PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीप्रति आक्रामक बन्दै प्रचण्डको बोली: के प्रधानमन्त्रीको कुर्सीका लागि छट्पटाहट शुरु भएको हो?



कुञ्जरमणि भट्टराई

ओलीप्रति आक्रामक बन्दै प्रचण्डको बोली: के प्रधानमन्त्रीको कुर्सीका लागि छट्पटाहट शुरु भएको हो?

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो बोली दैनिकजसो आक्रामक सुनिन थालेको छ। उनी विभिन्न मञ्चको दौडधुपमा कहिले उलटपुलट हुने अभिव्यक्ति दिन्छन् भने कहिले फेरि आन्दोलन गर्ने इच्छा भएको भनाई राख्छन्।

सरकारका सहयात्रीको बोली फेरिरहँदा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सार्वजनिक कार्यक्रममा पहिले जस्तो उपस्थित हुँदैनन्।

सार्वजनिक कार्यक्रमहरुमा बाक्लै रुपमा दौडधुप गर्न थालेका प्रचण्डका अभियव्यक्तिले कतै प्रचण्डले सत्तासँग बार्गेनिङ त गरिरहेको छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ।

आफ्ना अभिव्यक्तिका कारण विवाद र चर्चामा आउने गरेका प्रचण्ड कहिले कम्युनिस्टहरु पतनको दिशातिर अघि बढेको बताउँछन् त कहिले चिलले झैँ उडान भर्ने चेतावनी दिन्छन्।

यस्ता छन् प्रचण्डका पछिल्ला केही अभिव्यक्ति

राजनीतिले कोल्टे फेर्छ

प्रतिपक्षी दल नेपाली कांग्रेसको चियापान कार्यक्रममा पुगेर प्रचण्डले राजनीतिले कोल्टे फेर्ने बताएका थिए। कार्यक्रममा उनले उनले भनेका थिए, 'हेर्दै जाऊँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ।'

राजनीतिले कोल्टे फेरे पनि कांग्रेससँगको सहयात्रा जारी रहने धारणा उनले राखेका थिए। 'मलाई विश्वास छ, तर पनि हाम्रो सहकार्य जारी रहनेछ। हाम्रो एकता र शान्तिप्रतिको हाम्रो संकल्प जारी रहनेछ। सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढिरहनेछौं,' प्रचण्डले भने।

राजनीतिले कसरी कोल्टे फेर्दैछ भन्ने चाहिँ उनले खुलाएनन्।

बेलैमा उपचार नगरे क्यान्सर लाग्छ

पछिल्ला कार्यक्रममा कम्युनिस्टको सिद्धान्त सम्झन प्रायः छुटाउँदैनन् उनले। कम्युनिस्टका सिद्धान्त सम्झदै आचरण बिग्रिएकोमा चिन्ता जाहेर पनि गरे। गत असोज ३० गते गृह जिल्ला चितवन पुगेर एक चियापान कार्यक्रममा प्रचण्डले नेकपालाई धुलोमैलो लागेको भन्दै चाँडै पखाल्नुपर्ने बताए। उनले नेकपालाई ग्याष्ट्रिक र अल्सर भइसकेकाले बेलैमा उपचार नगरे क्यान्सर लाग्ने बताए।

भने, 'हामीलाई धुलोमैलो लागेको छ। ग्याष्ट्रिक अल्सरसम्म भएको छ, उपचार नै नहुने गरी क्यान्सर भएको छैन। यसको बेलैमा उपचार गरौं। हामी माथि पनि यही कुराको समीक्षा गर्दैछौं।'

फेरि एकपटक आन्दोलन गर्ने इच्छा

अब आन्दोलनको औचित्य सकिएको र विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताउने प्रचण्ड बेलाबेलामा आन्दोलनको चेतावनी दिन भने छाड्दैनन्। चितवनको चियापनमा प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए। आन्दोलनमा जनताको साथ रहने विश्वास पनि व्यक्त गरे।

'हामी त जीवनको उत्तरार्धमा आइसक्यौं। समाजवादको उद्देश्यका निम्ति र यो पार्टीलाई कम्युनिस्ट पार्टी जस्तो बनाउन फेरि एकचोटी आन्दोलन गर्ने इच्छा छ,' उनले भने, 'महान उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि। प्रतिक्रान्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौं।'

सीले अराजक छौ भनेजस्तो लाग्यो

सोही कार्यक्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको माध्यमबाट पार्टीमा गुट सिर्जना भएको र प्रधानमन्त्री ओलीले एकलौटी गरेको घुमाउरो रुपमा असन्तुष्टि पोखेको देखिन्छ।

राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा नेकपा सचिवालय सदस्यहरुसँग सामूहिक भेट गरेका थिए। भेटमा सीले आफ्नो उदाहरण दिँदा ने क पाका नेताहरुलाई अराजक भनेको जस्तो लागेको बताए।

सीले आफ्ना कुरा गर्दा पार्टीमा एउटा निर्णय गर्ने तर कार्यान्वयन गर्दा अर्कै गर्ने भन्दै प्रचण्डले आफ्ना कुण्ठा सी'मार्फत पोखे।

भने, 'चिनियँ राष्ट्रपति सीले आफ्नो कुरा गर्दा ने क पाका नेता कार्यकर्ताहरु अराजक छौ, स्वार्थी छौ, तिमीहरु आफ्नो गुटको अनुशासन मान्छौ।पार्टी अनुशासन मान्दैनौ। पार्टीबाट निर्णय एउटा गर्छौ तर गर्ने बेलामा अर्को गर्छौ। निर्णय गर्दा एउटा उम्मेदवार भन्छौ, जिताउने बेलामा अर्कैलाई जिताउँछौ भन्या जस्तो लाग्यो।'

कांग्रेस र हिजोका निरंकुशतावादी जस्तै भयौं

प्रचण्डले असोज ६ गते नेत्री साहना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा कम्युनिस्टहरुमा कम्युनिस्ट चरित्र नभएको बताए।

‘नाम त कम्युनिस्ट पार्टी नै छ। तर के हामी साँच्चै कम्युनिस्ट जस्तै छौ त? भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौँ, के हामी समाजवादको यात्राको निम्ति एउटा योद्धा जस्तै छौँ त? या विस्तारै कांग्रेस र निरंकुशतावादीजस्ता हुँदै गएका छौँ?' प्रचण्डले भने।

राणाकालका हाकिम बडाहाकिम जस्ता भयौं

प्रचण्डले गत असोज ९ गते रुपन्देहीको तिलोतमामा लगानी सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्रै हुने अनावश्यक टिकाटिप्पणीले कसैलाई हित नगर्ने बताए ।

‘जति नकारात्मक टिप्पणी भएको छ, यसले कसैलाई हित गर्दैन’, प्रचण्डले भने,‘राजनीतिक दल तथा नेताहरुमा सुधार समेत आवश्यक रहेको छ, हामी कम्युनिस्ट बडाहाकिम जस्तै भयौं, हामी पञ्चायतकालीन  हाकिम बडाहाकिम कि अरु भन्नेमै अन्योल छ, त्यसैले बडाहाकिम शैली फेरौं।’

प्रधानमन्त्रीका लागि प्रचण्डको घुर्की

प्रचण्डका पछिल्ला यी अभिव्यक्ति रोचक लाग्ने खालका छन्। केही समय उनी मन्त्रिपरिषद् फेरबदल हुने अभिव्यक्ति दिइरहन्थे। त्यही कारणले होला पछिल्लोपटक पनि केही मन्त्री हेरफेर हुने चर्चा पनि चल्यो। तर, मन्त्रिपरिषद् हेरफेर अहिलेसम्म भएको छैन।

प्रचण्डका पछिल्ला अभिव्यक्तिलाई राजनीतिक विष्लेषकहरुले कसरी लिएका छन् त? यी अभिव्यक्ति खासै नौला नभएको राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन्।

खनाल भन्छन्, 'प्रचण्डका अभिव्यक्ति निरन्तर यस्तै नै हुन्। यसमा नौलो मान्नुपर्ने अवस्था छैन।'

पार्टीलाई क्यान्सर हुन लागेको भन्ने प्रचण्डको अभिव्यक्तिप्रति खनालले भने, 'अल्सर हुनु त पेटको दोष होइन। यदि नेकपालाई अल्सर भएको भए त्यसको जिम्मेवार प्रचण्ड पनि हो। नेकपालाई समस्याग्रस्त बनाएको त नेतृत्वले नै हो। उहाँ नेतृत्वमा हुनुहुन्छ '

यसको जिम्मेवारी आफैंले लिनुपर्नेमा अझै प्रचण्डले दोष अरुलाई नै थोपरी रहेको खनालको भनाइ छ।

'ने क पामा आलोचना सुन्ने प्रवृत्ति छैन। आलोचना गर्नेहरुलाई ने क पाको नेतृत्वले रुचाउँदैन पनि। नेतृत्वबाहेक सरकार र पार्टीका सरोकारका विषयमा पार्टीमा नै छलफल हुनै पाउँदैन। पार्टीका तल्ला तहमा समस्याका कुरा नै पुग्दैनन्,' उनले भने 'अहिले त अझै समस्याहरु प्रधानमन्त्री ओलीका आसेपासेमा मात्रै सीमित हुने गरेको छ। प्रचण्डसँग पुग्न पनि छाडेको छ।'

प्रचण्डका अभिव्यक्ति प्रधानमन्त्री पदका लागि घुमाउरो प्रहार भएको खनालको दाबी रह्यो। भन्छन्, 'प्रचण्डका अभिव्यक्ति घुमारो ढंगबाट प्रधानमन्त्री चाहियो भन्ने हो। प्रधानमन्त्री आफू बन्नका लागि प्रचण्डले ओलीलाई दबाब बनाउन यस्ता अभिव्यक्ति दिएका हुन्।'

प्रधानमन्त्री बन्न सिद्धान्तका कुरा

राजनीतिक विश्लेषक विश्वभक्त दुलाल 'आहुति' पनि साढे दुई वर्षपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमतिका लागि प्रचण्डको छटपटाहट शुरु भएको भएको बताउँछन्।

'प्रचण्डका अभिव्यक्ति दीर्घकालीन देखिँदैन। माहोलअनुसार नै उनी आफ्ना अभिव्यक्ति दिने गर्दछन्। प्रचण्डको प्रवृत्ति लामो समय सत्ताबाट टाढा रहन नसक्ने देखिन्छ,' आहुतिले भने, 'प्रधानमन्त्री ओली झनै शक्तिशाली बन्दै गएकाले तत्काल प्रधानमन्त्री छाड्ने मनस्थितिमा देखिँदैनन्। आलपालो प्रधानमन्त्रीका लागि प्रचण्डले घुर्की दिन सिद्धान्तका कुरा गर्न थालेका हुन्।'

कम्युनिस्ट नेताको व्यवहार स्खलित भएको भन्ने प्रचण्डको भनाइप्रति विश्लेषक आहुतिको टिप्पणी छ, 'उनका पदचाप पछ्याएका नेताहरु राजा महाराजाजस्तो बनेका हुन्। नेताहरुलाई विलासी बन्न त प्रचण्डले नै सिकाए। कम्युनिस्ट भन्नेहरुले त वर्ग संघर्ष गर्नुपर्ने हो नि।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell