन्दै ओलीले आलोचना गरे।

'एमालेको सरकारका बेलामा के खराबी भएको थियो? राष्ट्रियताका पक्षमा लडिएको थियो। नाका खोलिएको थियो। सुशासन आएको थियो। त्यो कुराको किन चर्चा गर्दैनन् विद्वान साथीहरुले?,' ओलीले प्रश्न गरे।

विज्ञहरुले हिंसा गलत थियो समेत भन्न नसकेको उनको भनाइ छ। 'केही भाडाका ढुंगा हान्ने भलादमी मान्छेले गुण्डागर्दी गर्नुभयो भन्नु पनि भएन,' उनले भने।

 

'अरुले २० वर्षमा गर्न नसक्ने काम हामीले ३ वर्षमा गर्‍यौं'

ओलीले आफ्नो नेतृत्वको सरकारको यति बचाउ गरे कि अरुले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेको दावेदारी पेश गरे। एमालेलाई समाप्त पार्न खोजे पनि अहिलेको प्रमुख पार्टी एमाले नै भएको उनको भनाइ छ।

'अरुले २० वर्षमा गर्न नसकेका काम हामीले ३ वर्षमा गर्‍यौं। अरुले सोच्न पनि नसक्ने काम एमालेले गर्‍यो। पहिलो पल्ट नाकाबन्दीबाट मार खाएको हो र? उत्तरतिर नाका खोल्न किन सकिएन पहिला?,' ओलीले प्रश्नमाथि प्रश्न गरे।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा दोस्रो र वैशाख १० मा सम्पन्न निर्वाचनमा एमाले तेस्रो भएको थियो। स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो हुन सकेन। तर, ओलीले आफ्नो पार्टी नै पहिलो र लोकप्रिय भएको दाबी गरिरहेका छन्। लोकप्रिय मतमा पनि प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नै पहिलो भएको निर्वाचन आयोगले बताएको थियो। तर, त्यसलाई काउन्टर दिएर ओलीले एमाले नै लोकप्रिय मतमा पहिलो भएको दाबीलाई निरन्तरता दिइरहेका छन्।

'प्रमुख पार्टी एमाले हो किनभने यो सर्वाधिक जनताले मन पराएको पार्टी हो,' ओलीको दाबी छ।

फोटो : ओलीको सचिवालय


'एमालेको कार्यकर्ता बेइमान हुँदैन, बेइमान भए एमाले हुँदैन'

ओलीले आफ्ना पार्टीका उम्मेदवारलाई हराएको गर्व नगर्न एमालेकै नेता/कार्यकर्तालाई चेतावनी दिएका छन्। उनले बेइमानी गरेर चुनावमा हराउने एमालेको नेता/कार्यकर्ता नहुने समेत बताए।

'जिताउन नसकेकोमा या हराउन भूमिका खेलेकोमा गर्व नगरे हुन्छ। आफैंप्रति लज्जाबोध हुन्छ। एमालेको कार्यकर्ता बेइमान हुदैंन। बेइमान भए एमाले हुँदैन,' ओलीले भने।

पुनर्ताजकीका लागि एकतावद्ध बनाएर गतिशील बनाउन ग्रासरुट अभियान चलाइएको ओलीको भनाइ थियो। एमालेको जस्तो थिति भएको अर्को पार्टी नभएको उनले बताए। अबको निर्वाचनमा एमालेले हरेक वडामा ५१ प्रतिशत भन्दा बढी मत ल्याउने ओलीको दाबी छ।

'आगामी निर्वाचनमा हरेक वडामा एमाले एक्लैले ५१ प्रतिशत भन्दा बढी ल्याउनुपर्छ। यो त्यान्द्रो समाउने कि त्यो त्यान्द्रो समाउने होइन,' ओलीले भने। एमालेसँग अरु पार्टीको तुलना नै नहुने पनि उनको टिप्पणी छ।

 

'प्रचण्ड सरकारले निरन्तता पाए देश टाट पल्टिन्छ'

ओलीले खराब अर्थतन्त्रमा सुधार ल्याउन नसके देश असफलतातिर जाने बताए। ढुंगा हान्नेलाई देशबारे मतलव नभएको भन्दै ओलीले देश बर्बादी तिर जाने टिप्पणी गरे।

'अठार महिनाभित्र यदि अर्थतन्त्र सहि बाटोमा फर्काउन सकिएन भने देश असफल राष्ट्रमा पुग्ने खतरा हुन्छ,' ओलीले चेतावनी दिए। प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता पाए देश टाट पल्टिने पनि ओलीको आरोप छ।

'यही सरकार रहिरहने हो भने देश टाट पल्टिने अनिवार्य छ। बजेट आएका बेलामा मैले संसदमा भने देश बर्बाद हुँदै छ,' ओलीले दाबी गरे।

ओलीले सरकारको निरन्तरतामाथि प्रश्न उठाइरहेका बेला प्रचण्ड नेतृत्वको सरकार अप्ठ्यारोमा छ। रास्वपालाई सरकारमा सहभागी गराउन नसके सरकार संकटमा पर्ने माओवादी केन्द्रकै नेताहरुले विश्लेषण गर्न थालेका छन्। पुस २६ र चैत ६ मा विश्वासको मत लिइसकेका प्रचण्डलाई एमालेले यसअघि महिनादिनमैं सरकारको नितरन्तामा समस्या पैदा हुने बताएको थियो। ओलीले सोमवार आयोजित कार्यक्रममा पनि प्रचण्ड सरकारको निरन्तरतामाथि प्रश्न उठाएका थिए।

'अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ। केहि पनि गर्न नसक्ने सरकार,' ओलीले भनेका थिए।

देशमा भयाभह स्थिति सिर्जना हुन लागेको ओलीले बताएका छन्। अब सरकारले नीति कार्यक्रमको नक्कली खोस्टो संसदमा ल्याउने ओलीले बताए।

'अहिले मुल्य वृद्धि बाहेक केही बढेको छैन। देश ध्वस्त हुने स्थितिमा छ। रुममा आगो लागेको छ यिनीहरु भागबण्डा गरिरहेको छन्,' उनले भने।

 

'एकछिन कसैले चुनाव जित्यो होला'

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निकालेको जितलाई एकछिन अलमल्याउने नतिजामात्रै भएको बताए।

'एकछिन कसैले चुनाव जित्छ होला। एकछिन मानिस अलमलमा पर्छहोला अब पर्न दिनु हुँदैन। त्यसका लागि हो ग्रासरुट अभियान हो,' उनले भने।

ओलीले एमालेमा भागबण्डा नचल्ने बताए। एमाले कसैको पैतृक सम्पत्ति नभएको भन्दै नेता/कार्यकर्तालाई भागबण्डामा नलग्न ओलीले सुझाए।

'यसलाई यति भाग उसलाई उति भाग भन्ने हुँदैन। यो पक्षलाई पनि चाहियो भन्ने पक्ष चल्दैन। यो पैतृक सम्पत्ति हो र? यसमा भाग लाग्ने कुरै हुँदैन। कामबाट जिम्मेवारी प्राप्त गर्ने हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell