PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

शरणार्थी प्रकरणमा कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशन, 'दोषी जोगाउन कोही लाग्ने हैन'



नेत्र तामाङ

शरणार्थी प्रकरणमा कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशन, 'दोषी जोगाउन कोही लाग्ने हैन'

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका जोकोहीलाई जोगाउने खेलमा नलाग्न पदाधिकारीलाई निर्देशन दिएका छन्। पार्टीको विविध विषयमा छलफल गर्न देउवाले आफ्नो निवास धुम्बाराहीमा बिहीबार र शुक्रबार पदाधिकारी बैठक राखेका थिए।

बैठकको मुल विषय नक्कली शरणार्थी नभए पनि यस विषयमा चर्चा चल्नसाथ देउवाले पदाधिकारीलाई निर्देशन दिएका थिए - नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाउन कोही लाग्ने हैन।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा ठगी गरेको अभियोगमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि मुछिएका छन्। यद्यपि खाण भने यो अनुसन्धान नै रोक्ने दौडधुपमा लागेको देखिएको छ।

'उहाँ यो अनुसन्धान रोक्ने दौडधुपमा पहिलेदेखि नै हो,' नेपाल प्रहरीका एक उच्च अधिकृतले केही दिनअघि नै भनेका थिए। ती प्रहरीले ‘उहाँ’ सम्बोधन गरेका व्यक्ति हुन् खाण। गृह प्रशासनले थालेको नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा खाणको संलग्नता पुष्टि हुँदै गएको बताइन्छ। गत बुधवार प्रहरीले पक्राउ गरेका सरकारका सचिव टेकनारायण पाण्डेको बयानका आधारमा खाणको नाम पनि अगाडि आएको हो।

यो प्रकरणमा उनको नाम आएपछि यसबारे नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई शुक्रबार पदाधिकारी बैठकपछि पत्रकारले सोधेका थिए - अनुसन्धानको सुई कांग्रेसतिर फर्किए के हुन्छ?

विधिको शासनमा कांग्रेस र एमाले भन्ने नै नहुने शर्माको जवाफ थियो। 'विधिको विषयमा कांग्रेस र एमाले हुन्न। कानुनले केही गर्दा राजनीतिक दल चुप बस्नुपर्छ। मेरो दल मेरो नेता भन्न पाइँदैन। निर्दोष जुनसुकै दलको होस फस्न भएन,' महामन्त्री शर्माले भने, 'अनुसन्धान हुने कुरामा सघाउने राजनीतिक दलको जिम्मेवारी हो। हामीले नै ल्याएको कानुन हामीलाई चाहि नलाग्ने भन्ने हो र? कसैमाथि छानविन गर्दा तथ्यमा छानबिन हुनुपर्छ। को पर्नुहुन्छ को पर्नुहुन्न भन्ने कुरा हामीले भन्ने होइन। कानुनले हो। इन्भेस्टिगेसनले हो।'

यो प्रकरणमा खाणको नामसमेत मुछिएकोबारे प्रश्न सोध्दा महामन्त्री शर्माको जवाफ थियो - अनुसन्धानको क्रममा जाँदै कसको नाम आयो भन्ने कुरा आएन। कुनै नाम उछालेर हुँदैन।

कांग्रेस नेता खाण २०७८ असार २९ गतेदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री भएका थिए। त्यतिखेर नै उनले सचिवको रुपमा पाण्डेलाई गृह मन्त्रालयमा ल्याएका थिए। खाण गृहमन्त्री भएको एक महिनामै पाण्डेको सरुवा गृहमा भएको थियो। गृहबाट बाहिरिनुभन्दा दुई महिना अगाडि उनको सरुवा भएको थियो।

अर्ब ठगेर गैर भुटानीलाई शरणार्थी बनाउने प्रकरणमा आफ्नो नाम मुछिएपछि खाणले शनिबार विज्ञप्ति जारी गर्दै आफू चोखो रहेको दाबी गरेका छन्। खाणले आफूविरुद्ध आएका समाचार प्रचार नगरिदिन सञ्चारमाध्यमलाई आग्रहसमेत गरे। ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ,' खाणले विज्ञप्तिमार्फत भनेका छन्, 'आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रशित नगरी दिनुहुन अनुरोध छ।’

यो प्रकरणमा खाणको नाम आएको विषयमा बिहीबारकै पदाधिकारी बैठकमा चर्चा भएको कांग्रेसका एक पदाधिकारीले बताए। 'यस विषयमा पहिलो दिन नै चर्चा भएको हो,' ती पदाधिकारले भने, 'दोषी जोगाउने खेलमा कोही नलाग्ने सभापतिले भन्नुभयो।'

खाण देउवानिकट नेता हुन्। देउवाले नै खाणलाई पार्टीको प्रमुख सचेतक र गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। मन्त्री बनेपछि खाणले सिंहदरबारमा बसेर छुट्टै सरकार चलाएको आरोपसमेत कांग्रेसमा लाग्ने गरेको थियो। त्यतिबेलाबाटै खाणसँग देउवा रुष्ट हुन थालेको कांग्रेस नेताहरु बताउँछन्।

१४औं महाधिवेशनमा खाण महामन्त्रीका दाबेदार थिए। देउवा रुष्ट भएकै कारण खाणले त्यतिबेला महामन्त्रीको टिकट नपाएको कांग्रेसकै नेताहरु दाबी गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell