PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आगो निभाउन पुगेको पहिलो दमकलमा पानी कम, दोस्रो दमकलको पाइपै फुटेको



सविन ढकाल

आगो निभाउन पुगेको पहिलो दमकलमा पानी कम, दोस्रो दमकलको पाइपै फुटेको

काठमाडौं : बालुवाटारको व्यस्त चोक नजिकै आगो लाग्दा नेपाल हाउसका संचालक टीका गौतम त्यहीँ थिए। वुधबार मध्यान्न १२:३० को समय। नजिकै नेपाल राष्ट्र बैंक, प्रधानमन्त्रीको र भिआइपीहरुका निवास। मुलुकको केन्द्रमा रहेको यो चोकमा आगो लाग्दा सबैभन्दा छिटो पुगेको दमकल आगो दन्किन सुरु भएको २५ मिनेटपछि मात्रै पुगेको थियो।

'पहिलो पटक आएको दमकल २५ मिनेटपछि आयो तर त्यसमा पानी धेरै थिएन,' गौतमले भने, 'दोस्रो दमकलको नली (पाइप) फुटेको थियो।'

जुद्द बारुण यन्त्र रहेको न्युरोडदेखि आगो लागेको बालुवाटारबीचको दुरी ४ किलोमिटरमात्र हो। नेपाल प्रहरीको मुख्यालय यहाँबाट १ किलोमिटरभित्रकै दुरीमा छ। त्यहाँ पनि स्ट्यान्डबाइ बारुणयन्‍त्र रहेको थियो।

यो पनि हेर्नुस : बालुवाटारमा सुबिसुमा लागेको आगो, भक्तपुरको यति कार्पेटमा जस्तै, स्टोरमा थियो २ हजार लिटर पेट्रोलियम पदार्थ

जुद्द बारुणयन्त्रका अग्नि नियन्त्रक बद्री अधिकारी भने घटनामा १० मिनेटमै पुगेको दावी गर्छन्। उनले भने, 'जानकारी आएको दश मिनेटमै पुगेको हो। हामी पब्लिकको जानकारी आउनेवित्तिकै हिँड्छौं, अरुजस्तो सिडिओ र अन्य निकायलाई जाहेरी गरिरहनु पर्दैन हामीले।'

घना बस्ती र सरकारी आवासहरुसँगै रहेको तथा धेरैतिरबाट बाटो जोडिएको यो ठाउँमा वारुण यन्त्र पुग्न लागेको समय देखेर गौतमलाई ताजुव लागेको छ। भने, 'यस्तो केन्द्रमा ठाउँमा त आगो लाग्दा हालत यस्तो छ, देशका अन्य ठाउँको अवस्था के होला?'

उनका अनुसार चौथो दमकल आएपछिमात्रै आगोलाई नियन्त्रणमा लिन सक्ने स्थिति बन्यो। 'चौथो पटक आएको दमकल सेनाको थियो। त्यसले मात्र राम्रोसँग काम गर्योम,' उनले सुनाए।

चन्डोलका सुशील खड्का पनि आगो लाग्दा त्यही नजिकै थिए। उनले पनि आगो लागेपछि त्यसलाई नियन्त्रणका लागि भएको प्रयासबाट दिक्कार बनाएको रहेछ। 'आगो लाग्नुभन्दा पनि आगो लागेपछि अपनाउनुपर्ने कुरा देख्दा दु:ख लाग्यो,' उनले सुनाए। ढिलो गरी आएका दमकलले राम्ररी काम गर्न नसकेको उनले सुनाए।

फोटोमा हेर्नुस् सुबिसुमा लागेको आगो कसरी लिइयो नियन्त्रणमा

'दमकल दमकल भनेर करायौं तर आएन,' उनले भने, 'आएकाले पनि गतिलोसँग काम गर्न सकेनन्।'

इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आगो लागेपछि धेरैलाई डर थियो, बाक्लो बस्तीमा फैलिने। त्यसमाथि आकाशतिर फैलिएको कालो मुस्लोले बालुवाटारमात्र होइन, धेरैतिरका मानिसलाई अत्याएको थियो।

आगो लाग्दा मनीष श्रेष्ठ पनि त्यहीँ थिए। उनले आगो लागिरहेको स्थितिको भिडियो लाइभ नै गरे। 'मैले भिडियो खिचेर हालेँ,' उनले सुनाए, 'धेरैले मेरो भिडियो देखे तर राज्यले देखेन। यति नजिक ठाउँमा पनि दमकल चाँडै आउन सकेन।'

जुद्द बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र आगो नियन्त्रणका लागि परिचालित गरिएको थियो। पछि दर्जन भन्दा बढी दमकलले साइरन बजाउँदै बालुवाटार पुगेपनि तिनको परिचालन शैली उदेक लाग्दो थियो।

आगो लागिरहेको ठाउँमा दमकल सहित पुगेकाहरु 'तँ जान न तँ' भन्दै पन्छिरहेको देखियो। उनीहरु जोखिम मोल्न तर्सिरहेका थिए। आगो नियन्त्रणमा नेपाली सेना पुगेपछि भने केही सहज बनेको थियो।

यता महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले प्रहरी सुचना पाएलगत्तै घटनास्थल पुगेको बताए। उनले सबै सुरक्षा निकाय परिचालन भएको जनाउँदै पहिलो प्राथमिकता आगोलाई नियन्त्रणमा लिनु रहेको र त्यसै अनुसार काम भएको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell