अष्ट्रेलिया लेफ्ट आर्म सिमर मिचेल स्टार्कले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो पटक एकै खेलमा ५ विकेट लिँदै विकेट संख्या २४ पुर्याएका छन्।
गएराती न्यूजिल्याण्ड विरुद्धको खेलमा २६ रनमात्र खर्चेर ५ विकेट लिएका स्टार्क यस विश्वकपमा सर्वाधिक विकेट लिनेमा सबैभन्दा अगाडि छन्।
स्टार्कलाई पछि रहेका न्यूजिल्याण्डका लकी फर्गुनको १७ विकेट छ।
स्टार्कले दोस्रो पटक एकै खेलमा ५ विकेट लिएपछि उनले चार वर्षअघि आफैँले एकै विश्वकपमा लिएको २२ विकेटलाई उछिनेका छन्। स्टार्कले यस विश्वकपमा अफगानिस्तान विरुद्ध १, वेष्ट इन्डिज विरुद्ध ५, भारत विरुद्ध १, पाकिस्तान विरुद्ध २, श्रीलंका विरुद्ध ४, बंगलादेश विरुद्ध २, इंग्ल्याण्ड विरुद्ध ४ र न्यूजिल्याण्ड विरुद्ध ५ विकेट लिएका हुन्।
यस्तै स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा उक्लेका छन्। उनले २३ विकेट लिएका श्रीलंकन चामिन्दा भास र मुथैया मुरलीधरन अनी अष्ट्रेलियाकै सन टैटलाई पदछि पारिसकेका छन्। यी तिन खेलाडीले समान २३ विकेट लिएका थिए।
अब स्टार्क आफ्नै राष्ट्रका लेजेण्ड ग्लेन म्याग्राको कीर्तिमान भन्दा २ विकेटले मात्र टाढा छन्। म्याग्राले सन् २००७ को विश्वकपमा २६ विकेट लिएका थिए।
अष्ट्रेलिया यस विश्वकपमा सेमिफाइनल पुगिसकेको छ र लिगमा अझै दक्षिण अफ्रिका विरुद्ध खेल्न बाँकी छ। त्यसैले यस पटक स्टार्कले १२ वर्षे पुरानो कीर्तिमान तोड्ले लगभग निश्चित छ।
अब स्टार्कले २ विकेट लिए कीर्तिमान बराबर हुनेछ भने ३ विकेट लिएमा म्याग्राको कीर्तिमान तोडिनेछ।
आफ्नो दोस्रो विश्वकप खेलिरहेका स्टार्क विश्वकपमै सर्वाधिक विकेट लिनेमा छैटौं स्थानमा उक्लेका छन्। २०१५ मा २२ विकेट लिएका स्टाकर्को विकेट संख्या ४६ पुगेको छ।
उनी पाँचौ स्थानमा रहेका चामिन्दा भास भन्दा ३ विकेटले मात्र पछि छन्। अष्ट्रेलियाकै म्याग्राले सर्वाधिक ७१ विकेट लिएका छन्।