PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

१०० भन्दा धेरै अपराध, खबरीलाई ३०००००० पुरस्कार, पक्राउ परेका दिनेशको के छ नेपाल कनेक्सन?



सविन ढकाल

१०० भन्दा धेरै अपराध, खबरीलाई ३०००००० पुरस्कार, पक्राउ परेका दिनेशको के छ नेपाल कनेक्सन?

काठमाडौं : भारतमा सर्वाधिक खोजी गरिएका माओवादी नेता दिनेश गोप पक्राउ परेसँग उनको नेपाल कनेक्सनलाई लिएर धेरैको चासो बढेको छ। भारतीय सञ्चार माध्यमका अनुसार गोप आइतवार झारखण्ड प्रहरी र भारतकै राष्ट्रिय अन्वेषण अभिकरण एजेन्सी (एनआईए) को संयुक्त अपरेसनमा समातिएका हुन्।

समातिएका उनी झारखण्ड राज्यमा चलाएको प्रतिबन्धित उग्रवादी संगठन - पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख हुन्। उनलाई पक्राउ गर्नका लागि विभिन्न राज्यमा पुरस्कार घोषणा नै गरिएको थियो। २०२० डिसेम्बरमा झारखण्ड प्रहरीले तोपसहित सात जना माओवादी समात्नका लागि फोटो जारी गरेर नगद पुरस्कार घोषणा गरेको थियो। झारखण्ड सरकारले उनको सूचना दिनेलाई २५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। त्यस्तै एनआईएले थप पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

भारतीय सञ्चारमाध्यमले एनआइएको अनुसन्धानलाई उदृत गर्दै दिनेश गोपको विरुद्ध बिहार र उडिसामा १ सय भन्दा धेरै अपराधिक गतिविधिका उजुरी परेका छन्। यसमा सबैभन्दा धेरै हत्या, अपहरण, जबर्जस्ती असुली छन्। उनले माओवादी सङ्गठनका लागि रकम असुलेको खुलेको छ। भारतमा नोटबन्दीका समयमा पेट्रोल पम्पको माध्यमबाट ठूलो धनराशी बैङ्कमा जम्मा गर्न खोजेको आरोप पनि उनीमाथि लागेको छ।

यिनै अपराधका कारण उनी प्रहरीको खोजी सुचीमा थिए। तर, उनको कनेक्सन अहिले नेपालमा पनि जोडिएको छ। केही भारतीय सञ्चार माध्यमले उनी नेपालमा समातिएको दाबी गरेका छन्। त्यसो त भारतीय सञ्चारमाध्यममा पनि उनी कहाँबाट समातिए भन्ने विरोधभाष पाइन्छ।

यता उनको गिरफ्तारीको विषयमा आधिकारिक रुपमा कुनै जानकारी नभएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले बताए। 'हामीलाई यसबारे कुनै पनि औपचारिक जानकारी छैन,' कडायतले भने।

त्यसो त नेपाल र भारतमा बसेर अपराध गरेपछि एक अर्का देशमा लुक्नजाने ट्रेन्ड नभएको होइन। नेपाल प्रहरीले पनि कतिपय अपराधीलाई भारतबाट पक्राउ गरेर ल्याएको छ। भारतले पनि नेपालबाट समातेर लैजाने गरेका छन्। कानुनी प्रकृयाको झन्झटिलो व्यवस्थाका कारण उनीहरूले खुलेर एक अर्काको देशबाट समातिएको चाहिँ भन्ने गर्दैनन्।

गोप पक्राउ प्रकरणमा त्यस्तै अर्को श्रृङ्खला हो। केही समय अघि पञ्जावी गायक सिद्धू मूसेवालाको हत्यारा भागेर नेपाल आएको र भारतीय प्रहरी खोज्न नेपाल आएको भन्ने समाचार पनि भारतीय माध्यमले सार्वजनिक गरेका थिए। त्यस्तै, भारतबाट पञ्जाव राज्य टुक्राएर खालिस्तान बनाउने अभियानको नेतृत्व गरिरहेका अमृतपाल पनि नेपालमा आएको भारतीय मिडियाले नै समाचार प्रकाशित गरेका थिए। उनी वैशाख १० गते पञ्जाबमै समातिएका थिए। उनी पक्राउ परेसँगै दङ्गा हुनसक्ने भन्दै प्रहरीले सबै समुदायलाई शान्ति कायम राख्न अनुरोध गरेको थियो। उनी मार्च १८ देखि फरार थिए। यसबिच अमृतपाल नेपालमा आउनसक्ने भन्दै भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार समेत गर्‍यो। पत्रमा सीमा सुरक्षा व्यवस्था कडा बनाउन अनुरोध गरिएको थियो।

खुला सीमानाका कारण नेपाल र भारतमा हुने केही अपराधको कनेक्सन भइरहेको देखिन्छ। सुन तस्करी, नक्कली नोट, हुन्डी लगायतका अपराधमा दुई देशका अभियुक्तको वारपार सामान्य झै छ। जसरी अपराधीले अपराध गरेर सीमा वारपार गर्छन्। दुई देशका प्रहरीबिच कतिपय केसमा त्यस्तै अनौपचारिक अपरेसन चल्छ जसलाई पुष्टि गर्ने कुनै कागजात वा पत्राचार हुँदैन। त्यसैले दिनेश गोपको पक्राउ प्रकरण के हो भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell