PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गुठी विधेयकविरुद्ध विरोध जारी : सरकारलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली



सहयोग रञ्जित

गुठी विधेयकविरुद्ध विरोध जारी : सरकारलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली

काठमाडौँ: गुठी विधेयकको विरोध गरिरहेका आन्दोलनरत पक्षको अगुवाईमा आज बृहत मोटरसाइकल र्‍याली गरिएको छ।

सरकारले राष्ट्रिय सभाबाट ‍औपचारिक रुपमा गुठी विधेयक फिर्ता लिइसके पनि फेरि षड्यन्त्र गरेर उस्तै विधेयक ल्याउन सक्ने भन्दै सरोकारवालाहरुले खबरदारी गर्न र्‍याली आयोजना गरेको जनाएको छ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नेतृत्वमा मोटर साइकल र्‍याली निकालिएको हो।

काठमाडौंको इन्द्रचोकबाट सुरु भएको र्‍याली असन, दरबारमार्ग, गौशाला, कोटेश्वर, थिमी, ब्यासी, कमलविनायक, दत्तात्रय, न्यातापोल, सिद्धपोखरी, सल्लाघारी, कोटेश्वर, ग्वार्को ,मंगलवजार, थापाथली, कालीमाटी हुँदै कीर्तिपुर पुगेर समापन भएको थियो।

बाइक र्‍यालीमा स्वस्फूर्त रुपमा करिब ८०० भन्दा बढी मोटर साइकल सहभागी भएको आयोजकले जनायो।

नेवा: देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सरकारले सरोकालवालाहरुसँग छलफल गरेर नयाँ पूर्ण विधेयक तर्जुमा गरी संसदबाट पारित नभएसम्म खबरदारी आन्दोलन निरन्तर जारी रहने बताए।

यस्तै, संयुक्त संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले सरकारले गुठीमाथि आक्रमण गरेर नेवारहरुको पहिचानमाथि नै आक्रमण गरेको भन्दै अबको आन्दोलन पहिचान स्थापित गर्न भएको  बताए। आज तीन जिल्लामा भएको र्‍याली खबरदारी स्वरुप भएको भन्दै फेरि सरकारले पहिचानमाथि आक्रमण गरे सशक्त आन्दोलन गर्ने बताए।

गुठीयारको अधिकार स्वत: समाप्त हुने र नीजि गुठीलाई सार्वजनिक गर्ने लगायतका प्रावधानसहित सरकारले राष्ट्रियसभामा विधेयक दर्ता गराएको थियो। तर, काठमाडौं उपत्यकाका साथै अन्य जिल्लाहरुबाट विधेयकको विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएको थियो।

सरकारले मंगलवार विधेयक फिर्ता लिएपछि गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्राचीन नेपालमण्डलका रैथाने नेवारहरूको गुठी परम्परागत प्रथाजन्य एक लोकतान्त्रिक संस्था भएको स्मरण गराउँदै गुठी धर्म संस्कृतिसँग मात्र सम्बन्धित नभई जीवन पद्धति र आदिवासी नेवारहरूको सांस्कृतिक सम्पदा पनि रहेको बताएका थिए।

यस्ता रैथाने प्रथाजन्य संस्थाहरूको स्वायत्तताको रक्षा हुनु पर्ने मान्यताका आधारमा सरोकारवालाहरूसँग परामर्श एवं पूर्व सहमति गरी आदिवासी समुदायका सम्बन्धमा प्रचलित राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको पूर्णतया पालना गर्नुपर्ने माग आन्दोलनरत पक्षले राखेको थियो।

सम्बन्धित समाचार : गुठी विधेयक राष्ट्रियसभाबाट फिर्तापछि मन्त्री अर्यालको प्रश्न, 'जुन चिज थियो, त्यो छिनेर लग्यो, अब के को खारेज?' 

'निजी गुठीलाई सार्वजनिक गर्दा दाहसंस्कारदेखि भोज गर्न सरकारको अनुमति लिनुपर्ने'

गुठीको विषयले बबण्डर: यसरी परेको छ संस्कृतिमाथि सरकारको कुदृष्टि

गुठी नियन्त्रण गर्न खोज्दा बबुरा भएका थिए बाबुराम भट्टराई : इन्द्रजात्राको त्यो आन्दोलन जसले सत्ता हल्लायो, अहिले त्यसैको झल्को

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell