PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

लुम्बिनी प्रदेशसभा संचालन गर्न सरकार र विपक्षी दलबिच सहमति



पहिलोपोस्ट

लुम्बिनी प्रदेशसभा संचालन गर्न सरकार र विपक्षी दलबिच सहमति

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबिच सहमति भएको छ। बजेटमाथि असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो।

बहिष्कारपछि गए राति दुवै पक्षबिच वार्ता भएको थियो। दुवै पक्षबिच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक संचालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक रहेका तुलसी चौधरीले जानकारी दिए।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन्। वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मंगलबार स्थगित प्रदेशसभा आजका लागि बोलाइएको छ। प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको सूचना जारी गरेका छन्। सभामुखको निर्देशनानुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell