PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

हेटौंडाबाट राजधानी सार्ने गरि बजेट ल्याइएको उपमहानगरका वडा अध्यक्षहरुको आरोप, मुख्यमन्त्री र मन्त्रीलाई बहिष्कार गर्ने चेतावनी



निशा गुरुङ

हेटौंडाबाट राजधानी सार्ने गरि बजेट ल्याइएको उपमहानगरका वडा अध्यक्षहरुको आरोप, मुख्यमन्त्री र मन्त्रीलाई बहिष्कार गर्ने चेतावनी

 

हेटौंडा : असार १ गते वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रदेश सभामा पेश गर्‍यो। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको थियो।

प्रदेश सरकारले पेस गरेको उक्त बजेटलाई हेटौंडा उपमहानगरपालिकाका केही वडा अध्यक्षहरुले संसोधन गर्नुपर्ने माग राखेका छन्। संशोसन नगरे मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिष्कार गर्ने चेतावनी उनीहरुले दिएका छन्।

प्रदेशको राजधानी सार्ने मनसायले हेटौंडालाई उपेक्षित गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अर्थमन्त्री बहादुर सिंह लामाले बजेट विनियोजनमा विभेद गरेको उनीहरुको आरोप छ।

शनिबार पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रदेशको राजधानी सार्ने मनसायले हेटौंडालाई उपेक्षित गरेको भन्दै बजेटको विरोध गरे। वडा अध्यक्षहरुले हेटौंडामा हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु सहभागि भए उनीहरुलाई कालो झण्डा देखाउँदै बहिष्कार गर्ने घोषणासमेत गरेका छन्।

हेटौंडा-१४ का वडा अध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने तयारीमा रहेको बताए। उनले प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने बताए।

यस्तै, हेटौंडा-१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानीको प्रशासनिक भवन र प्रदेशसभा भवन १० नम्बर वडामै रहेको भन्दै आफ्नो वडालाई बजेटले नसमेटेको आरोप लगाए। १० नम्बर वडामा पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजिएको उनको टिप्पणी थियो। उनले प्रदेशको राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खाजेको भान भएको बताए।

हेटौंडा-१९ को वडा अध्यक्ष नरनाथ सुवेदीले प्रदेश सरकारको बजेट पूवाग्राही ढंगले आएको बताउँदै बजेट संशोधन हुनुपर्ने बताए। उनले प्रदेशको बजेट पूवार्धार, रोजगारसँग नजोडिएको टिप्पणी गरे। उनले प्रदेश सरकारले आफ्नो दलका कार्यकर्ता पाल्ने ढंगले मात्रै बजेट ल्याएको दाबी गर्दै प्रदेश सरकारले बजेट सच्याउनुपर्ने बताए।

पत्रकार सम्मेलनमा हेटौंडा-५ का वडा अध्यक्ष शुशिल घिमिरे, हेटौंडा-११ की वडा अध्यक्ष जुना दाहाल, हेटौंडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले प्रदेशको बजेट हचुवाका भरमा पहुँचवालाले पाउने गरि बनेको आरोप लगाए। उनीहरुले बजेट संशोधन हुनुपर्नेमा जोड दिए।

हेटौंडा उपमहानगरमा १९ वटा वडा छन्। आज पत्रकार सम्मेलनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमात्र उपस्थित थिए। सत्तारुढ दलबाट विजयी वडा अध्यक्षहरुको पनि आफूहरुलाई समर्थन रहेको तर आज नीति तथा कार्यक्रम पेश हुने भएकाले उनीहरु उपस्थित नभएको एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले बताए।

पढ्नुस प्रदेश सरकारले पेश गरेको बजेट : वाग्मतीमा कुन मन्त्रालयलाई कति  बजेट छुट्याइयो? बजेटमा के के कार्यक्रम अटाए?  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell