PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

कांग्रेस नेता बालकृष्ण खाण पक्राउ



पहिलोपोस्ट

कांग्रेस नेता बालकृष्ण खाण पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। उनलाई प्रहरीले निवासबाट नै गिरफ्तार गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो।

गृहमन्त्री रहिसकेका खाणले गृह सचिव बनाएका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्। त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईलगायत ११ जना प्रहरी हिरासतमा छन्।

गृह मन्त्री भएपछि पाण्डेलाई खाणले गृह मन्त्रालयको सचिव बनाएका थिए। गृहमा गएपछि पाण्डेले ठगी गिरोहसँग मिलेर काम गरेको खुलेको छ।


सम्बन्धित समाचार : 'जोगिने दौडधुपमा रहेका' कांग्रेस नेता बालकृष्ण खाण पनि तानिँदै, पक्राउ परेका सचिव पाण्डेले वयानमा लिए नाम


यस प्रकरणमा केही प्रमाणसहित सतहमा देखिएका आरोपी नेकपा (एमाले)का सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि हुन्। उनी गत बुधवारदेखि सम्पर्कविहीन छन्। नेपाल प्रहरीको विभिन्न युनिटले उनलाई खोजिरहेको छ।

बुधवार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी गायव भएका हुन्। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।

नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइल व्यक्तिको नाम आएसँगै यो विषय जटिल बनेको हो। सामाजिक सञ्जालबाट सार्वजनिक भएका अडियोहरुका अनुसार सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवा र पूर्व गृह मन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणको पनि यस प्रकरणमा नाम जोडिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell