काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका फाइल खोल्ने संकल्प अन्तर्गत नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणको सुरुवात भएको बताएका छन्। नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले प्रकरण सुरुवात ट्रेलरमात्रै भएको बताए। 'यो ट्रेलर मात्रै हो हेर्दै जानुस् सिंगै फिल्म देखिन्छ,' प्रचण्डले भने।
भ्रष्टचार प्रकरणको छानबिन थालेकाले आफूलाई घेराबन्दीको प्रयास हुन सक्ने प्रचण्डले बताए। दबाव आए पनि आफू पछि नहट्ने प्रतिवद्धता प्रचण्डले जनाए।
'पक्कै पनि ठुल ठुला घेराबन्दी होलान्। दबावहरु आउलान्। धम्कीहरु होलान्। धेरैचिज हुन सक्छन् यो बिचमा। जतिसुकै ठुला धम्की र घेराबन्दीको सामना गरिने छ,' उनले भने।
उक्त कार्यक्रममा सहभागी हुनुअघि प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेका थिए। ओलीले सांसद तथा एमालेका सचिव टोबहादुर रायमाझीबारे चासो राखेको प्रचण्डले बताएका थिए। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि फरार रहेका छन्।