काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश जटिल अवस्थामा पुगेको बताएका छन्। ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका खड्काले मुलुकको तरल अवस्थालाई पगार्ने प्रयास भइरहेकोसमेत बताए। 'मुलुकको अवस्था जटिल छ। मुलुकको अवस्था तरल छ। मुलुकको अवस्थालाई धेरै ठुलो वर्षौ वर्षाको परिवर्तनलाई विभिन्न बाहनामा पर्गल्याउने, तोड्ने त्यसलाई भत्काउने निरन्तर चलिरहेको छ,' खड्काले भने।
समाजवादी मोर्चाको १५ बुँदे प्रतिबद्धता : आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, बन्दीलाई रिहाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चा गठन गर्दैगर्दा प्रज्ञा प्रतिष्ठानमा खड्काले उक्त भनाई राखेका हुन्। समाजवादी मोर्चामा सत्ता घटक कांग्रेसबाहेक ठूला दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) रहेका छन्। त्यसैगरी मोर्चामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपासमेत अटेको छ।
उनले नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानको रक्षाका लागि पार्टीले जिम्मा लिनुपर्नेसमेत बताए। 'तर नेपाली कांग्रेसको नेतृत्वमा बेलाबेलामा भएका संघर्ष र आन्दोलनले समयअनुसार परिमार्जन गर्ने। संविधान जारी गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो,' खड्काले भने, 'संविधान गर्न अडान लिनुभयो। दलित जनजातिका मुद्दालाई संविधानको संशोधनमार्फत सम्बोधन गर्छौ भन्दै संकल्प गरेर संविधान जारी भयो। संविधानलाई समृद्ध बनाउन हामी लागि पर्नुपर्छ।'
सोही कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालको अहिलेको राजनीतिक अवस्था ठीक नभएको बताएका छन्। सिटौलाले अहिलेको यस्तै भइरहने हो भने ५८ सालको अवस्था र ५९ सालको प्रारम्भको दिनहरुमा पुग्ने चेतावनीसमेत दिए। 'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,' सिटौलाले भने, 'हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु दिनहरु आउँदैन भन्न सकिँदैन।'
२०५९ को प्रारम्भमा तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद विघटन गरेका थिए। २०५९ जेठ ८ गते विघटन भएको संसद पुन:स्थापनाका लागि दलहरुले लामो समय संघर्ष गर्नुपरेको थियो। १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो। निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्नेसमेत बताए। 'नेपाली कांग्रेसले यो देशलाई व्यवस्थापन दिनुछ,' सिटौलाले भने। कांग्रेस सभापति शेरबहादुर देउवा भने मंगलवारबाट सिंगापुरमा छन्। नियमित उपचारका लागि भन्दै देउवा आफ्नी पत्नी आरजुसँगै सिंगापुर पुगेकी हुन्।