PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री छिन दुई दिने भ्रमणको लागि पाकिस्तान जाँदै



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री छिन दुई दिने भ्रमणको लागि पाकिस्तान जाँदै
Photo : Pool via REUTERS

सांघाई : चिनियाँ विदेशमन्त्री छिन काङ पाकिस्तानको दुई दिने भ्रमणमा शुक्रवार इस्लामावाद जाने भएका छन्। अफगानिस्तान-चीन-पाकिस्तान विदेशमन्त्रीस्तरीय संवादका लागि विदेशमन्त्री छिन पाकिस्तान जान लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीवार विदेश मन्त्री छिनको भ्रमणको घोषणा गरेकी हुन्। अफगानिस्तानको तालिवान सरकारलाई आधिकारिक रुपमा मान्यता नदिएपनि चीनले अफगान सरकारसँग संवादलाई कायम राखेको छ।

गत महिना मात्र चीनले अफगानिस्तान मामिलामा श्वेतपत्र जारी गरेको थियो। त्यस्तै, गत महिना नै उज्वेकिस्तानमा अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीको बैठक बसेको थियो।


अफगानिस्तानका छिमेकी देशहरुका उच्च अधिकारी समरकन्ड भेला हुँदै, श्वेतपत्र जारी गर्दै बेइजिङले भन्यो- ‘अमेरिकी प्रतिबन्ध फिर्ता हुनुपर्छ’


चीनले अन्तर्राष्ट्रिय समुदायलाई तालिवान सरकारसँग संवाद अगाडि बढाउन आग्रह गर्दै आएको छ। त्यस्तै, अफगान जनतालाई मानवीय सहायता प्रदान गर्न अनुरोध गर्दै आएको छ।

गत महिना जारी गरेको श्वेतपत्रमा अफगान संकट अमेरिकाको कारण सिर्जना भएको चीनले आरोप लगाएको छ। उसले अमेरिकाले रोक्का गरेको अफगान राष्ट्रिय सम्पति फुक्का गर्न समेत माग गर्दै आएको छ।

विदेश मन्त्रालयकी प्रवक्ता माओले चीन-अफगानिस्तान-पाकिस्तान संवादले आपसी समझदारीको साझा विश्वास सिर्जना गर्ने र यस क्षेत्रको शान्ति विकास र स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।

यता, पाकिस्तान भ्रमणका क्रममा विदेशमन्त्री छिन र पाकिस्तानी समकक्षी विलावल भुट्टो जर्दारीले चौथो चीन-पाकिस्तान विदेशमन्त्री स्तरीय रणनीतिक संवादको संयुक्त अध्यक्षता गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell