PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

माल्दिभ्सपछि भारत उत्रिएको नेपाली टोलीमा छैनन् १३ अनुभवी खेलाडी, दुई वर्षमा कति फेरियो नेपाल?



मुकुन्द घिमिरे

माल्दिभ्सपछि भारत उत्रिएको नेपाली टोलीमा छैनन् १३ अनुभवी खेलाडी, दुई वर्षमा कति फेरियो नेपाल?
भारतमा अभ्यास गर्दै नेपाली टोली। फोटोहरु : एन्फा

काठमाडौं : साफ च्याम्पियनसिप आजबाट भारतको बेङ्ग्लुरुमा सुरु हुँदैछ। उद्घाटन खेलमै नेपालले कुवेतको सामना गर्दैछ। दक्षिण एसियाली क्षेत्रमा प्रतिष्ठाको कप हो साफ। यो साफमा नेपालले कस्तो नतिजा निकाल्ला?  

नतिजा राम्रो निकाल्न टिममा रहेका फिट खेलाडी छन् कि छैनन् भनेरमात्र दाँजिन्न समूह चरणमा को को छन् भन्ने हिसाबसमेत गरिन्छ। यसपाला साफमा नेपालको टोली कस्तो छ त?

प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले फाइनल गरेको २३ जनालाई सरसर्ती हेर्दा अधिकांश नयाँ अनुहारका देखिन्छन्।

त्यसैगरी समूहचरण?

खेलाडी नयाँ रहेपनि समूहचरणमा भारत नेपालको चिरप्रतिद्वन्द्वी हो। कुवेत र पाकिस्तान पनि नेपालको नयाँ प्रतिस्पर्धी हैनन्।  

खेलाडीमा पुगेन लगानी, खन्याएको पनि बालुवामा पानी

नेपाली टोलीमा अधिकांश नयाँ अनुहारका किन? कारण – माल्दिभ्स् संस्करण(२०२१)को साफपछि नेपालले ब्यहोरेको सबैभन्दा ठूलो क्षति हो खेलाडी पलायन। खेलाडी पलायनले 'ए' डिभिजन लिगदेखि राष्ट्रिय टोलीको सन्तुलनसम्म लथालिंग बनेको छ।

कुवेतसँग ९ पटक भेट हुँदा नेपालले गरेको २ गोलमध्ये पछिल्लो गोल गरेका युवा खेलाडी दर्शन गुरुङ हाल टोलीमा छैनन्। उनीलगायत राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पछिल्ला दुई वर्षमा पलायन भइसकेका छन्।

अघिल्लो संस्करणमा नेपाल साफ च्याम्पियनसिपको उपविजेता बन्दा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थिए। उनले त्यसबेला माल्दिभ्स लगेका २३ खेलाडी र हालका प्रशिक्षक भिन्सेन्जोले भारत लगेको टोलीमा खेलाडीको अनुहार धेरै फरक छ। अघिल्लो संस्करण खेलेको नेपाली टोली र यसपाला खेल्न पुगेको नेपाली टोलीबीच कति फरक छ?

अघिल्लो संस्करणको साफमा किरण लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरजज्यू ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनील बल, आशिष लामा, पूजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनीष डाँगी, कमल थापा र रोहित चन्द नेपाली टोलीमा थिए।

माल्दिभ्स संस्करण - २०२१ मा उत्रिएका नेपाली टोली।


यसपटक साफ च्याम्पियनसिप अघिल्लो संस्करण खेलेका किरण, दीप, विशाल, अनन्त, रोहित, पुजन, आयुष, नवयुग, अञ्जन र मनिषमात्र छन्। दिनेश राजवंशी, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ र कमल थापा यसपाला टोलीमा छैनन्। उनीहरु टोलीमा मात्र नभए विदेश पलायन भइसकेका छन्।  

यसपटकको टोलीमा विमल पाण्डे, सनिस श्रेष्ठ,  देवेन्द्र तामाङ, निशान्त खड्का,  सीमान्त थापा, एरिक बिस्ट, नविन लामा, मणीकुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने, दीपक राजसिंह ठकुरी, आशिष चौधरी, विमल घर्ती मगर थपिएका नयाँ अनुहार हुन्। विमल अघिल्लो संस्करणमा चोटका कारण रेस्टमा थिए।

साफमा यसपाला किरण, दीप, अनन्त, पूजन, अञ्जन, नवयुग, आयुष, मनीष र रोहित, विशालमात्र छन्। अर्थात् २३ मध्ये १३ जना खेलाडी विदेश पुगिसकेका छन् भने बाँकी १० खेलाडीमात्र टिममा छन्।

भारतविरुद्धको साफको फाइनल सुरुवाती ११ मा परेका खेलाडीमध्ये नै पनि दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, तेज तामाङ र सुजल श्रेष्ठ टिममा छैनन्। अर्थात अघिल्लो सिजन साफ च्याम्पियनसिपको फाइनलमा सुरुवाती ११ मा स्थान बनाएका खेलाडीमध्ये ६ जना अनुभवी खेलाडी विदेश पुगिसकेका छन्।

यसले कति असर पार्नेछ टोलीलाई?

खेलाडीलाई सबैभन्दा खाँचो हुने विषय हो प्रतिस्पर्धा। नेपालका खेलाडीहरुको मुख्य कमजोरी भनेको अन्तर्राष्ट्रिय खेलको अभाव हो। यस्तो भिडन्तमा उतार्न एन्फाले ठूलै लगानी गर्नुपर्छ। यसरी नै लगानी गरी अघिल्लो संस्करणमा उतारेका आधा भन्दा बढी खेलाडी नै टोलीमा नहुनु नेपालको लागि दुर्भाग्य हो।

नेपाल टोलीका कप्तान किरणले नेपाली टोली फिलिपिन्स उड्नुअघि नेपाल रहेको समूह चुनौतीपूर्ण रहेको उल्लेख गर्दै टिममा सन्तुलन बनाउन समय नपुगेको बताएका थिए।

‘नयाँ छन् खेलाडी। तयारीको समय छैन। हामीसँग ट्रेनिङ टाइम भएको भए अलि राम्रो अवसर हुनेथियो। तर त्यो छैन’, उनले भने, ‘हाम्रो समूह ग्रुप अफ डेथ देखिन्छ। तर हामी तयार भएर जान्छौँ।' दायित्वहरु बढेपछि खेलाडी विदेशिन बाध्य भएको प्रसंग निकाल्दै उनले पीडा हुने बताए।

'लिग चलिरहँदै पनि कतिपय खेलाडी विदेशिनु भयो। समय परिस्थितिअनुसार दायित्व बढेपछि उहाँहरु जानुभयो,' उनले भने, 'राष्ट्रिय टोलीको खेलाडी बाहिर गएको सुन्ने बित्तिकै टुच्च लाग्छ। लाऽऽऽअ! भनेजस्तो लाग्छ। मनमा पीडा हुन्छ। कोचले फेरि नयाँ टिम बनाउन कोसिस गर्नुहुन्छ। फेरि आशा लाग्छ। फेरि त्यो प्लेयर पनि भोलि जाला कि भनेर डर लाग्छ।'

उनी भन्छन् : नेपाली फुटबलको भविष्य सम्झन्छु। डर लाग्छ। फ्यानहरुले माया गरिरहनु भएको छ। यसले नै मनमा सान्त्वना दिन्छ।

साफको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेनसले पनि नयाँ खेलाडीहरु धेरै भएको बताउँदै चुनौती भएको तर आफूहरु तयार भएको बताएका थिए।

'नयाँ प्लेयर कतिले त डेब्यु पनि गरेको छैन। चुनौती छ। दुईवटा मिडल इस्टको टोलीले गर्दा पनि यो सिजनको साफ बढी प्रतिस्पर्धात्मक हुनेवाला छ,' किरण चेम्जोङले भनेका थिए, ' अहिलेको फुटबलको अवस्था थाह नै छ। नयाँ खेलाडी आइरहेको छ। हामीसँग अलि ट्रेनिङ टाइम भएको भए कम्बिनेसनमा राम्रो हुन सक्थ्यो होला। छैन।'

यद्यपि नेपालले भारत उत्रनुअघि वरीयतामा आफूभन्दा ३८ स्थानमाथि रहेको फिलिपिन्ससँग मैत्रीपूर्ण खेलमार्फत अभ्यास गरेको छ। समग्रमा फिलिपिन्ससँग नेपालको प्रदर्शन औसत थियो। त्यसैले आशा गरौं नेपालको स्थिति 'ग्रुप अप डेथ' मानिए पनि समूहचरणमै 'यङ स्पिरिट' को प्रदर्शनले नेपाली फ्यानको मन जित्नेछ।

साफ च्याम्पियनसिप : पहिलो प्रतिस्पर्धी कुवेतसँग कति कठिन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell