PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'जोगिने दौडधुपमा रहेका' कांग्रेस नेता बालकृष्ण खाँण पनि तानिँदै, पक्राउ परेका सचिव पाण्डेले वयानमा लिए नाम



सविन ढकाल

'जोगिने दौडधुपमा रहेका' कांग्रेस नेता बालकृष्ण खाँण पनि तानिँदै, पक्राउ परेका सचिव पाण्डेले वयानमा लिए नाम

काठमाडौं : 'उहाँ यो अनुसन्धान रोक्ने दौडधुपमा पहिलेदेखि नै हो,' नेपाल प्रहरीका एक उच्च अधिकृतले केही दिनअघि नै भनेका थिए, 'तर, प्रमाण भेटिएको छैन।'

ती प्रहरीले ‘उहाँ’ सम्बोधन गरेका व्यक्ति हुन् नेपाली कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण। गृह प्रशासनले थालेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा खाण पनि मुछिने भएका छन्। गत बुधवार प्रहरीले पक्राउ गरेका सरकारका सचिव टेकनारायण पाण्डेको बयानका आधारमा पूर्व गृहमन्त्री खाणको नाम पनि अगाडि आएको हो।

गृहमन्त्री भएपछि पाण्डेलाई खाणले गृह मन्त्रालयको सचिव बनाएका थिए। गृहमा गएपछि पाण्डेले ठगी गिरोहसँग मिलेर काम गरेको खुलेको छ। चार दिनदेखि प्रहरीको हिरासतमा रहेका पाण्डेले प्रहरीसँगको बयानको क्रममा पूर्व गृहमन्त्रीको नाम लिएका हुन्। बयान दिएको आधारमा प्रहरीले जोसुकैसँग पनि सोधपुछ गर्न सक्छ। त्यसलाई थप प्रमाण भेटिएको आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ समेत गर्न सक्छ। खाणको केसमा पनि प्रहरीले थप प्रमाण जुटाउँदैछ।

'नाम आएपछि अनुसन्धान नहुने भन्ने होइन। थप प्रमाण भेटिनासाथ हामी अगाडि बढ्छौं,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

कांग्रेस नेता खाण २०७८ असार २९ गतेदेखि २०७९ पुस ११ गतेसम्म गृह मन्त्री भएका थिए। त्यतिखेर नै उनले सचिवको रुपमा पाण्डेलाई गृह मन्त्रालयमा ल्याएका थिए। खाण गृह मन्त्री भएको एक महिनामै पाण्डेको सरुवा गृहमा भएको थियो। गृह मन्त्रीबाट बाहिरिनुभन्दा दुई महिना अगाडि उनको सरुवा भएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिको संलग्नता खुल्दै आएको छ। खाणको नाम आएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले भ्रष्टाचार प्रकरणमा मुछिएकाहरु कसैलाई छाड्न नहुने बताएका छन्। कुनै पनि व्यक्तिमाथि छानविन भएमा त्यसलाई सघाउने काम राजनीतिक दलको भएको समेत महामन्त्री शर्माले बताए।

'हामीले छानविनका क्रममा राज्यलाई सघाउनुपर्छ। विश्वप्रकाश शर्मा दोषी हो भने सजाय पाउनुपर्छ। निर्दोष हो भने सफाय पाउनुपर्छ,' कांग्रेस पदाधिकारी बैठकपछि शर्माले पत्रकारसँग भने।

२०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गर्‍यो। सार्वजनिक हुनेमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ रहेका थिए।
सानु भण्डारी तीनै व्यक्ति थिए, जसलाई झन्डै एक वर्ष अगाडि सोही कार्यालयको टोलीले पक्राउ गरेको थियो। जतिखेर गृहमन्त्री थिए बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे। गृहकै दबाबमा उनी केही समयमा नै छुटे। त्यतिखेर कार्यालयको जिम्मेवारी चाहिँ अहिलेका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्हालेका थिए।त्यस्तै, एमाले सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी समेत यस प्रकरणमा संलग्न भएको खुलेको छ। उनको विरुद्दमा पक्राउ पुर्जी आइसकेकाले प्रहरी खोजी गरिरहेको छ। बुधवार रातिदेखि रायमाझी सम्पर्कबिहीन भएका छन्। उनका छोरा सन्दीपलाई भने बुधवार साँझ नै बुटवलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्जित राईलाई पनि मंगलवार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ प्रहरीले। घटनामा अन्य हाइप्रोफाइल व्यक्तिको पनि संलगन्ता खुल्दै आएको छ। गृह मन्त्री नारायणकाजी श्रेष्ठले जो सुकैको नाम आए पनि अनुसन्धान नरोकिने सार्वजनिक रुपमा बताउँदै आएका छन्।

पहिलोचोटि फुत्किए पनि दोस्रो पटक समातिएका सानुबाट तानिएको लहरोले ल्याउला कतिसम्म पहरो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell