PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एसोसिएट्समा ‘डोमिनेन्ट’ नेपालको अबका प्रतिद्वन्द्वी ‘टेस्ट’ राष्ट्र, क्रिकेट कूटनीतिमा पनि छामिनेछ नेपालको नाडी



मुकुन्द घिमिरे

एसोसिएट्समा ‘डोमिनेन्ट’ नेपालको अबका प्रतिद्वन्द्वी ‘टेस्ट’ राष्ट्र, क्रिकेट कूटनीतिमा पनि छामिनेछ नेपालको नाडी

काठमाडौं : तीन महिनाअघिसम्म नेपाली क्रिकेट संक्रमण कालमै गुज्रियो। विश्वकप त टाढाको कुरा एक दिवसीय मान्यता जोगाउने लक्ष्य पनि दुरकै थियो।

नेपालको कप्तानी रोहित पौडेलले सम्हाल्दै गर्दा टोली आफैँमा लथालिङ्ग थियो। अघिल्लो वर्ष खेलाडीको अधिकारको विषयलाई लिएर जतिखेर ज्ञानेन्द्र मल्लले 'जेहाद' छेडे, त्रिकोणात्मक द्वन्द्वले नेपालको क्रिकेट नराम्ररी गिजोलियो।

क्यान आफैँमा राजनीतिक अड्डा थियो,  खेलाडीको मागसँगै प्रशिक्षकहरु बारम्बार फेरिन थाले। खेलाडी छनोटको विषय आफैँमा विवादभन्दा बाहिर रहेन।

त्यसमाथि कप्तानको जिम्मेवारी सम्हालिरहेका सन्दीप लामिछाने बलात्कारजस्तो जघन्य अपराधको आरोपमा थुनामा पुगे। यी सबै घटनाक्रम चलिरहँदा प्रशिक्षक मनोज प्रभाकरसँग नेपाली खेलाडीको 'रिदम' फिटिक्कै मिलिरहेको थिएन।

'टीम स्पिरिट' गायब जस्तै भइसकेको थियो। यतिसम्म कि क्रिकेट विश्वकप लिग २ मा पपुवा न्युगिनीभन्दा माथिमात्र थियो नेपाल। अगाडिका पाँच टोलीको अंक अन्तर ज्यादै फराकिलो भइसकेको थियो।

त्यसलाई 'रिकभर' गरेर एक स्थान माथि उक्लिन पनि लगातार ७ वटा खेल जित्नुपर्थ्यो नेपालले। नेपालको खातामा खेल चाहिँ सीमितमात्रै थिए।

यतिसम्म दयनीय अवस्था आइपरेको थियो कि एक दिवसीय मान्यता जोगाउन जादुकै छडी चाहिने आँकलन हुन थालेको थियो। नेपाली टोलीको लय र लिग २ को अंक तालिकाले नेपाली क्रिकेट अब ब्युँतिदैन भन्नेहरु हाबी हुन थालेका थिए।

नेपाली टी २० मा भएको फिक्सिङ प्रकरणले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) नेतृत्वले इतिहासकै सर्वाधिक बदनामी बेहोर्‍यो। गिजोलिएका प्रकरणकै बिच तत्कालीन प्रशिक्षक प्रभाकर राजीनामा दिएर घर फर्किए। उनी आफैँमा चरम विवादित प्रशिक्षक थिए।

नेपाली टोलीमा मोन्टी देसाई मुख्य प्रशिक्षक बनेर आउँदाको पृष्ठभूमि यति खराब थियो कि क्यानले - एक दिवसीय मान्यता जोगाइदिन सकेमा उनको तलब बढाउने प्रतिबद्धता जनायो। क्यानले नेपाली क्रिकेट टिम कति कमजोर छ भनेर आँकलन गरेको तलब बढाउने प्रस्तावले नै खुलाउँछ।

त्यसमाथि विश्वकप छनोट पुग्न १२ मध्ये ११ खेल जित्नै परिस्थिति जुन कल्पनाभन्दा धेरै टाढाको विषय थियो। तर, देसाइको प्रशिक्षणमा नेपाली टिमले यस्तो लय पक्रियो कि जादुको छडी चले झै भयो।

यद्यपि, कुनै जादुले काम गरेको थिएन, थियो त टिमको मेहनत, प्रशिक्षकको लगनको प्रतिफल। नेपालले एक दिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा स्थान समेत बनाउँदै इतिहास रच्यो।

लगत्तै, एसियाली क्रिकेट परिषद् (एसीसी)ले नेपाललाई अर्को जिम्मेवारी दियो - एसियन प्रिमियर कप 'होस्ट' गर्ने। प्रतियोगिताको उद्देश्य सोझो थियो - शीर्ष स्थानमा रहे एसिया कप, शीर्ष तीन टोलीलाई इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने अवसर।

नेपालले अपराजित रहेर च्याम्पियन बन्दै गर्दा दुबै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो। सबै अन्तर्राष्ट्रिय खेलमा गरि पछिल्ला १३ खेलमा नेपाल अपराजित छ। जसमा ८ एक दिवसीय मान्यता प्राप्त खेल पनि रहे। यसले नेपालको वर्ल्ड र्‍याङ्किङ १९ बाट १४ मा ल्यायो। अर्थात् पछिल्ला १८ मध्ये १७ खेलमा नेपाल अपराजित रहन सक्यो।

यसै क्रममा नेपालले एसोसिएट राष्ट्रका शक्तिशाली टिम स्कटल्याण्ड, नामिबिया र यूएईलाई पटक-पटक हरायो।

अबका खेल

एसोसिएट स्तरमा लगातारको उच्च प्रदर्शनले नेपाललाई टेस्ट मान्यता प्राप्त राष्ट्रहरुसँग खेलका लागि बाटो खोलेको छ। नेपालसामु मुख्य दुई प्रतियोगिता हुन् - विश्वकप छनोट र एसिया कप।

विश्वकप छनोटमा क्रिकेटमा दबदबा बनाउँदै आएका श्रीलंका, वेस्ट इण्डिज, जिम्बावे, आयरल्याण्डजस्ता बलिया राष्ट्र छन्। प्रतियोगितामा एसोसिएटका शक्ति राष्ट्र स्कटल्याण्ड, ओमन, यूएई र अमेरिका रहनेछन्। अर्थात्, नेपालले विश्वकप विजेता टोलीहरुसँग छनोटमा खेल्ने छ। यस प्रतियोगिता अर्को महिना जिम्बावेमा हुनेछ।

त्यसपछि नेपालले पाउने अवसर हो एसिया कपको। प्रिमियर कपको च्याम्पियन बनेसँगै नेपालले एसियामा दबदबा बनाएका क्रिकेट शक्तिराष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ।

यस प्रतियोगितालाई एसीसीले सेप्टेम्बरका लागि 'सेड्युल्ड' गरेको छ। यद्यपि, भारत र पाकिस्तानबिचको कटुतापूर्ण सम्बन्धले ‘साँढेको जुधाई, बाच्छाको मिचाइ’मा पर्नसक्ने सम्भावना पनि उत्तिकै छ।

पढ्नुस : नेपालको एसीसी प्रिमियर कप उपाधिमाथि मडारिएको भारत - पाकिस्तानको लफडा, एसिया कप नहुने त होइन?

बढ्दो चुनौति र अवसर

एसिया कपमा पुगेसँगै नेपालको चुनौती पनि बढेर गएको छ। अबका प्रतिस्पर्धी क्रिकेट वृत्तमा प्रभाव जमाइ रहेका राष्ट्रहरु हुनेछन्।

‘हामी सानैदेखि भारत पाकिस्तानको म्याच हेरिरहेका छौँ। ती देशसँग खेल्न पाउनु भनेको हाम्रो लागि ठूलो अवसर हो’, कप्तान रोहित पौडेलले एसिया कपमा पुगेपछि दिएको प्रतिक्रिया थियो, ‘एसिया कपको महत्व एकदमै छ। अब सबैले नेपाली क्रिकेटलाई चिन्छ। धेरै समय थियो, ठूलो स्टेजमा नपुगेको। अब आउने वर्ष अझ राम्रो हुन्छ।’

हुन पनि राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिकामा रहेका खेलाडीहरु रोहित पौडेल र सन्दीप लामिछानेले यसअघि नेपालले विश्वकप खेल्दा ‘इन्स्पायर’ भएर क्रिकेट खेल्न सुरु गरेका हुन्।

‘सन् २०१४ को विश्वकपले हामी सबै इन्स्पायर भएका थियौँ। पारस दाइ, ज्ञानु दाइलाई टीभीमा हेरेर इन्स्पायर भएका सबै’, कप्तान पौडेलले सुनाए, ‘एसिया कपले पनि धेरैलाई इन्स्पायर गर्छ भन्ने लाग्छ। राम्रो क्रिकेट खेल्यौं भने सबैले रिकग्नाइज गर्छन्।’

त्यस्तै, धारणा छ प्रिमियर कपका प्लेयर अफ दी सिरिजसमेत रहेका सन्दीप लामिछानेको।

‘सन् २०१४ मा नेपालले विश्वकप खेल्दा म आफैँ पनि प्रभावित भएर क्रिकेट खेल्न थालेको हुँ। यो एउटा बिग मोमेन्ट हुनेछ’, लामिछानेले भने, ‘हामी सकेसम्म राम्रो दिन चाहन्छौं। आउने जेनेरेसनले यस्तो खेलेर एसिया कप पुगेको भन्ने हेर्नेछन्।’

एसिया कपको रणनीतिक महत्व र क्रिकेट कूटनीति

नेपालीहरुले कुनै पनि खेल या प्रतिस्पर्धामा भारतलाई हराएको हेर्न चाहन्छन्। नेपालीको यस्तो दृष्टिकोण 'ओपन सेक्रेट' नै हो। नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आफ्नो पुस्तकमा यसबारे प्रष्टै लेखेका छन्।

‘काठमाडौं डिलेमा : रिसेट्लिङ इण्डिया नेपाल टाइज्’मा नेपाली खेलप्रेमीको सेन्टिमेन्टबारे उल्लेख गरेका छन् उनले। नेपालले हरेक विषयमा भारतलाई प्रतिस्पर्धी ठान्ने गरेको उनको टिप्पणी छ।

भारतले खेल्ने हरेक खेलमा भारतको विपक्षी टोलीलाई नेपालीले समर्थन गर्ने गरेको उनले पुस्तकमै उल्लेख गरेका छन्। भारत र अफगानिस्तानको खेल काठमाडौंमा चलिरहँदा कसरी नेपाली दर्शक अफगानिस्तानको पक्षमा उत्रिए भन्ने उनले उदाहरणसहित पेश गरेका छन्। जबकि नेपाल र भारतसँग जस्तो सम्बन्ध छ अफगानिस्तान र नेपालको सम्बन्ध त्यसको एक छेउमा पनि छैन।

रोचक के छ भने अहिले नेपालले जसरी जित निकालिरहेको छ त्यसको जस मोन्टी देसाईले पाइरहेका छन्। एकजना भारतीय प्रशिक्षकप्रति नेपाली क्रिकेटका फ्यानहरु नतमस्तक देखिन्छन्।

त्यसैले कतिपयले यसलाई क्रिकेटको सन्दर्भ फेरिएको मान्छन्। भारतीय प्रशिक्षककै प्रशिक्षणमा नेपाली टोलीले पछिल्ला सफलता हात पारिरहेको छ। त्यसमाथि भारत क्रिकेटको शक्ति राष्ट्र समेत रहँदा 'क्रिकेट डिप्लोमेसी'ले भारत र पाकिस्तानबिच मात्र होइन भारत र नेपालबिचको सम्बन्धमा पनि भूमिका खेल्ने प्रष्ट छ। एसिया कप हुने नहुने भन्ने अन्यौलताका बिच क्यानले यसको पहल गर्न सक्नेछ। हाल पाकिस्तानमा हुने तय भएको एसिया कप 'न्यूट्रल भेन्यू'मा गराउन बंगलादेश र श्रीलंकाको क्रिकेट बोर्डले पहल गरिरहेको छ। अब यो प्रतियोगिता गराउने लबिङ गर्ने स्थानमा क्यानको पनि 'इन्ट्री' भएको छ। र, अबसर छ भारत र पाकिस्तानसँग खेल्ने।

क्रिकेटका शक्ति राष्ट्रसँग प्रतिष्पर्धा गर्न तयार भइरहँदा नेपालमा क्रिकेटको पूर्वाधान न्यून रहेको छ। सरकारले पूर्वाधार विकासको नारा दिए पनि ती सरकारी पानामा मात्रै सीमित भएका छन्। आउने दिनमा क्रिकेट कूटनीतिलाई थप बलियो बनाउने हो भने नेपालले पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्नेछ।

भारतसँग हुने कुनै पनि क्रिकेट प्रतियोगिता नेपालका लागि ठूलो अवसर बन्ने स्पष्ट छ। यद्यपि, भारत र पाकिस्तानकै राजनीतिले एसिया कप आयोजना प्रभावित भएको खण्डमा भने जनस्तरमा भन्दा पनि भारतीय संस्थापन पक्षप्रति नकारात्मक 'सेन्टिमेन्ट' बन्ने सम्भावना उत्तिकै छ।

सायद, यिनै विषयलाई ध्यान दिएर हुनसक्छ प्रशिक्षक देसाई पनि अंग्रेजी भन्दा हिन्दी भाषालाई ‘प्रिफर’ गर्छन् नेपालमा। भाषा आफैँमा कल्चरल प्रडक्ट हो।

हिन्दी नेपालमा नबुझ्ने जनसंख्या ज्यादै न्यून छ। पटक-पटक आफू नेपाली बोल्न सिकिरहेको बताउने देसाई प्रेससँग हिन्दीमै संवाद गर्न चाहन्छन्।

नेपालको मुख्य प्रशिक्षक बन्नु भन्दा अघि नेपालकै उमेर समूहमा ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरेका देसाईले हालका कप्तान रोहित पौडेललगायतका अधिकांश खेलाडीको क्षमता नजिकबाट मात्र बुझेका थिएनन्, नेपाली क्रिकेट समर्थकको अपेक्षा, मनोविज्ञानको पनि राम्रो आँकलन गरेका थिए।

नेपालले एसियाकपको मञ्चमा आफूलाई पुर्‍याउँदा खासगरी भारत, पाकिस्तान र विश्वभरकै सञ्चारमाध्यमहरुको ध्यान तान्न सफल भएको छ। यसको दीर्घकालीन फाइदा हुने कप्तान पौडेलको ठम्याइछ।

भारतीय सञ्चारमाध्यम इण्डिया टूडेले नेपालले एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान बनाएको समाचार लेखेको छ। त्यस्तै, द इकोनमिक टाइम्सले एएनआईको 'इनपुट' लिँदै नेपाल एसिया कपमा पुगेको समाचार लेखेको छ। अर्को अखबर द हिन्दुको स्पोर्ट्स स्टारले नेपालले एसियाकपमा स्थान बनाए पनि एसिया कप भने अझै अन्यौलमा रहेको भन्ने आशयमा समाचार प्रकाशन गरेको छ। त्यस्तै, जी न्युजले नेपाल एसिया कपमा पुगेको भन्दै हेबिवेट प्रतिस्पर्धी रहेको समूहमा परेको उल्लेख गरेको छ। आईसीसीले पनि प्राथमिकता साथ कन्टेन्ट राखेको छ।

टेस्ट राष्ट्रसँग खेल्दा नेपालको अपेक्षा के?

नेपाली टोलीको सफलतामा महत्वपूर्ण भूमिका छ प्रशिक्षक मोन्टी देसाईको।

‘नेपाल, भारत र पाकिस्तान केही नयाँ सुनिन्छ। यो एकदमै नयाँ स्थानमा गएजस्तो’, देसाईले भने, ‘यो तीन महिनामा खेलाडीले दबाबमा खेल्न सिकेका छन्। एक्स्पेक्टेसनको दबाब छ। खेलाडीको मात्र होइन, देशकै एक्स्पेक्टेसनको।’

देसाई नेपाली खेलाडी आफ्नै कथा बनाउन प्रतिवद्ध पाएको बताउँछन्। नेपालले टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउँदा कुनकुन पक्ष सुध्रिएला भन्ने चाहिँ आगामी दिनले नै देखाउला। तर, देसाई टेस्ट राष्ट्रसँग राम्रो प्रदर्शन गर्नसके बलिया राष्ट्रहरुसँग सिरिजका अवसर मिल्नसक्ने तथ्यलाई नकार्दैनन्।

‘मलाई थाह छैन, तर हामीले सायद टेस्ट राष्ट्रसँग ओडीआई सिरिजको अवसर पनि पाउन सक्छौं’, देसाईले भनेका छन्, ‘हामीले एसोसिएट राष्ट्रसँग राम्रो खेलेका छौँ। अब हामीले कत्तिको स्किल देखाउन सक्छौँ, त्यसमै हाम्रो भविष्य निर्धारण हुन्छ।’

सहजै अनुमान लगाउन सकिन्छन्, दशकौँदेखि उच्च स्तरमा खेलिरहेका भारत पाकिस्तानसँग खेल्नु नेपालका लागि सहज होइन।

‘म भारत र पाकिस्तान जस्ता टोलीसँग खेलिरहेको परिकल्पना गरिरहेको छु’, नेपाल प्रिमियर कपको च्याम्पियन बनेपछि देसाईले भनेका छन्, ‘उनीहरुसँग अहिले भएको स्किलकै उत्कृष्ट फर्ममा प्रस्तुत गर्न सक्यौं भने, स्ट्रेन्थ मात्र देखाउन सक्यौँ भने पनि टेस्ट राष्ट्रबाट हामीले एउटा रेस्पेक्ट पाउने छौँ।’

त्यसो भयो भने नेपालले द्वीपक्षीय सिरिजको अवसर पाउनसक्ने देसाईको विश्वास छ। तर त्यसका लागि नेपालले अझ मजबुत तयारी गर्नुपर्ने उनको ठम्याइ छ।

प्रशिक्षकका रुपमा नेपाल आएर लिग २ का खेलअघि धेरै तयारी गराउन नै नपाउँदै मोन्टीले ‘ह्याप्पी ड्रेसिङ रुम’को रणनीति अख्तियार गरेका थिए। एसिया कपजस्तो स्तरमा खेल्न 'डेभलपमेन्ट क्याम्प'को आवश्यकता रहन्छ जुन मोन्टीले सुरु गर्न पाएका छैनन्।

‘डेभलपमेन्ट क्याम्पका लागि त जिम्बावे जानु अघि पनि पर्याप्त समय हुनेछैन। म्यानेजर (विनोद दास)सँग मैले कुरा गरिरहेका छु। हामी दुवैलाई अगाडिका चुनौतीबारे थाहा छ’, देसाईले स्वीकारेका छन्, ‘हामीलाई डेभलपमेन्ट क्याम्प चाहिएको छ। हामीलाई नेपाल ए टिम चाहिएको छ। जसले एक्सपोजर बनाएर बेन्च स्ट्रेन्थ बढावस्।’

उनी पुरुष क्रिकेटमात्र सुधारेर नहुनेमा विश्वस्त छन्। महिला र यू १९ क्रिकेटमा पनि संयुक्त योजना बनाएर काम गर्नुपर्ने उनको बुझाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell