काठमाडौं : पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता पक्राउपछि नेपाली कांग्रेसका नेताहरु खुल्न थालेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा खाण बुधवार बिहान पक्राउ परेका हुन्। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले अहिलेसम्म यो प्रकरणमा १२ जनालाई नियन्त्रणमा लिइसक्दा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्। प्रहरीले अनुसन्धानका लागि आफ्नै पार्टीका 'हेभीवेट' नेताहरु पक्राउ गर्न थालेपछि कांग्रेसका नेताहरुले मुख खोल्न थालेका हु्न्।
कांग्रेस नेता डा शेखर कोइरालाले नक्कली शरणार्थीको विषय देशकै लागि लज्जासपद भएको उल्लेख गरे। बुधवार विराटनगर पुगेका कोइरालाले पत्रकारहरुसँगको कुराकानीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउनुको विकल्प नभएको बताए।
'यो विषय देशको लागि पनि लज्जास्पद कुरा हो। प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ। त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन। किनभने यो राजनीतिक वृत्तमा आइसक्यो, यो अन्तराष्ट्रिय स्तरमा पनि गइसकेको छ,’ उनले भने, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरु पनि सशंकित हुन्छन् नि यो के भइरहेको छ नेपालमा भनेर।’
कांग्रेस महामन्त्री गगन थापाले पनि यस मुद्दामा संलग्न जो कोही भए पनि कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभामा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ट्रेलरमात्रै आएको भन्दै दिएको अभिव्यक्ति र नेकपा एमालेका सांसदहरुले फिल्म देखाउन गरेको माग बारे पनि कुरा राखे। उनले यो अपराधमा संलग्न सबैमाथि अनुसन्धान गरेर फिल्म चलाए हाउसफूल हुने बताएका हुन्।
'संलग्न जो सुकैलाई कारवाही होस। दोषी नेता भए पनि नाताको भए पनि, जो भए पनि सबैलाई अनुसन्धान होस। त्यसपछि फिल्म चल्छ। हाउसफुल हुन्छ,' थापाले भने।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले यो प्रकरणमा कांग्रेसले पूर्ण साथ दिनुपर्ने बताएका छन्।
'नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ,' बुधवार सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'कोही कसैले वा कहीं कतैबाट प्रभावित गर्ने काम हुनुहुँदैन। प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्।'
अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भ्रष्टलाई जेल पुर्याउन एक भएर दबाब दिन आग्रह गरेका छन्।
'हाम्रो पुस्ताले नेपाली कांग्रेसमा रुपान्तरणको कुरा त्यसै उठाएको छैन, पार्टी र सत्ता कब्जा गर्ने भ्रष्टहरूको बर्हिगमन नभइ पार्टी र देशको भलो हुन्न, यो प्रवृति पुराना दलमा बढी नै छ, नयाँ दलमा पनि यो रोग केहि देखिन थालेको छ,' शिवाकोटीले भनेका छन्, 'त्यसैले पनि भ्रष्टहरुलाई उनीहरुको वास्तविक बासस्थान जेल पुर्याउन एकजुट भएर दबाब दिउँ, सरकारको असल प्रयासको सह्राना गरौं।'
यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलवार यस प्रकरणमा राज्यले 'फायर' खोल्नुपर्ने बताएका थिए। मंगलबार संसदको विशेष समयमा सम्बोधन गर्दै शर्माले यो प्रकरणमा राज्यले फाइलमात्र खोलेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुर्याउन फायर खोल्नुपर्ने बताएका थिए।
'भुटानी शरणार्थीको सन्दर्भ फाइल खोलेको छ। यसलाई निष्कर्णमा पुर्याउनुपर्छ। राज्यले यसविरुद्ध फायर खोल्नुपर्छ,' शर्माले संसदमा भनेका थिए, 'निर्दोष कोही बच्नुहुन्न। दोषी बच्नुहुन्न।'
पार्टी सभापति शेरबहादुर देउवाले प्रकरणमा मुछिएका जोकोहीलाई जोगाउने खेलमा नलाग्न पदाधिकारीलाई निर्देशन दिएका थिए।
यो प्रकरणमा खाणको नाम आएको विषयमा बिहीबारकै पदाधिकारी बैठकमा चर्चा भएको कांग्रेसका एक पदाधिकारीले बताए। 'दोषी जोगाउने खेलमा कोही नलाग्ने सभापतिले भन्नुभयो,' ती पदाधिकारले भने। खाण देउवा निकट नेता हुन्।