PahiloPost

Jul 16, 2024 | १ साउन २०८१

नेपालमा पहिलोपटक भेटिएको ‘मंकिपक्स’ भाइरस के हो? कत्तिको जोखिमपूर्ण छ?



पहिलोपोस्ट

नेपालमा पहिलोपटक भेटिएको ‘मंकिपक्स’ भाइरस के हो? कत्तिको जोखिमपूर्ण छ?
Photo: WHO

नेपालमा पहिलो पटक ‘मंकिपक्स’ भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै ‘मंकिपक्स’ भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिएका हुन्।


नेपालमा पहिलोपटक भेटियो ‘मंकिपक्स’ सङ्क्रमित, विदेशी महिलामा देखियो भाइरस


‘मंकिपक्स’ एक प्रकारको ‘भाइरल जूनोसिस’ हो, अर्थात यो जनावरबाट मानिसमा सरेको भाइरस हो। यसका लक्षणहरु विगतमा देखिएको ‘स्मलपक्स’को लक्षणसँग मिल्दोजुल्दो रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ।

यद्यपि, यो ‘स्मलपक्स’भन्दा चिकित्सकीय रूपमा कम गम्भीर रहेको बताइएको छ। १९८० मा ‘स्मलपक्स’को उन्मूलन भएसँगै यसको खोपको उत्पादन पनि बन्द गरिएको थियो। तर, हाल ‘मंकिपक्स’ जनस्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण ‘अर्थोपक्स भाइरस’को रूपमा देखिएको छ।

‘मंकिपक्स’ मुख्यतया मध्य र पश्चिमी अफ्रिकाको ‘ट्रपिकल रेनफरेस्ट’ नजिकमा र शहरी क्षेत्रहरूमा बढ्दो रूपमा देखा परेको छ। यो पहिले ‘रोडेन्ट्स’ (मुसा प्रजाति) र ‘नन-ह्युमन प्राइमेट्स’ (बाँदर प्रजाति)बाट मानिसमा सरेको बताइएको छ।

‘मंकिपक्स’ भाइरस एक प्रकारको ‘डबल-स्ट्र्यान्डेड डीएनए’ भाइरस हो जुन ‘पोक्सभिरिडेइ’ परिवारको ‘अर्थोपक्स भाइरस जिनस’सँग सम्बन्धित छ। ‘मंकिपक्स’ भाइरसलाई दुईवटा भिन्न आनुवंशिक समूहमा विभाजन गरिएको छ - पहिलो मध्य अफ्रिकी (कङ्गो बेसिन) क्लेड र अर्को पश्चिम अफ्रिकी क्लेड।

कङ्गो बेसिन क्लेडले ऐतिहासिक रूपमा धेरै गम्भीर रोग निम्त्याएको थियो भने बढी संक्रमण भएको मानिएको थियो। दुई क्लेडहरूबिचको भौगोलिक विभाजन अहिलेसम्म क्यामरूनबाट भएको थियो, जहाँ दुवै भाइरसका क्लेडहरू फेला परेका छन्।

‘मंकिपक्स’ भाइरसको प्राकृतिक होस्ट

विभिन्न जनावरका प्रजातिहरूलाई ‘मंकिपक्स’ भाइरसको लागि अतिसंवेदनशील भनी पहिचान गरिएको छ। जसमा रोप स्क्वेरल, ट्री स्क्वेरल, गाम्बियन पाउच्ड र्‍याट, डोर्मिस, ‘नन-ह्युमन प्राइमेट्स’ र अन्य प्रजातिहरू पर्छन्।

‘मंकिपक्स’ भाइरसको बारेमा हालसम्म विस्तृत जानकारी आइसकेको छैन। यसको सर्ने माध्यमहरु पहिचान गर्न र प्रकृतिमा भाइरसको सञ्चार कसरी हुन्छ भन्नेबारे थप अध्ययनहरू आवश्यक रहेको डब्लूएचओले बताएको छ।

‘मंकिपक्स’ भाइरसको आउटब्रेक

मानिसमा ‘मंकिपक्स’ पहिलो पटक सन् १९७० मा कंगोमा देखिएको थियो। सन् १९६८ मा ‘स्मलपक्स’ उन्मूलन भएको क्षेत्रमा एक ९ वर्षीय बालकमा।

त्यसबेलादेखि अधिकांश संक्रमणहरू कंगो बेसिनको ग्रामीण, ‘रेनफरेस्ट’ क्षेत्रहरूमा देखिएका छन्। मानिसमा यसको संक्रमण विशेषगरी मध्य र पश्चिम अफ्रिकामा बढ्दो रूपमा रिपोर्ट गरिएको छ।

१९७० देखि हालसम्म ११ अफ्रिकी देशहरू बेनिन, क्यामरून, मध्य अफ्रिकी गणतन्त्र, प्रजातान्त्रिक गणतन्त्र कंगो (कंगो किनशासा), ग्याबोन, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, कंगो गणतन्त्र(कंगो ब्राजाभिल), सिएरा लियोन र दक्षिण सुडानमा ‘मंकिपक्स’का संक्रमणहरु रिपोर्ट गरिएको छ।

सन् १९९६-९७ मा कंगो किनशासामा कम मृत्युदर र सामान्य भन्दा उच्च संक्रमणदर भएको ‘मंकिपक्स’ देखिएको थियो। त्यहाँ, ‘चिकेनपक्स’ (भेरिसेला भाइरसको कारणले हुने जुन अर्थोपक्स भाइरस होइन) र ‘मंकिपक्स’को प्रकोप देखिएको थियो जसले भाइरसको प्रसारण गतिशीलतामा स्पष्ट परिवर्तन भएको देखाउँछ।

सन् २०१७ देखि नाइजेरियामा ‘मंकिपक्स’को ठूलो प्रकोप देखिएको छ। त्यहाँ ५०० भन्दा बढी सम्भावित केसहरू र २०० भन्दा बढी पुष्टि भएका केसहरू देखिएका छन्। जसको मृत्युदर करिब ३ प्रतिशत छ। ‘मंकिपक्स’को संक्रमण देखिने क्रम आजसम्म पनि जारी छ।

‘मंकिपक्स’ विश्वव्यापी जनस्वास्थ्यको लागि महत्वका साथ हेरिनुपर्ने रोग हो। यसले पश्चिम र मध्य अफ्रिकाका देशहरूलाई मात्र नभई बाँकी विश्वलाई नै असर गर्न गर्छ।

सन् २००३ मा अफ्रिका बाहिर पहिलो पटक अमेरिकामा ‘मंकिपक्स’ देखिएको थियो। सो केसको सम्बन्ध संक्रमित घरपालुवा कुकुरहरूसँग जोडिएको थियो। सो कुकुरलाई घानाबाट अमेरिकामा आयात गरिएका गाम्बियन पाउच्ड र्‍याट (मुसा) र डोर्मिससँग सँगै राखिएको थियो।

त्यसपछि अमेरिकामा ७० भन्दा बढी मानिसमा मंकिपक्स फैलिएको थियो। त्यस्तै, सेप्टेम्बर २०१८ मा नाइजेरियाबाट इजरायल पुगेका यात्रुमा पनि यसको संक्रमण देखिएको थियो।

यसैगरी, सेप्टेम्बर २०१८, डिसेम्बर २०१९, मे २०२१ र मे २०२२ मा बेलायतमा, मे २०१९ मा सिंगापुरमा र जुलाई र नोभेम्बर २०२१ मा अमेरिकामा नाइजेरियाबाटै गएका यात्रुहरूमा पनि मंकिपक्सका ७० भन्दा बढी संक्रमणहरु रिपोर्ट गरिएको छ। यस्तै, मे २०२२ मा धेरै ‘नन-इन्डेमिक’ देशहरूमा ‘मंकिपक्स’का धेरै केसहरू पहिचान गरिएको थियो।

‘मंकिपक्स’ विश्वभरी हाल १११ देशमा फैलिसकेको छ। भाइरसको इपिडेमियोलोजी, संक्रमणको स्रोत र प्रसारण ‘प्याटर्न’हरूबारे थप बुझ्नको लागि हाल अध्ययनहरू जारी छन्।

‘मंकिपक्स’को प्रसारण

पशु-देखि-मानवमा हुने (जुनोटिक) प्रसारण रगत, शारीरिक तरल पदार्थ वा संक्रमित जनावरहरूको छालासँगको प्रत्यक्ष सम्पर्कबाट हुन सक्छ। अफ्रिकामा, रोप स्क्वेरल, ट्री स्क्वेरल, गाम्बियन पाउच्ड र्‍याट्स, डोर्मिस, बाँदरका विभिन्न प्रजातिहरूलगायत अन्य धेरै जनावरहरूमा मंकिपक्स भाइरस संक्रमणको प्रमाण फेला परेको छ। मंकिपक्सको ‘नेचुरल रिजरभ्वायर’ अझै पहिचान गरिएको छैन, यद्यपि रोडेन्ट्स नामक मुसा हुन सक्ने सम्भावना धेरै छ।

राम्रोसँग पकाएको मासु र संक्रमित जनावरहरूको अन्य पशुजन्य उत्पादनहरू खानु सम्भावित जोखिमको कारक हुन सक्ने बताइएको छ। बन क्षेत्र वा त्यस नजिकै बसोबास गर्ने मानिसहरूलाई संक्रमित जनावरहरूसँग अप्रत्यक्ष वा निम्न स्तरको जोखिम हुन सक्छ।

थुक, खकार, र्‍याल तथा संक्रमित व्यक्तिको छालाको घाउको सम्पर्कबाट मानिसदेखि मानिस यो भाइरस प्रसारण हुन सक्छ। समुदायमा हालका वर्षहरूमा व्यक्ति-देखि-व्यक्तिमा सर्ने संक्रमणको श्रृंखला ६ बाट ९ पुगेको छ।

‘मंकिपक्स’का संकेत र लक्षणहरू

मंकीपक्सको इन्क्युबेसन अवधि (संक्रमण देखि लक्षण देखिनसम्मको अन्तराल) सामान्यतया ६ देखि १३ दिनसम्म हुन्छ तर यो अवधि ५ देखि २१ दिन सम्मको पनि हुन सक्छ।

संक्रमण दुई अवधिमा विभाजन गर्न सकिन्छ :

- भाइरसको आक्रमण अवधि (० देखि ५ दिन)मा ज्वरो, तीव्र टाउको दुखाइ, लिम्फ्याडेनोप्याथी (लिम्फ नोडहरू सुन्निने), ढाड दुख्ने, मायल्जिया (मांसपेशीको दुखाइ) र तीव्र एस्थेनिया (ऊर्जाको कमी) जस्था लक्षणहरु देखिन सक्छ। लिम्फ्याडेनोप्याथी तुलनात्मक रुपमा चिकेनपक्स, दादुरा, स्मलपक्सको सुरुमा देखिने जस्तै मंकिपक्सको एक विशिष्ट विशेषता हो।

- सामान्यतया ज्वरो आएको १ देखि ३ दिनमा शरीरमा फोकाहरु देखिन थाल्छ। ९५ प्रतिशत केसहरूमा यसले अनुहारलाई असर गरेको देखिएको छ भने हत्केला र ७५ प्रतिशत केसहरूमा खुट्टाको पैतालामा असर गरेको देखिएको छ।

साथै, ७० प्रतिशत केसहरूमा मुख भित्रको झिल्ली, ३० प्रतिशत केसमा गुप्ताङ्ग, २० प्रतिशत केसहरुमा कन्जङ्क्टिभेइ र कोर्निया पनि प्रभावित भएको देखिएको छ। छालाको सतहमा देखिने दागहरु क्रमशः म्याकुल्स (छालामा देखिने सामान्य घाउ) देखि प्यापुल्स (थोरै उठेको तर कडा बिबिरा), भेसिकल्स (स्पष्ट तरल पदार्थले भरिएको घाउ), पुस्टुल्स (पहेँलो तरल पदार्थले भरिएको घाउ) र क्रस्टमा परिणत हुन्छ। जुन पछि सुक्छ र झर्छ। बिबिराको संख्या केहिदेखि धेरै हजारसम्म फरक हुन सक्छ। गम्भीर अवस्थाहरूमा छालाको ठूला भागहरू बिबिरा एकापसमा जोडिएर ठूला घाउहरु बन्छन्।

मंकिपक्स सामान्यतया २ देखि ४ हप्तासम्म लक्षण रहने एक सेल्फ-लिमिटेड रोग हो। गम्भीर केसहरू सामान्यतया बालबालिकाहरूमा देखा पर्छन् र भाइरसको जोखिम बिरामीको स्वास्थ्य स्थिति र जटिलताहरूको प्रकृतिसँग सम्बन्धित छन्।

अन्तर्निहित प्रतिरोधात्मक क्षमताको कमजोरीले खराब अवस्था निम्त्याउन सक्छ। मंकिपक्सका जटिलताहरूमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोन्युमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कोर्नियाको संक्रमणले दृष्टि गुम्नेसम्म हुन सक्छ। कुन हदसम्म एसिम्प्टोमेटिक संक्रमण हुन सक्छ भने पत्ता लागेको छैन।

मंकिपक्सको मृत्युदर ऐतिहासिक रूपमा सामान्य जनसंख्यामा शून्यदेखि ११ प्रतिशतसम्म रहेको छ। साना बालबालिकाहरूमा यो उच्च रहेको छ। पछिल्लो समय मृत्युदर ३ देखि ६ प्रतिशतको हाराहारीमा रहेको छ।

यसको उपचार के हो?

संक्रमण रोकथामको विधिहरु प्रयोग गरेर प्रकोप नियन्त्रण गर्न सकिन्छ। मंकिपक्सविरुद्ध स्मलपक्सको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।

एन्टिभाइरल औषधिहरूले पनि यसको उपचारमा मद्दत गर्न सक्ने बताइएको छ।

यो कति खतरनाक छ?

मंकिपक्स भाइरसका धेरैजसो केसहरू सामान्य हुन्छन्। कहिलेकाहीँ चिकेनपक्स जस्तै पनि देखिन्छन्। र, केही हप्तामा यो आफैँ पनि निको हुन्छ।

यद्यपि, यो भाइरसको प्रभाव कहिलेकाहीँ गम्भीर पनि हुन सक्छ। पश्चिम अफ्रिकामा यसले मानिसहरुको मृत्यु पनि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell