PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

जीवित देव गणेश र भैरव छनोट प्रक्रिया शुरु, कहिले बन्ला स्थायी आवास?



सहयोग रञ्जित

जीवित देव गणेश र भैरव छनोट प्रक्रिया शुरु, कहिले बन्ला स्थायी आवास?
गणेश(बायाँ), कुमारी र भैरव(दायाँ)

नयाँ जीवित देव गणेश र भैरवको छनोट प्रक्रिया शुरु भएको छ। हाल जीवित देव गणेशका रुपमा समवेग शाक्य र भैरवका रुपमा रुजन शाक्य छन्। दुबैजना १४ वर्ष पुगिसके। जीवित देवहरु किशोर अवस्थामा प्रवेश गर्ने संघारमा रहेकाले गुठी संस्थानमा बुधवार नयाँ गणेश र भैरव छनोट गर्न बनेको कार्यदलको बैठक बसेको थियो।

उमेर नघिसकेकाले गणेश र भैरव परिवर्तन गर्न गुठी संस्‍थानको बैठकले शाक्य महाविहार संघलाई नयाँ गणेश र भैरव छनोट गरेर असोज १४ गतेभित्र सिफारिस गर्न अधिकार दियो। यससँगै ‍औपचारिक रुपमा यसै वर्षको दशैंमा नयाँ गणेश र भैरव छनोट गर्ने गरी कार्य शुरु भयो। प्रक्रिया खुलेसँगै ३ देखि ५ वर्षका बालकलाई गणेश र भैरव बनाउन इच्छुक शाक्य महाविहार संघका शाक्य खलक परिवारले निवेदन दिन सक्नेछन्। सिफारिसमा परेका बालकहरुलाई छनोट गरिए अर्को वर्षको येँया: (इन्द्रजात्रा) मा नयाँ गणेश र भैरवले रथ यात्रा गर्नेछन्।

तलेजुका पूजारी उद्धव कर्माचार्य वर्तमान गणेश र भैरव निकै ठूलो भएकाले यसपटक परिवर्तन गर्न प्रक्रिया शुरु गरेको बताउँछन्। गुठी संस्थानलाई पहिलेदेखि नै यसबारे जानकारी गराएता पनि कुनै चासो नदिएकाले यसपटक छिटोछिटो प्रक्रिया शुरु गरिएको उल्लेख गर्दै उनले भने,'वर्तमान गणेश र भैरव किशोर अवस्थामा प्रवेश गर्दैछन्। यसकारण उनीहरु निकै ठूलो भयो भनेर प्रश्न उठाइरहेका छन्। गुठीले त्यो कुरा पहिले मनन् नै गरेन।'

श्री भैरव

राष्ट्रले बालकलाई देवताको रुपमा पूज्दै आएकोले हालका गणेश र भैरव निकै ठूला भएकाले समयको मागअनुसार नै परिवर्तनको प्रक्रिया शुरु गरिएको उनले बताए। दशैंको शुभ साइतमा गणेश र भैरवको प्रतिस्थापन गर्न मिल्ने उनको तर्क थियो।

यससँगै बुधवार बेलुकी भने यसै वर्षको फूलपातीमा नै जीवित देव गणेश र भैरव परिवर्तन गरी प्रतिस्थापन गर्ने कुराले चर्चा पायो। तर, यति छोटो समयमा नयाँ गणेश र भैरव छनौट गर्न गाह्रो रहेको र मिडियाले फूलपातीमै गणेश र भैरव परिवर्तन हुने भनेर गलत हल्ला फैलाएको बताउँछन् गणेश शाक्य। २०१३ सालमा जीवित गणेश बनेका उनी हाल वर्तमान तथा पूर्व श्री गणेश श्री भैरव संरक्षण समितिका अध्यक्षसमेत रहेका छन्।

बुधवार बसेको बैठकमा शाक्य पनि उपस्थित थिए। भन्छन्,'गणेश र भैरव फेर्ने आफ्नो प्रक्रिया हुन्छ। हिजो छनोट प्रक्रिया अगाडि बढाउने कुरामात्रै भएको थियो। यहाँ त फूलपातीमा नै गणेश र भैरव परिवर्तन हुनेछ भनेर हल्ला फैलाइयो।'

श्री गणेश

शाक्यका अनुसार बैठकबाट नयाँ गणेश र भैरव छनोटका लागि शाक्य महाविहार संघले निर्धारित समयमा कुनै बालकलाई सिफारिस गर्न सुझाव नदिए अर्को वर्षको दशैं (२०७७) सम्म वर्तमान गणेश र भैरव नै बहाली हुनेछ। 

भन्छन्,'गणेश र भैरव महाअष्टमीमा परिवर्तन हुनुपर्नेमा फूलपाती भनेर गलत कुरा बाहिर आयो। छनोट प्रक्रिया शुरु भएता पनि यसै वर्ष नयाँ गणेश र भैरव छनोट हुने सम्भावना कमै रहेको छ। हतारमा छनोट गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौं। उपयुक्त बालक भेटिनु पनि पर्‍यो। एक जना पाउन त गाह्रो छ। बाहिर भने तीन – तीन जना छनोट गरिने भनेर आयो।'

उनका अनुसार पहिला नयाँ कुमारी परिवर्तन हुँदा, राजा परिवर्तन हुँदा राजदरबारबाट तीनै जनाका लागि नयाँ वस्त्रदेखि आवश्यक सामाग्रीहरु आउँथ्यो।  गणेश र भैरव परिवर्तन हुँदा भने परिवर्तन भएका नव श्री गणेश श्री भैरवलाई मात्र आउने गर्थ्यो।त राजतन्त्र सकेपछि त्यो आएको छैन। अहिले नयाँ छनोट हुने गणेश र भैरवका लागि गुठीसँग पुरानै परम्परा लागू गराउन पहल गरिएको छ।

 यो पनि: जीवित देवीमात्र हैन, काठमाडौँमा दुई जिवित देवता पनि छन् जसबारे धेरैलाई थाहै छैन

आवश्यकता स्थायी मन्दिरको

कुमारीको जस्तो गणेश र भैरवको स्थायी ठेगाना छैन। वर्तमान गणेश समवेग न्युरोडमा रहेको मामाघरमा बस्दै आएका छन् भने भैरव भएदेखि समवेग ‌ओमबहालस्थित मञ्जुश्री नक महाविहारको चोकमा रहेको ४ तल्ले साँघुरो घरमा बस्दै आएका छन्।

गणेशका बुवा विश्वप्रकाश शाक्य भैँसेपाटीमा बस्छन्। तर, द्य भाजु (गणेश) लाई खोला पार गरी(पूर्वमा बाग्मती पश्चिममा विष्णुमती) बाहिर राख्न नहुने भएकाले न्युरोडस्थित मामाघरमा राख्नु हाम्रो बाध्यता रहेको बताउँछन्। त्यसैले सरकारले कुमारी झै गणेश र भैरवलाई पनि स्थायी मन्दिर वा आवासको व्यवस्था गरिदिए भावी गणेश र भैरवलाई पनि सहज हुने उनको तर्क छ।

यस्तै, भैरवको परिवार कलंकीमा बस्दै आएको छ। सो क्षेत्र पनि परम्परागत सीमाभन्दा बाहिर रहेकोले भैरव ओमबहालस्थित फुपुको घरमा बस्दै आएका छन्।

इन्द्रजात्रामा रथ यात्रा हेर्न पुगेकाहरु कोहीलाई गणेश र भैरव पनि छन् वा कहाँ बस्छन भन्ने बारे थाहै हुँदैन। स्थायी ठेगाना नहुँदा इच्छा भएको व्यक्तिले पनि पूजा गर्न सक्ने अवस्था छैन।

त्यसैले वर्तमान तथा पूर्व श्री गणेश श्री भैरव संरक्षण समितिका अध्यक्ष गणेश शाक्यको पहलमा धेरै वर्षदेखि गणेश र भैरवको लागि स्थायी आवासको व्यवस्था हुनुपर्ने माग गर्दै राखिँदै आएको छ। तर, कतैबाट पनि उनीहरुको मागको सुनुवाइ भएको छैन।

शाक्य भन्छन्,' कुमारी जस्तै गणेश र भैरव पनि राष्ट्रका देवता हुन्। उनीहरुलाई राष्ट्र प्रमुखदेखि सबैले पूजा गर्छन्। तर उनीहरुको स्थायी घर नहुँदा गणेश र भैरव ओझेलमा परे।'

इन्द्रजात्रामा गणेश र भैरवलाई देख्दा कुमारी भनेर सोच्ने जमात भएको भन्दै शाक्य गणेश र भैरवलाई ओझेलबाट मुक्त बनाउन स्थायी बसोवासको आवश्यक्ता रहेको बताउँछन्।

भने, 'कुमारी परिवर्तन हुँदा राजदरबारबाट पूजा आउँथ्यो त्यो अहिले सबै रोकियो। कुमारीघरमा गएर गणेश र भैरवको पूजा गर्छु भन्ने पनि छन्। तर स्थायी ठेगाना नहुँदा भक्तजनहरुले गणेश र भैरवको पूजा गर्न पाएका छैनन्।'

समितिले वसन्तपुरस्थित संस्कृत विश्वविद्यालयको भवनलाई गणेश र भैरवको स्थायी आवास बनाउन माग गरिरहेका छन्। हाल उक्त भवन भूकम्पका कारण जीर्ण बनेको छ। पुननिर्माण गरेर त्यसलाई स्थायी वासस्थान बनाउन सके भक्तजनहरुले गणेश र भैरवलाई पनि सजिलै पूजा गर्न सक्नेछन्।

 गणेश र भैरवका लागि प्रस्तावित भवन (टेको लगाएको )

गणेश र भैरवको स्थायी वासस्थानको कुरा संस्कृति मन्त्रालयसम्म पुगे पनि फाइल अगाडि नबढेको प्रति सरोकारवालाहरु असन्तुष्ट छन्। हाल वर्तमान तथा पूर्व श्री गणेश श्री भैरब संरक्षण समितिले महानगरपालिकासँग नै गणेश र भैरवका लागि स्थायी आवासको बन्दोबस्दका लागि माग गर्ने तयारी गरिरहेको छ।

गणेश भन्छन्,'यो अहिलेको गणेश र भैरवका लागि मात्रै होइन। अब आउन नयाँ गणेश र भैरवका लागि पनि हो। हामी सबैको चाहना भनेको दुई जीवित देव ओझेलमा नपरोस् भन्नु नै हो।'

कसरी छानिन्छन् गणेश र भैरव?

इन्द्रजात्रा लिच्छवी कालदेखि नै मनाइँदै आएको भए पनि कुमारी, गणेश र भैरवको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको बताइन्छ। त्यतिबेला गणेश र भैरवको रथलाई अगाडि पारेर राजा जयप्रकाश स्वयं कुमारीको रथमा बसी यात्रा चलाउने गर्ने गरेको कथन छ।

कुमारी छनोट गर्दा अपनाइने विधिहरु नै गणेश र भैरव छनोट गर्न अपनाइन्छ। तर, कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाएता पनि शाक्य परिवारका छोरा १४ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन्। अवकाश लिने समय नजिकिँदै गर्दा काठमाडौंका शाक्य समुदायबीच आफ्नो छोरालाई गणेश र भैरव बनाउन इच्छुक परिवारलाई आवेदन गर्न लगाइन्छ। तर, गणेश भैरव बन्न केही कडा नियमहरु पनि छन्।

पहिलो, गणेश भैरव बन्ने बालकको बुबा आमा काठमाडौंकै शाक्य हुनुपर्छ। काठमाडौंको पनि १८ शाक्य महाविहारमध्येको परिवारबाट हुनुपर्छ। ती विहार बाहिरका शाक्य परिवारले यसमा सहभागी हुन पाउँदैनन्। काठमाडौं बाहिरका शाक्यसँग बिहे भई जन्मेको छोरा भए ऊ गणेश वा भैरव बन्न पाउँदैन।

दोस्रो, बालकमा कुनै रोग, चोट वा खोट हुन हुँदैन।

बालकहरुको प्राप्त चिना ज्योतिष/जोशी कहाँ पठाइन्छ। उनले बालकको चिना हेरी राज्यको हितमा रहेको नरहेको बुझी उपयुक्त उम्मेदवारको चिना पठाई सिफारिस गरिन्छ। पहिला एक जनामात्र सिफारिस भएमा ऊ स्वतः पदका लागि छनोट हुन्थ्यो। तर, दुई चार जना भए आपसी सल्लाहमा छनोट गर्ने गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell