काठमाडौं: प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसले २१ गते निर्वाचन गर्ने भएको छ।
दलको नेता चयनका लागि उम्मेदवारी दर्ता भने २० गते हुने संसदीय दल नेता चयन कार्यदलका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।
कार्यदलको आज बसेको बैठकले १८ गतेको बैठकपछि निर्वाचनको अन्तिम कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको श्रेष्ठले बताए। 'दलको नेता चयनका लागि निर्वाचन तालिका १८ गतेको वैठकपछि सार्वजनिक हुन्छ। चुनाव २१ गते हुने भएकोले उम्मेदवारी दर्ता २० गते नै हुन्छ होला,' श्रेष्ठले भने।
कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले संसदीय दलको नेता चयनका लागि श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे कार्यसमिति बनाएको थियो।
संसदीय दलमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए आफू संसदीय दलको नेता बन्ने बताउँदै आएका छन्।
सम्बन्धित समाचार
कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रकृयाका लागि कार्यदल
कांग्रेसको अवस्था नै दयनीय छ, संसदीय दलको नेताका लागि के चुनाव लड्नु : शशांक