
सांघाई : चिनियाँ विदेश मन्त्री छिन काङले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनसँग टेलिफोन वार्ता गरेका छन्। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार मन्त्री छिनले अमेरिकी समकक्षीसँग दुई देशको सम्बन्धलाई स्थिर विकासको लयमा फर्काउने विषयमा छलफल गरेका थिए।
'यस वर्षको सुरुदेखि नै चीन-अमेरिका सम्बन्धले नयाँ कठिनाइ र चुनौतीहरूको सामना गर्नुपरेको छ,' चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, 'चीनले राष्ट्रपति सी चिनफिङको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र विन-विन सहकार्यको सिद्धान्तलाई चीन-अमेरिका सम्बन्धलाई हेर्न र सम्हाल्न सदैव अनुसरण गर्दै आएको छ।'
विदेश मन्त्री छिनले ताइवान मुद्दाजस्ता चीनको मुख्य चासोका विषयमा आफ्नो गम्भीर अडान राख्दै अमेरिकाले यसको सम्मान गर्नुपर्ने बताएको वक्तव्यमा उल्लेख छ।
'चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने र प्रतिस्पर्धाको नाममा चीनको सार्वभौमिकता, सुरक्षा र विकास हितलाई हानि पुर्याउन बन्द गर्नुपर्नेमा मन्त्री छिन जोड दिए,' वक्तव्यमा भनिएको छ, 'आशा छ कि अमेरिकी पक्षले बाली बैठकको महत्वपूर्ण सहमति र अमेरिकी पक्षका सान्दर्भिक प्रतिबद्धताहरू कार्यान्वयन गर्न व्यावहारिक कदम चाल्नेछ।'
यस्तै, अमेरिकी विदेश मन्त्री ब्लिंकन यसैसाता बेइजिङको भ्रमण गर्न सक्ने बताइएको छ। सोही सन्दर्भमा दुई नेताबिच टेलिफोन संवाद भएको हो।
संवादका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिंकनले दुई देशबिचको सम्बन्धलाई स्थिर बनाउन तथा तनाव कम गर्न आपसी संवादलाई निरन्तरता दिनुपर्ने बताएकोअमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अमेरिकी सञ्चार माध्यमहरुले यसै साता ब्लिंकन बेइजिङका लागि उड्ने रिपोर्ट गरेका प्रकाशन गरेका छन्। बेइजिङ भ्रमणका क्रममा ब्लिंकनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेट गर्न सक्ने ब्लुम्वर्गले जनाएको छ।
यद्यपि, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने ब्लिंकनको भ्रमण तय नभएको प्रतिक्रिया दिएका छन्।
ब्लिंकनको भ्रमण यसअघि फेब्रुअरीमा हुने तय भएको थियो। तर, अमेरिकी आकाशमा 'चिनियाँ बेलुन' प्रवेश गरेसँगै दुई देशबिच तनाव बढेको थियो। अमेरिकाले चिनियाँ बेलुनलाई 'जासुसी बेलुन'को संज्ञा दिँदै ब्लिंकनको भ्रमण रद्द गरेको थियो। यद्यपि, चीनले वातावरणीय अध्ययनका लागि खटिएको बेलुनले बाटो बिराएको प्रतिक्रिया दिएको थियो। साथै त्यसबेला विदेश मन्त्री ब्लिंकनको बेइजिङ भ्रमणको मिति तय नभएको भन्दै भ्रमण रद्द गरेको हल्ला मात्र गरेको आरोप लगाएको थियो।
चीनले भ्रमण तय नभएको बताइरँहदा रोयटर्सले भने ब्लिंकनले जुन १८ मा बेइजिङको भ्रमण गर्ने रिपोर्ट प्रकाशित गरेको छ। भ्रमणको तयारीमा संलग्न अधिकारीलाई उदृत गर्दै यस्तो दाबी गरिएको हो। तर, पछिल्लो साता मात्र वालस्ट्रिट जर्नलमा चीन र क्युवाबिच क्युवामा जासुसी केन्द्र स्थापना गर्ने सम्बन्धी गोप्य समझदारी भएको रिपोर्ट प्रकाशित भए पछि भ्रमण पुन:स्थगित हुन सक्ने आशंकासमेत जन्मिएका थिए। तर, यस्तो समझदारीबारे कुनै जानकारी नभएको अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका थिए। त्यस्तै क्युवाको विदेश मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले पनि रिपोर्टलाई मिथ्या भएको भन्दै खण्डन गरेका थिए।
यो पनि: