PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

५०० वर्ष पुरानो क्वथुननी बचाउन १५ हजारको हस्ताक्षर गुठी संस्थानलाई, कार्यालयमै गुञ्जियो गुठी संस्थान खारेजीको नारा 



सहयोग रञ्जित

५०० वर्ष पुरानो क्वथुननी बचाउन १५ हजारको हस्ताक्षर गुठी संस्थानलाई, कार्यालयमै गुञ्जियो गुठी संस्थान खारेजीको नारा 

काठमाडौं: असनमा रहेको ५०० वर्ष पुरानो ऐतिहासिक अशोक वृक्ष विहार भत्काएर गुठी संस्थानले व्यापारिक कम्पलेक्स बनाउन लागेको भन्दै आज गुठी संस्थान घेराउ गरिएको छ।

असनवासी र सम्पदा अभियन्ताहरुका साथमा असनबाट सुरु भएको र्‍याली इन्द्रचोक , जुद्धशालिक, खिचापोखरी, धरहरा, त्रिपुरेश्वर हुँदै गुठी संस्थानको केन्द्रीय कार्यालयमा पुगेको थियो। अभियन्ताहरुले करिब आधा घण्टा गुठी संस्थान घेराउ गर्दै गुठीले सम्पदा संरक्षण गर्न नसकेको र सम्पदालाई व्यापारका लागि भाडामा दिएको भन्दै संस्थान खारेज हुनुपर्ने नारा लगाएका थिए।

यस्तै, क्वथुननी बचाउ अभियानको आयोजनामा क्वथुननी बचाउन भनी गरिएको हस्ताक्षरसमेत गुठी संस्थानलाई बुझाइएको छ।

अभियानका संयोजक नमस्ते सायमिले संस्थानका प्रशासक नारायण चौधरीलाई संकलित १५ हजार हस्ताक्षर बुझाएका थिए। जनतालाई ऐतिहासिक क्वथुननीबारे जानकारी दिन र यस्ता सम्पदाहरुको संरक्षण गर्न जनदबाव सिर्जना गर्न हस्ताक्षर अभियान संचालन गरिएको उल्लेख गर्दै उनले विदेशीहरुले पनि क्वथुननी बचाउनपर्छ भनेर हस्ताक्षर गरेको बताए।

यस्तै उनले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले साउन ५ गते सूचनाको हकको प्रयोग गर्दै गुठीको स्वामित्वमा रहेको जग्गाका साथै गुठी संस्थानको भूमिका रहेको जात्रा पर्वको तथ्यांक उपलब्ध गराउन गरेको माग पूरा नभएकोले कानूनसम्मत रुपमा सो तथ्यांक सार्वजनिक गर्न माग गरे।  

क्वथुननीमा पुरातात्विक महत्वको 'चि बहा:द्य:' (चैत्य) र ५०० वर्ष पुरानो अशोक वृक्ष विहार रहेको छ। विहारमा रहेको क्वा: पा द्य: (अभिताभ बुद्ध) को मूर्ति रहेको छ। उक्त विहारमा प्रत्येक वर्ष हुने गुँला पर्वमा विशेष पूजा हुन्छ। विहारमा पञ्चदान आयोजना गरिन्छ। गुठीको कम्प्लेक्स मोहले विहारको सांस्कृतिक पर्व नै रोकिने डर स्थानीयलाई रहेको छ।

घेराउ कार्यक्रममा सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठले गुठी विधेयकको विरुद्ध असार ४ गते माइतीघरमा ओर्लिएको विशाल जनसागरलाई सम्झँदै भने,'यहाँ हामी नीजि घर बचाउन आएका होइनौं। हाम्रो सम्पदा बचाउन आएका हौं। यदि गुठी संस्थानले जनताको मतको कदर नगरी कम्प्लेक्स बनाउन खोज्छ भने फेरि हामी सडक संघर्षमा उत्रन बाध्य हुनेछौं।'

गुण्डा नाइके राजु गोर्खालीलाई गुठी संस्थानले काठमाडौंको केन्द्र असनमा टावर बनाउन स्वीकृति दिएको आरोप लगाउँदै नेवा राजनीतिक अभियानका रविन्द्र श्रेष्ठले गुठीले सम्पदा संरक्षणको सट्टा सम्पदालाई विनाश गर्न खोजेको आरोप लगाए।

गुठी संस्थानअन्तर्गत 'श्री ५ को वायु देवता गुठी'को नाममा रहेको उक्त जग्गामा ११ परिवारले पसल संचालन गर्दै आएका छन्। ३ परिवारका १५ जना सोही घरमा बस्दै आएका पनि छन्। व्यापार र बसोवास गरेवापत उनीहरुले गुठी संस्थानलाई पहिलेदेखि नै भाडा तिर्दै आएका थिए। गुठी संस्थानले उनीहरुसँग २०७० साल फागुनमा घरवहाल कर बुझाउने गरी करार सहमति गरेको थियो। 'सन्तान दर सन्तान' बस्दै आएकाहरुसँग प्रत्येक ५ वर्षमा बहाल पुनरावलोकन गर्ने र कम्तीमा ५ प्रतिशत बहाल बृद्धि गर्ने सहमति भएको थियो।

तर, भूकम्पले घर भत्किएको भन्दै करार अवधि बाँकी रहँदा (२०७४ मा) गुठी संस्थानले बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्राइभेट लिमिटेड कम्पनीलाई घरको पुनर्निर्माण र त्यहाँ व्यवसायिक क्रियाकलाप गर्न २७ वर्षका लागि वहाल करार सम्झौता गरेको थियो।

स्थानीय नेवारहरुको बाहुल्य रहेको क्वथुननी र अमिताभ बुद्ध रहेको स्थानमा व्यापारिक प्रायोजनका लागि उपयोग गर्न दिने गर्ने गुठीको निर्णयविरुद्ध स्थानीयहरुले महिनौंदेखि प्रदर्शन गर्दै आएका छन्।

स्थानीयहरुको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र विपक्षी नेपाली कांग्रेसका नेताहरुले समेत समर्थन जनाएका छन्। सत्तारुढ सांसद्हरु रामवीर मानन्धर र जीवनराम श्रेष्ठ भूमिसुधार मन्त्री पद्मकुमारी अर्याललाई ज्ञापन पत्रसमेत बुझाएका थिए।

क्वथुननी बचाउ अभियानले भने गुठी संस्थानले क्वथुननीमा व्यापारिक कम्पलेक्स बनाउने निर्णय रद्द नगरेसम्म खबरदारी गरिरहेने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell