PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य पुरस्कार'



पहिलोपोस्ट

रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य पुरस्कार'

काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य' पुरस्कार प्रदान गरिएको छ। दिवंगत साहित्यकार कृष्णप्रसाद पराजुलीको ८९ औं जन्मजयन्तीको अवसरमा शनिवार काठमाडौंको कमलदीस्थित युनिग्लोब स्कुलमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उक्त पुरस्कार सुवेदीलाई हस्तान्तरण गरे।

आयोजक कृष्ण साहित्य सदनका अनुसार सुवेदीलाई नगद १० हजार एक सयसहित सम्मान पत्र प्रदान गरियो। त्यसैगरी सदनले साहित्यकार पराजुलीको 'मनमाया'  महाकाव्यमा शोध गरी स्नातकोत्तर तहमा उत्कृष्ट हुन सफल डिल्ली नेपाललाई पनि सम्मान गरेको छ।

कार्यक्रममा प्राडा कपिल लामिछानेले पुरस्कृत व्यक्ति रामबाबु सुवेदीको परिचय प्रस्तुत गरेका थिए। ७६ वर्षीय रामबाबुले ५ दशकदेखि बाल साहित्यमा निरन्तर योगदान दिएवापत उक्त पुरस्कार प्रदान गरिएको सदनले जनायो।  सुवेदीका घान्द्रुक झलल, पानी पानी, भँगेरी, नेपाल आमा, आमाजस्ती गुरुमा, म हुँ फलाम, बगैँचाकी चरि, सहिदकी छोरी, इलमी र अल्छे, आफ्नै आमा जाती, जूनकिरी लगायतका ४ सय बालसामाग्रीहरु प्रकाशित भइसकेका छन्। पछिल्लोपटक रामबाबु युट्युबमार्फत आफ्ना रचनाहरु पस्किरहेका छन्।

७५ वर्षे ‘माइ डियर’ रामबाबु : ‘एनिमेटेड’ बालगीतमार्फत जोडिँदै नाति पुस्तासँग

को हुन् पराजुली?

कृष्णप्रसाद पराजुली 'राम्रो रचना, मीठो नेपाली' किताबका लेखक हुन्। 'तिमीलाई देखेर आँखा त्यही छोडी हिँडे म' उदितनारायण झाको स्वर र नातिकाजीको संगीतमा रहेको गीतका रचनाकारसमेत रहेका पराजुलीको बालसाहित्यतर्फ ‘रमाइला नानी’ भाग–१, ‘रमाइला नानी’ भाग–२, ‘रमाइला नानी’ भाग– ३, ‘चरी आयो’, ‘सिर्जनाका मुना’ लगायतका बालकवितासङ्ग्रह तथा ‘जूनतारा’ बालगीतिकाव्य र ‘सुनौला तीन कुरा’, ‘चार चङेरी’, ‘लुकामारी’, ‘सुनकेस्रा’, ‘हिमाली डाँफे’, ‘मेरो मुरली’ आदि बालकथासङ्ग्रह प्रकाशित छन्। १९९२ असार २४ मा काभ्रेको भ्रमरकोटमा जन्मिएका पराजुलीको २०७० साल चैत २० गते निधन भएको थियो। उनै साहित्यकार पराजुलीको कृति रमाइला नानीको नाममा पुरस्कार स्थापना गरिएको सदनले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell