PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

अदालतबाट महरालाई लिएर छुटेको प्रहरीको गाडी यसरी छिर्‍यो सदरखोर

अदालतबाट महरालाई लिएर छुटेको प्रहरीको गाडी यसरी छिर्‍यो सदरखोर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट निस्किएका तीन नीलो रङ्का प्रहरी भ्यान त्यहाँबाट एकाएक डिल्लीबजार सदरखोरतिर कुद्यो। नियमित प्रकृयामा अदालतबाट हिरासत अथवा जेलमा प्रहरीका गाडी जानु सामान्य नै हो। तर, आज जिल्ला अदालतबाट निस्किएका तीनमध्ये बीचको गाडीमा थिए - निवर्तमान सभामुख कृष्णबहादुर महरा।

२९ दिन लामो हिरासत र प्रहरी अनुसन्धानपछि जिल्ला अदालतले आज उनलाई पुर्पक्षका लागि थुनामा पठाउने अथवा धरौटीमा रिहा गर्ने दुई सम्भावना थियो। अदालतले आज उनलाई जेलकै बाटो देखायो। बलात्कार प्रकरणमा मुछिएका महरालाई अदालतले जेलको बाट देखाएपछि उनी सांसद पदबाट पनि मुक्त भएका छन्। अदालतबाट बाहिरिँदा रुँदै निस्किएका थिए उनी। अरु दिन शिर ठाडो गरी अदालत धाएका उनी आज भने निहुरिएरै त्यही राखिएको प्रहरीको नीलो गाडीमा उक्लिए। गाडीमा बसेलगत्तै पनि उनी रोएका थिए।

महरालाई अदालत परिसरबाट डिल्लीबजार कारागारसम्म महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी कृष्ण चन्द, प्रहरी निरीक्षक युवराज चौधरीले छोडेका थिए। चौधरी महराका अनुसन्धानकर्ता हुन्।

अदालतबाट गाडी कालिकास्थान हुँदै डिल्लीबजारतिर हुँइकियो र पुग्यो सदरखोर। सदरखोर पुग्दा प्रहरीको गाडीलाई पछ्याउँदै एउटा रातो कार त्यहाँसम्मै पुगेको थियो। महरालाई लिएर गएको गाडीसँगै त्यो रातो कार पनि डिल्लीबजारको सदरखोरभित्र छिर्‍यो।

केही छिनमा प्रहरीका गाडी भने फर्किए। महरा अहिले डिल्ली बजारकै कारागारमा छन्। उनी यसअघि अस्वस्थ भएको भन्दै नर्भिक अस्पतालमा बस्दै आएका थिए। हिरासतका २९ दिनमध्ये २७ दिन त उनी नर्भिकमै रहे। अब कारागारमा रहन्छन् या विरामी भन्दै अस्पतालकै सुविधासम्पन्न रुममा? त्यो चाहि अहिल्यै भनिहाल्न सकिन्न।

सम्बन्धित समाचार 

त्यो कोठामा महराको डेढ घण्टा… 

२९ दिन हिरासतपछि महरालाई जेल चलानको आदेश, डिल्लीबजार कारागार लगिँदै



ट्रेन्डिङ पोस्ट

Ncell