काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले करको दर हेरफेर गरेको आरोप लगाएपछि उनले स्पष्टीकरण दिएका हुन्।
महतले बजेट निर्माणमा पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठले सहयोगीको भूमिका मात्रै निभाएको बताए। उनले निर्णय प्रक्रियामा श्रेष्ठको सहभागिता नभएको दाबी पनि गरे।
‘टाइप गर्न त सहयोगी चाहियो। यो सहयोग गर्ने क्रममा म आउने भन्दा अगाडी नै रामकृष्ण श्रेष्ठ नियुक्त हुनुभएको छ। उहाँ अनुभवी दक्ष भनेर रिकगनाइज व्यक्ति भनेर परिचित हो,’ उनले भने।
विपक्षी दलका सांसदहरुले श्रेष्ठको संलग्नतालाई अनधिकृत भन्दै महतसँग जवाफ मागेका थिए।
महतले मन्त्री भएयता बिचौलियालाई आफूले छेउमा पनि आउन नदिएको बताए। उनले आफू अर्थमन्त्री हुँदा नै पारदर्शी हुने वाचा गरेको बताए।
‘आधिकारिक व्यक्तित्वले निर्णय गरेको करको दर निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा भर्नका लागि वर्षौंदेखि यो काम लगातार गर्दै आउनुभएको छ। म भन्दा अगाडीको अर्थमन्त्रीले पनि आवश्यकता छ भनेर नियुक्त गरियो,’ श्रेष्ठको बचाउमा महतले भने।
महतले श्रेष्ठले बजेटबारे उनलाई दिइएको निर्देशन 'टाइप' गर्ने काम मात्रै गरेको बताए।
‘निर्णय प्रक्रियामा उहाँ कहिँ कतै हुनुहुन्न। उहाँले इन्टर गर्ने काम मात्रै गर्नु भएको हो,’ उनले भने।
आफू इमान्दारितामा एक इन्च पनि नहल्लिएको महतको भनाइ थियो।
‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन। भेष्टेड इन्ट्रेस्ट भएकाहरु निजी स्वार्थ भएकाहरु पछि लागेका छन्। कुरा यहि हो,’ उनले भने।
सम्बन्धित समाचार : करको दर हेरफेर प्रकरणमा महतको स्पष्टीकरण : अर्थमन्त्री भएकै दिन प्रभावमा पर्दिनँ भनेर वाचा गरेको छु