अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति सी चिनफिङलाई 'डिक्टेटर' भनेका छन्। क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा बाइडेनले अमेरिकी आकाशमा उडेको चिनियाँ बेलुनलाई खसालेपछि सी निकै लज्जित भएको भन्दै उनलाई तानाशाहीसँग तुलना गरेका हुन्।
'जब मैले त्यो जासुसी बेलुन खसालेँ तब सी चिनफिङ निकै रिसाए। त्यो तानाशाहीहरुका लागि निकै ठूलो लज्जाको विषय हो,' बाइडेनले भने।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेन बेइजिङको भ्रमण गरि फर्केको भोलिपल्ट नै बाइडेनले सीमाथि प्रहार गरेका हुन्। बेइजिङले बाइडेनको टिप्पणीको बारेमा अहिलेसम्म केही बताएको छैन।
ब्लिंकनको भ्रमण यसअघि फेब्रुअरीमा हुने तय भएको थियो। तर, अमेरिकी आकाशमा 'चिनियाँ बेलुन' प्रवेश गरेसँगै दुई देशबिच तनाव बढेको थियो। अमेरिकाले चिनियाँ बेलुनलाई 'जासुसी बेलुन'को संज्ञा दिँदै ब्लिंकनको भ्रमण रद्द गरेको थियो। यद्यपि, चीनले वातावरणीय अध्ययनका लागि खटिएको बेलुनले बाटो बिराएको प्रतिक्रिया दिएको थियो।
ताइवान, हङकङसँगै युक्रेन रसिया युद्धको कारण दुई देशबिचको सम्बन्ध राम्रो हुन सकेको छैन।