PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोशीमा पनि ढल्यो एमालेको सरकार



अनन्तराज न्यौपाने

कोशीमा पनि ढल्यो एमालेको सरकार

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की विश्वासको मत हासिल गर्न विफल भएका छन्।

शुक्रवार भएको प्रदेश सभाको बैठकमा भएको मतविभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत सिद्ध गर्न नसकेका हुन्।

मतविभाजनमा उनका पक्षमा ४६ सांसद भए। कार्कीलाई बहुमत सिद्ध गर्न ४७ सांसदको साथ चाहिन्छ।

विपक्षमा ४३ सांसद् भए। मतविभाजनमा प्रदेश सभाकाद ९३ मध्ये ८९  सांसद् उपस्थित थिए।

कोशी प्रदेशमा ९३ मध्ये एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको सभामुखसहित १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ।

मुख्यमन्त्री कार्कीलाई सरकारमा सहभागी अर्को दल राप्रपाले विश्वासको मत दिएको थियो। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिएनन्। मतविभाजनका क्रममा जसपाका सांसद् निर्मला तावा लिम्बू अनुपस्थित थिइन्। जसपाले कोशी प्रदेशको मतविभाजनमा तटस्थ रहने निर्णय गरेको छ।

कार्कीले २०७९ पुस २४ मा मुख्यमन्त्रीको नियुक्ति पाएका थिए। जसपाबाट प्रदेश स्वास्थ्य मन्त्री भएकी लिम्बूले गत जेठ १७ मा आफ्नो पदबाट राजिनामा गर्दै कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन्। यसपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको थियो।

जसपाले समर्थन फिर्ता लिएका कारण कार्कीले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत सिद्ध गर्नुपर्ने थियो। जसपाले सरकारको समर्थन फिर्ता लिएको असार १५ गते ३० दिन पुगेको छ।

मतविभाजन पूर्व मुख्यमन्त्री कार्कीले पूर्ण बहुमतको अर्को सरकार बन्न नसक्ने दाबी गरे।

उनले पूर्व मुख्यमन्त्री एवम् नेकपा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई आफू एमालेमा स्वागत गर्न र सँगसँगै हिँड्न तयार रहेको बताए।

बिहीबारको बैठकमा राईले आफूलाई एमालेकाे माया भएको र सपनामा भाषण गर्दा पनि एमाले नै भन्ने गरेको उल्लेख गरेका थिए।

कार्कीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै वेला पारेर भारतले ४/५ वर्षअघिदेखि प्रक्रियामा रहेको मुर्रा भैंसी दिनु र प्रचार गर्नु आवश्यक थिएन भन्ने धारणा प्रकट गरे।

उनले बिहिवारको प्रदेश सभाबाट आफू भागेको होइन भन्ने स्पष्टीकरण दिँदै आफू अहिले पनि सर्वपक्षीय सरकारका पक्षमा भएको स्पष्ट पारे।

कार्कीले आफूले संविधानअनुसार गरिरहेको अभ्यासलाई पनि चोर बाटो भन्ने अनर्गल टिप्पणी गरिएको गुनासो गरे।

उनले गत पुस २५ मा नेपाली कांग्रेसले  प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको उदाहरण दिँदै आफूलाई पनि सहयोग गर्न आग्रह गरे।

कार्कीले हिजोका सबै नमिठा बिर्सेर आफ्ना नेतृत्वमा सर्वपक्षीय सरकार बनाएर राजनीतिक स्थिरता कायम गरौँ भन्ने अनुरोध गरे।

उनले तपाईं ६ महिना मुख्यमन्त्री हुनुस्, म ६ महिना हुन्छु भन्ने कुरा र प्रस्तावलाई पनि आफूले सहर्ष स्वीकार गर्ने बताए।

सत्ताविहीन एमाले, प्रदेशमा यसरी मच्चिँदै छ अस्थिरताको चक्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell