PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टोपबहादुर प्रकरणमा बाटो बिराउँदै एमाले, पक्राउ पुर्जी जारीपछि केसम्म गर्‍यो रायमाझीका लागि?



प्रकाश भण्डारी

टोपबहादुर प्रकरणमा बाटो बिराउँदै एमाले, पक्राउ पुर्जी जारीपछि केसम्म गर्‍यो रायमाझीका लागि?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच वैशाख २० यता मात्रै पटक-पटक भेट भयो। एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट वैशाख २१ देखि हो, पछिल्लो भेटको श्रृङखला सुरु भएको।

यस्तै भेटको शृङ्खला प्रचण्डसँग ओलीले पुस १० मा प्रधानमन्त्री बनाएपछि गठबन्धन नटुटुन्जेलसम्म जारी राखे। त्यो राजनीतिक भेटवार्ता भएकाले धेरै चर्चा र चासोको विषय बनेन त्यति बेला।

प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीको भेट स्वाभाविक नै हो, तर घटनाक्रमले उनीहरूको भेटलाई स्वाभाविक देखाउँदैन। भेटपछिका दुवै नेताका अभिव्यक्तिले पनि एक अर्काबीचको भेटको तिक्ततालाई जनाउँछ।

किन बारम्बार भेटिरहे ओलीले प्रचण्ड?

वैशाख २१ कै भेटमा रायमाझीबारे प्रचण्डसँग ओलीले सोधखोज गरे। भेटपछि पत्रकारसँगको छोटो प्रतिक्रियामा रायमाझीलाई रहस्यपूर्ण तरिकाले प्रहरीले समाउन खोजेको भन्दै बचाउमै उत्रिए ओली।

'एउटा सांसद पटक-पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षडयन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने?,'ओली यसरी बचाउमा उत्रिएका थिए, ’तानिएको हो कि तनाइएको हो हामी अध्ययन गर्दैछौं। निर्दोष पर्न हुँदैन, दोषी उम्कनु हुँदैन। निर्दोष फसाउन खोजिए हामी सहँदैनौँ।’

रायमाझी वैशाख २० मा गृह जिल्लामा आयोजित कार्यक्रममा सहभागी थिए। उक्त कार्यक्रममै सभामुख देवराज घिमिरे पनि सहभागी रहेकोमा घिमिर त्यसै दिन काठमाडौं फर्किए।

तर रायमाझीले आफू काठमाडौं आउँदै गरेको जानकारी मिडियामा गराए पनि काठमाडौं आउने जहाजको टिकट नै रद्द गरे। प्रहरीले पनि उनलाई त्यतिन्जेल पक्राउका लागि कुनै तदारुकता देखाएन। बरु पक्राउ पुर्जी सम्बन्धीको सूचना सार्वजनिक गरेर रायमाझीका लागि फरार हुन पाउने स्पेस दियो।

‘स्याल कराउनु र कुखुरा हराउनु’ एकै चोटि भनेझैँ वैशाख २१ गते बिहीबार दिउँसो २ बजे आफैँ प्रहरीको सम्पर्कमा आउने तयारीमा रहेका रायमाझी ओली दाहालको भेटलगत्तै सम्पर्कविहीन भए।

ओलीले पनि पक्राउ पुर्जी जारी हुनासाथ आफूले रायमाझीलाई फोन गरेर बुझेको बताएका थिए। अझ कतिसम्म भने ओलीले उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई बाटोमै समात्न नहुने बरु आफैँ आउने दाबी समेत गरे पहिलो दिनकै प्रचण्डसँगको भेटमा।

प्रचण्डसँगको भेटपछि पनि ओलीको सक्रियता यति बढ्यो कि उनले फेरि वैशाख २३ मा सिंहदरबारमै प्रचण्डलाई भेटे। त्यति बेला भने उनले आफ्नो सम्पर्कमा रायमाझी नभएको बताएका थिए।

उक्त भेटपछि ओलीमाथि प्रचण्डले रायमाझीलाई बचाउन लागेको आरोप नै लगाए।

'अस्ति पनि यस विषयमा उहाँको कन्सर्न थियो। आज पनि कन्सर्न उहाँले राख्नुभयो। बचाउ भनेर त उहाँले भन्न सक्ने कुरा भए न नि! प्रधानमन्त्रीसँग कुरा गर्दाखेरी,’ भेटपछि बाहिरिने क्रममा प्रचण्डले भनेका थिए। भेटपछि प्रचण्डले स्काई दरबार पार्टी प्यालेस बग्गीखानामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको सम्बोधन गरे।

प्रचण्डले ओलीले दबाब दिइरहेको मात्रै भनेनन् उल्टै ओलीलाई पूरा फिल्म हेर्न तयार रहन चेतावनी नै दिए। 'यो ट्रेलर मात्रै हो, हेर्दै जानुस् सिङ्गै फिल्म देखिन्छ। पक्कै पनि ठूल्ठूला घेराबन्दी होलान्। दबाब आउलान्। धम्की होलान्। धेरै चिज हुन सक्छन् यो बीचमा। जतिसुकै ठूला धम्की र घेराबन्दीको सामना गरिने छ,' प्रचण्डले भनेका थिए।

ओलीमाथि प्रचण्डको प्रहारपछि पालो फेरि ओलीकै थियो। ओलीले वैशाख २५ मा युवा संघको कार्यक्रममा प्रचण्डले आफूमाथि दोषारोपण गरेर आरोपीलाई जोगाउन लागेको आरोप लगाएको ओलीले बताए।

‘कसैले दबाब दिएको छैन भन्नुपर्छ नि प्रधानमन्त्रीले। उहाँले कसैका दबाबका अगाडि झुक्छु भन्नुभयो यसको अर्थ मैले दबाब दिएको भन्ने उहाँको इन्टरप्रिटेसन भयो,’ ओलीले भनेका थिए।

ओलीले आफू प्रचण्डकै आग्रहमा भेट्न गएको दाबी गरेका छन्। संवैधानिक परिषद्को बैठकबारे सहमति गर्न भेट भएको ओलीको दाबी रह्यो।

‘तपाईँको सिनेमा हलमा फिल्म कहिले लाग्छ? अन्त त धूमधाम भइसक्यो त। हामी हेर्न चाहन्छौँ। सधैँ ट्रेलर मात्रै किन प्रचण्डजी? सिनेमा ‍चलाउनुस् न,’ फिल्म देखाइदिने चेतावनी दिएका प्रचण्डलाई ओलीको जवाफ थियो।

वैशाख २५ मै सिंहदरबारमै बसेको संवैधानिक परिषद्को बैठकमा ओली प्रचण्डको भेट भयो। संवैधानिक परिषदमा बलियो अडान राखेको एमाले टोपबहादुर प्रकरणले लल्याकलुलुक नै भयो। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिसमा सहमत हुन ओली तयार भएका थिए।

उक्त बैठकपछि पनि संसदीय सुनुवाइ समिति र संसदका विषयगत समितिको नेतृत्वमा भागबन्डा गर्न प्रचण्ड- ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पटक पटक भेट भएका छन्।

टोपबहादुर प्रकरणले डिफेन्सिभ

टोपबहादुरकै बचाउमा अभिव्यक्ति दिन भ्याएका एमालेका अध्यक्ष ओली अहिले भने डिफेन्सिभ छन्। एमालेका नेताहरूलाई कतिसम्म दबाब परिरहेको छ भने ७ दिनसम्म पनि टोपबहादुरबारे कुनै एक्सन नलिएको एमालेले बुधबार एकाएक रायमाझीलाई निलम्बन गर्नुपर्‍यो।

संसदमा लगातार अरू दलका नेताले एमालेले रायमाझीलाई जोगाउन कसरत गरिरहेको आरोप त लगाइरहेकै थिए, बुधबार नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्नुले एमालेमाथि थप दबाब बढेको थियो।

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर मंगलबारको सचिवालयको बैठकले रायमाझीलाई सचिवबाट निलम्बन गरेको जानकारी दिए। मंगलबारको सचिवालय बैठकमा भएको निर्णयबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा रायमाझी निलम्बन गरिएकोबारे उल्लेख छैन।

प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय जानकारी गराउने क्रममा पनि ‘विधिको शासन मान्ने भएकाले अनुसन्धानमा सघाउने’ मात्रै भनेका थिए।

बुधबारको विज्ञप्तिमा रायमाझीले पार्टी नेतृत्वसँगको सहमति विपरीत चलेकोसमेत आरोप लगाइएको छ।

‘पक्राउ पुर्जी जारी हुनासाथ उहाँलाई राज्यका निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो,' विज्ञप्तिमा भनिएको छ।

रायमाझीलाई अनुसन्धानमा सघाउन भनेको भए पनि उनले नमानेको बताए पनि हप्ता दिनसम्म एमालेका नेताहरूले प्रहरीकै अनुसन्धानमा प्रश्न उठाएर रायमाझीको बचाउ गरिरहेका थिए। तर बुधबारसम्म दबाब थेग्न नसकेपछि भने एकाएक पार्टीबाट निलम्बन गरेको हो।

रायमाझीले बुधबार नै संसद् सचिवालयमा आफू बिरामी भएको भन्दै इमेलमार्फत जानकारी गराएका छन्। संसद् सचिवालयका एक सदस्यले बिरामी बिदाका लागि रायमाझीले इमेल पठाएको बताए।

खाण पक्राउपछि एमालेका अध्यक्ष ओली पनि रायमाझीमाथि अनुसन्धान गर्न लचिलो बनेका छन्। बुधबार भुटानी शरणार्थी प्रकरणमै प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो।

उक्त भेटमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि मिसिएका थिए। श्रेष्ठले आफूलाई शीर्ष नेताको साथ रहने वचन पाएको बताए।

‘प्रधानमन्त्रीले मलाई प्रोत्साहित गर्नुभएको छ। आडभरोसा दिनुभएको छ। हिजोमात्र सबै दलका प्रमुख नेताहरूसँगको भेटमा पनि मैले कोही दोषी छुट्दैन र निर्दोष फस्दैन भनेको छु,’ श्रेष्ठले भने।

एमालेका प्रवक्ता गुरुङले बुधबार संसद्को रोष्ट्रममा उभिएर रायमाझीलाई प्रहरीको सम्पर्कमा आउन पार्टीले निर्देशन दिएको बताए।

‘छानबिनमा तल माथि नहोस्। एमाले सहयोग गर्न तयार छ। टोपबहादुरलाई छानबिनमा सहयोग गर्नुस् भनेर हाम्रो हिजोको सचिवालयको बैठकले निर्देशन गरेको छ,’ गुरुङले भनेका थिए।

एमालेका नेताहरूले अनुसन्धानमा सहयोग गर्ने बताइरहँदा एमालेले रायमाझीलाई जोगाउन लागिरहेको भन्ने आरोप भने बलियो छ। बुधबारकै प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्ड-ओलीका भेटप्रति आशंका व्यक्त गरे।

'बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्। भेटघाटले प्रभावित नहोस्। कुनै पनि कुराले प्रभावित नहोस्। मेरो आग्रह छ। अनुसन्धान फ्रि र फेयर होस्। दोषी छ भने नेता होस् कि नाता। यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने फिल्म चल्छ,' थापाको भनाइ थियो।

रास्वपा र कांग्रेसबाट सिको नगर्ने एमाले

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा एमालेका रायमाझी मात्रै होइन कांग्रेसका नेता पनि मुछिएका छन्। खाणलाई त प्रहरीले पक्राउ नै गरिसक्यो। तर फरक के देखियो भने एमाले जोगाउने दाउमा लाग्दा झन् झन् संकटमा पर्दै गएको छ भने कांग्रेस सभापति शेरबहादुर देउवा मौन बस्दा एमालेको तुलनामा कांग्रेसको आलोचना कम भइरहेको छ।

अर्कोतिर कांग्रेसका नेताहरूले आरोप लागेका हरेकमाथि अनुसन्धान हुनुपर्ने बताइरहेकाले पनि कांग्रेसलाई केही राहत छ। खाणलाई पक्राउ गरेपछि कांग्रेसका केही नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार भेटेरै बधाई दिएका थिए। त्यसो त सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा आफ्ना पार्टीका नेतालाई आरोपीलाई जोगाउन कोही पनि नलाग्न निर्देशन नै दिए।

कांग्रेसकै जसरी एमाले नेतृत्वले पनि नक्कली भुटानी शरणार्थीमा एमालेले नीति अख्तियार गर्न सक्थ्यो। तर ओलीले सुरुमै प्रचण्डमाथि दबाब दिन खोजेपछि एमाले अहिले अप्ठेरोमा परेको हो। किनभने एमालेमाथि सडकदेखि सदनसम्म ‘ठग र भ्रष्टाचारी’लाई जोगाउन लागेको आरोप लागेको छ।

जबकि यस पटकको प्रतिनिधि सभाको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न विवादित मेडिकल व्यवसायीसँग २ करोड मागेको अडियो सार्वजनिक पछि तत्काल निलम्बन र सांसदबाटै हटाएको थियो।

उक्त प्रकरणले वैशाख १० मा सम्पन्न भएको रास्वपालाई जनमतमा फाइदा नै गर्‍यो। अहिले रास्वपाले पनि सरकारलाई अझ बलियो गरी अघि बढ्न अनुरोध नै गरिरहेको छ।

‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्,’ खाण पक्राउपछि रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell