PahiloPost

May 14, 2024 | १ जेठ २०८१

इन्डो प्यासिफिकबारे संसदमा रक्षामन्त्री पोखरेलको जवाफ, अमेरिकी रक्षा प्रतिवेदनबारे मौन



विधुर ढकाल

इन्डो प्यासिफिकबारे संसदमा रक्षामन्त्री पोखरेलको जवाफ, अमेरिकी रक्षा प्रतिवेदनबारे मौन

काठमाडौं: यही असार २ गते सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का संसदीय दलका सचेतक देव गुरुङले संसदमा कुरा उठाए, 'नेपालमा शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा र इन्डो प्यासिफिक स्ट्राटेजीबारे।'

उनले पटक पटक नेपालमा अमेरिकी सेनाको ठूलो शक्ति इन्डो प्यासिफिक कमाण्डको संयुक्त अभ्यास तथा गोष्ठी सेमिनारको विषयमा संसदबाट कुरा उठाउँदै आएका छन्।

गुरुङले सरकारको परराष्ट्र नीति, सुरक्षा नीति प्रति प्रश्न उठाउँदै सरोकारवाला मन्त्रालयका मन्त्रीहरु असक्षमतालाई उदांगो पारिदिएका थिए।

'शक्ति राष्ट्रहरुको प्रतिस्पर्धाले नेपाली भूमिमा दुरुपयोग गरेर मित्र राष्ट्रविरुद्ध प्रयोग गर्ने किसिमको इन्डो प्यासिफिक रणनीतिको योजना जुन ढंगले अगाडि आइरहेको छ। सैन्य गठबन्धनको योजना आइरहेको छ,' सोमबारको संसद बैठकमा उनले भनेका थिए, 'विगतमा हामीलाई थाहा छ, सोभियत संघलाई ध्वस्त गर्न जसरी नाटो प्रयोग गरिएको थियो। त्यस्तै गरी एसियाको सभ्यतालाई ध्वस्त गर्नका लागि इन्डो प्यासिफिक स्ट्राटेजीको सैन्य गठबन्धनको प्रक्रियालाई अगाडि बढेको छ। यसविरुद्ध हामी दृढतापूर्वक ढंगले उभिनुपर्छ।'

प्रत्येक महिना अमेरिकी अधिकारीहरु आएर पटक पटक इन्डो प्यासिफिकमा प्रवेश गर्नुपर्‍यो भनेर दबाब दिइरहँदा नेपालले प्रतिवाद गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे। 'उनीहरु आएर प्रत्येक नेताहरुको घरघरमा गएर दबाव दिइरहेका छन्। यो हैसियत उनीहरुले कहाँबाट पाए?' गुरुङले प्रश्न गर्दै अगाडि भने, 'यो गठबन्धनमा गयौँ भने नेपालको स्वाधिनताको प्रश्न गम्भीर संकटमा पर्ने छ।'

संसदमा पटक पटक इन्डो प्यासिफिक स्ट्राटेजीको चर्चा उठेपछि मंगलबार संसद बैठकमा उभिए उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल। उनले नेपाली सेना संविधानको मर्म र भावनाअनुरुप नेपाली सेना परिचालित हुँदै आएको भन्दै प्रष्टीकरण दिए।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत  रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँन रोस्ट्रममा उभिँदै गर्दा उनले इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपालको सहभागिता नभएको स्पष्ट पारे। उनले

सैनिक कूटनीतिक सम्बन्ध विस्तार, पेशागत दक्षता र क्षमता अभिवृद्धिका साथै शान्ति स्थापना र विपद् व्यवस्थापनामा क्षमता बढाउने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय सैन्य तालिम र अभ्यास गर्दै आएको दाबी गरे। 'यसखाले प्रशिक्षण विशुद्ध सेनाको क्षमता अभिवृद्धि र पेशागत व्यावसायिक सुदृढीकरणका सिलसिला हुन्,' उनको दाबी थियो।

नेपाली सेनाले भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतका सेनासँग पेशागत क्षमता बढाउने, सहकार्य गर्ने, ज्ञान आदान–प्रदान र पारस्परिक क्षमता बढाउने सिलसिलामा यस्ता अभ्यास हुने गरेको बताए।

उनले संसदमा इन्डो प्यासिफिक स्ट्राटेजीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिँदै भने, 'बिगतदेखि नै यो अभ्यास हुँदै आएको छ। यो कुनै देश वा मिसनविरुद्ध लक्षित नभइ विशुद्ध नेपाली सेनाको व्यवसायिकता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित छ। नेपाल कुनै पनि सैन्य गुट उपगुटमा सहभागी नभई नेपाली सेना र अन्य देशका सेनाबीच क्षमता अभिवृद्धि तथा ज्ञान सीप आदान प्रदान गर्नका लागि मित्र राष्ट्रहरु भारत चीन बेलायत अमेरिकासँग द्विपक्षीय तथा वहुपक्षीय सैनिक तालिम तथा अभ्यास र सहयोगलाई निरन्तरता दिँदै आइएको छ।'

शक्ति मुलुकसँग कस्तो सम्बन्ध राख्ने भन्ने सन्दर्भमा नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय सुरक्षा नीति तथा निकट भविष्यमा जारी गरिने राष्ट्रिय प्रतिरक्षा नीतिमा व्यवस्था भएका राष्ट्रिय हितका आधारहरुमा हुने रक्षामन्त्री पोखरेलले स्पष्ट पारे।

संविधानमा उल्लेख भएको स्वतन्त्र परराष्ट्र नीतिको सिद्धान्तमा अडिएर विभिन्न मुलुकहरुसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको भन्दै स्पष्ट पारे, 'जसको एक मात्र उद्देश्य नेपाली सेनालाई आधुनिक सैन्य प्रविधि र कौशलसँग परिचय गराई उसको व्यवसायीक दक्षतालाई अभिवृद्धि गर्नु हो।

उनले चैतमा नेपालको सुरक्षा नीति बनाएको भन्दै २०७३ सालमा बनेको सुरक्षा नीतिलाई अध्यावधिक गर्न आवश्यक देखिएकोले सुरक्षा नीति अध्यावधिक गरिएको छ। सरोकारवाला निकायसँग राय सुझाब लिएर सुरक्षा नीति बनाइएको दाबी गरे।

अमेरिकी रक्षा मन्त्रालय र इन्डो प्यासिफिक कमाण्डको सक्रियताबारे मौन

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाल शक्ति राष्ट्रको सैन्य गुटमा नपर्ने सपष्टिकरण दिँदै गर्दा अमेरिकी रक्षा मन्त्रालयको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्टबारे भने बोलेनन्। संसदमा अमेरिकी रक्षामन्त्रालयले जारी गरेको वार्षिक प्रतिवेदनको विषयमा पटक पटक सांसदहरुले सरकारको सपष्ट धारणा माग गर्दै आएका थिए।

जुन १ मा मात्र अमेरिकी रक्षा मन्त्रालयले इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट सार्वजनिक गरेको थियो। एक लाख २८ हजार अमेरिकी डलर खर्च गरेर तयार पारिएको रिपोर्टको परिचय खण्डमै नेपाल समावेश छ। यस विषयमा रक्षामन्त्री मौन रहँदै कुटनीतिक विषयमा परराष्ट्रले जानकारी दिने भन्दै उम्किए।

रिपोर्टमा यस क्षेत्रले विश्वका ठूला अर्थतन्त्रहरु संयुक्त राज्य, चीन र जापानसँगै विश्वका छ तीब्र आर्थिक वृद्धिदर भएका देशहरु भारत, कम्बोडिया, लाओस, बर्मा, नेपाल र फिलिपिन्सलाई समेट्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनको 'क्षेत्रीय उद्देश्य प्राप्तिका लागि अमेरिकी प्रभुत्वको मजबुती' खण्डमा नेपालसँग पनि रक्षा साझेदारीलाई अगाडि बढाएको उल्लेख छ। 'दक्षिण एसियामा हामी भारतसँग मुख्य रक्षा साझेदारीमा काम गरिरहेका छौँ। त्यस्तै श्रीलंका, मालदिभ्स, बंगलादेश र नेपालसँगको रक्षा साझेदारीलाई बढाउँदै लगेका छौँ,' प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा आफ्ना साझेदारहरुसँग राष्ट्रिय सुरक्षा रणनीति अनुरुप साझेदारी गरिरहेको उल्लेख छ। नेपालसहित दक्षिण एसियाका पाँच मुलुकसँग हिन्द प्रशान्त (इन्डो प्यासिफिक) रणनीतिअन्तर्गत रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको अमेरिकाले नेपालसँग हाइ एबिलिटी/डिजास्टर रिकभरी (प्राकृतिक प्रकोप मानवीय सहायता), शान्ति स्थापना सहकार्यक, रक्षा व्यवसायिकता, स्थल सैन्य क्षमता अभिवृद्धि तथा प्रति आतंकवादको क्षेत्रमा रक्षा साझेदारी बढाउन चाहेको जनाएको छ।

प्रतिवेदनमा दुई देशबीच रक्षा साझेदारी बढ्दै गएको कुरालाई २०१८ मा अमेरिकी सेनाको प्यासिफिक लिड ल्याण्डफोर्स टक नेपालमा हुनुले पुष्टि गर्नेसमेत उल्लेख छ। त्यस्तै नेपालमा भएको युएस इन्डो प्यासिफिक कमाण्डका कमाण्डर र रक्षा उपराज्यमन्त्रीको भ्रमणले पनि रक्षा साझेदारी बढ्दै गएको देखाउने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा नेपाललाई इन्डो प्यासिफिकमा २०१९ मा जोडिएको राष्ट्रको रुपमा राखिएको छ। १९९३ बाट अमेरिकाले युरोपेली मुलुकबाट सुरु गरेको रक्षा साझेदारी पछिल्लो समय ८६ देशसँग भएको र १२ देश इन्डो प्यासिफिक क्षेत्रका रहेको प्रतिवेदनमा भनिएको छ। २०१९ मा नेपालसँगै श्रीलंकलाई पनि यो साझेदारीमा जोडिएको उल्लेख छ।

त्यस्तै इन्डो प्यासिफिक कमाण्ड र अमेरिकी विदेश मन्त्रालयले ग्लोबल पिस अप्रेसन इनिसियटिभलाई मजबुद् बनाउन नेपालसँगै इन्डो प्यासिफिकका १२ साझेदारसँग मिलेर काम गर्ने प्रतिवेदनमा उल्लेख छ।

त्यति मात्र होइन् पछिल्लो समय अमेरिकी सेनाको ठूलो हिस्सा इन्डो प्यासिफिक कमाण्डको नेपालमा सक्रियताको बारेमा पनि उनी बोलेनन्। उनले संयुक्त सैन्य अभ्यास हुँदै आएको विषयमा उल्लेख गरे पनि अमेरिकी दूतावास काठमाडौंमा रहेको अपिस अफ डिफेन्स कोअप्रेसन मार्फत अमेरिकी सेनाको कमाण्डर इन चिफ, प्यासिफिकको सक्रियताको विषयमा बोलेनन्।

२०१९ को सुरुवातमै इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्माइरल फिलिप एस डेभिडसन नेपालको भ्रमण गरेका थिए।

उनको भ्रमण र अमेरिकी सेना इन्डो प्यासिफिक कमाण्डबीच हुने सम्बन्धका विषयमा क्षमता अभिवृद्धिमा केन्द्रित भन्दै उम्किए।

हुन त युएस इन्डो प्यासिफिक कमाण्डको नेपालमा सक्रियता नयाँ भने होइन्। हरेक वर्ष इन्डो प्यासिफिक कम र नेपाली सेनाबीच विभिन्न विषयमा संयुक्त अभ्यास तथा कार्यक्रमहरु हुँदै आएका छन्।

यस कमाण्डका प्रमुख तथा अधिकारीहरु हरेक वर्ष जस्तो नेपाल आइरहेका छन्। नेपाललाई यस क्षेत्रको रणनीतिक महत्त्वको रुपमा लिएको इन्डो प्यासिफिक कमका कमाण्डिङ जनरल रोवर्ट बी ब्रोनले एक वर्ष अगाडि नेपालको भ्रमण गरेका थिए।

त्यस्तै, अमेरिकी सेनाको युएसआर प्याकको टोलीसमेत नेपाल भ्रमणमा आएको थियो। गत जेठमा नेपाली सेना र अमेरिकी सेनाबीच पहिलो पटक ल्याण्ड फोर्स टक भएको थियो। अमेरिकी सेनाको मेजर जनरल रोजर जे नोबल नेतृत्वको टोली नेपाल आएको थियो। उनको नेतृत्वमा १७ जना सैन्य अधिकारीहरु सहभागी थिए।

त्यस्तै प्यासिफिक इन्डेभोर–१८ नाम दिइएको यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० राष्ट्रका सैन्य अधिकारीहरु सहभागी थिए। तालिम १० दिनसम्म चलेको थियो। यो तालिम नेपाली सेनाले इन्डो प्यासिफिक कमाण्डको संयोजकत्वमा २०७१ सालमा समेत सञ्चालन गरेको थियो।

साउनमा भएको यो तालिमको संसदभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचेक देव गुरुङसहितका सांसदहरुले विरोध गरेका थिए।

त्यस्तै भदौमै नेपाली सेना र इन्डो प्यासिफिक कमाण्डको गुप्तचरी निकायको आयोजनामा एसिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुका उच्च सैनिक अधिकारीहरुको सहभागितामा एसिया प्यासिफिक गुप्तचर प्रमुखहरुको भेला सम्पन्न भयो। रक्षामन्त्रीले उल्लेख गरेका सैन्य अभ्यास भन्दा नेपाली सेना र इन्डो प्यासिफिक कमाण्डबीच अभ्यास र गोष्ठी हुँदै आएका छन्।

यसबीच अमेरिकी अमेरिकी रक्षा उपराज्यमन्त्री डा जोय फ्लेटरले नेपालको भ्रमण गरे। उनको भेटमा समेत इन्डो प्यासिफिक स्ट्राटेजीको विषयमा कुरा उठाइएको थियो। उनले नेपालमा आएर दिएको अभिव्यक्तिको विरोधमा अमेरिकी राजदूत होउ यान्छीले सार्वजनिक रुपमा आलोचना गरेकी थिइन्

नेता देव गुरुङले आइतबारको बैठक अमेरिकी अधिकारीहरु नेपाल आएर नेताहरुको घरघरमा पुगेर दबाव दिइरहेको भन्दै यो अधिकार उनीहरुलाई कसले दियो भन्दै प्रश्न उठाएका थिए। तर, यसको जवाफ पनि उपप्रधान तथा रक्षामन्त्रीले दिएनन्।

सम्बन्धित समाचार

के हो अमेरिकी इन्डो प्यासिफिक रणनीति? के हो इन्डो प्यासिफिक कमाण्ड?

चीनतिर ढल्किँदो नेपाललाई 'इन्डो प्यासिफिक स्ट्राटेजी'तिर तान्दै अमेरिका

'के हो इन्डो प्यासिफिक स्ट्राटेजी?' नेपालको संलग्नताबारे जवाफ खोज्दै सांसद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell