PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्याम, जसको हात राम्रोसँग नचल्दा पनि बस पल्टेको देख्‍नासाथ हेलिए भेलमा



पहिलोपोस्ट

श्याम, जसको हात राम्रोसँग नचल्दा पनि बस पल्टेको देख्‍नासाथ हेलिए भेलमा

  • नेत्र तामाङ/प्रवीण रानाभाट-

सुकुटेस्थित सुनकोशी नदीको बस दुर्घटनामा उद्धारमा सबैभन्दा पहिले पुगेका सोनाम तामाङले लिने पहिलो नाम हो - श्याम दाइ

श्याम दाइकै निर्देशनमा आफूहरु उद्धारको अग्रस्थानमा खटिएको सोनामले सुनाएपछि हामीलाई उनीबारे बुझ्ने रहर जाग्नु स्वभाविक थियो।

'श्याम दाइले चिच्याउँदै हामीलाई दुर्घटनास्थल जान भन्नुभयो,' गएको आइतबार दिउँसोको घटना सम्झँदै सोनामले पहिलोपोस्टसँग भने, 'त्यसपछि उहाँ पनि हामीसँगै उद्धारमा खटिनुभयो।'

को हुन् त उनले भनेका श्याम दाइ?

'सुनकोशी बिचकै म्यानेजर,' सोनामले भने, 'भेटेर कुरा गर्नुस् न।'

सोनाममात्र हैन दुर्घटनास्थल छेवैमा रहेको भण्डारी खाजा घरकी सञ्चालिका रुद्रकुमारी भण्डारी पनि श्यामकै गुनगान गाउँदै थिइन्।

'श्याम भाइहरु नै पहिले पुगेका थिए उद्धारमा,' भण्डारीले भनेकी थिइन्।

 

हात चलेको पत्तै पाइनँ

सोनामसँगको कुराकानीपछि हामी तिनै ‘श्याम दाइ’सँग भेट्न पुग्यौं। उनी रहेछन् - श्याम श्रेष्ठ।

दुर्घटनास्थलमा पहिलो डुंगा खटाउन निर्देशन दिने उनै रहेछन्। श्यामले कसरी थाह पाए त घटनाबारे?

'म पनि रिसोर्टभित्रै थिएँ। नदीमा बस खसेको भनेर फोन आयो,' रिसोर्टभित्रै रहेका म्यानेजर श्रेष्ठले जवाफ फर्काए।

रिसोर्टमा ग्राहकसँग डिल गर्दै गरेका उनी कुरा छोट्याउँदै हामीसँगै सुनकोशी बगरमा ओर्ले।

'यही बगरमा आइपुगेर हेरेको। बस पल्टेको रहेछ,' किनारामा तानिएको दुर्घटनाग्रस्त बसतिर देखाउँदै उनले भने, 'टायरमात्र देखेँ। अनि म त माथि रिसोर्टतिर हेरेर कराइहालेँ।'

तुरुन्तै र्‍याफ्टिङ जान्ने तीन जना जम्मा भइहाले - सोनाम तामाङ, लक्ष्मण गुरुङ र राजकुमार श्रेष्ठ। लगत्तै तीन जनाले तानेर ल्याए डुंगा।

डुंगा तान्न भने अघि बढ्न सकेनछन् श्रेष्ठ।

'मेरो राइट ह्यान्ड चल्दैन। नचल्ने भन्नले ठ्याक्कै नचल्ने त हैन। माथि ल्याउन मिल्दैन। तर त्यतिबेला मजाले चलेछ,' दाहिने हात माथितिर उचाल्न खोज्दै उनले भने। कुराकानीकै क्रममा हात माथि उठाउन खोजे पनि हात माथि उठाउन सकिरहेका थिएनन्। 

डुंगा बगरमा आइपुगेपछि उनी आफैँ डुंगामा बसे। साथमा थियो लाइफ ज्याकेट र प्याडल।

भने, 'लाइफ ज्याकेट र प्याडल बोकेर म तल आएँ। १० वर्ष त र्‍याफ्टिङ गरेको हो नि भन्ने सम्झेँ। त्यसपछि डुंगा चढेर प्याडल चलाउन थालिहालेँ।'

र्‍याफ्टिङमा प्याडल चलाउनुपर्छ। त्यसमा त हात राम्रोसँग चल्नैपर्छ। उद्धारको समयमा राम्रोसँग नचल्ने हातबारे यादै नभएको उनले सुनाए। भने, 'मलाई त त्यो हातको कुरा सम्झनै आएन। एक्सिडेन्ट भयो। कसरी उद्धारमा दौडने भन्ने कुरामात्र ध्यान आयो।'

दुई वर्षअघि मोटरसाइकल दुर्घटनाका कारण हात राम्रोसँग चलाउन नसक्ने भएका रहेछन् श्याम।

दुर्घटनाको विषय जोडिएपछि भावुक भए उनी। साच्चै श्यामको स्वर केहीबेर भाँसियो। पुरानै लयमा फर्कन उनलाई केही समय लाग्यो।

घटनास्थल पुगेपछि सबैभन्दा पहिले त आफै सुरक्षित हुन सक्नुपर्ने र त्यसपछिमात्र अरुको उद्धार गर्न सकिने उनले बताइरहँदा यसबारे उनको अनुभव आफैँ सार्वजनिक भइरहेको थियो।

श्रेष्ठले भने, 'म आफैँ पनि अलि कमजोर भएकाले आफू पहिले बच्ने उपाय सोचेँ। आफू बचेपछिमात्र अरुलाई बचाउन सकिन्छ। त्यसैले म पूर्ण सुरक्षाका साथ गएँ। अनि उद्धारमा खटिएँ।'

पहिलो र्‍याफ्टिङ पुगेको केहीबेरमै आफ्नो बिचबाट थप र्‍याफ्टिङ ल्याउन निर्देशन दिएका रहेछन् उनले। भने, 'हामी सबैभन्दा पहिले गाडीभित्रकै यात्रु निकाल्न खटियौं। त्यसपछि हाम्रै बिचको अरु र्‍याफ्टिङ थपिए। अरु रिसोर्टका बोट पनि आउन थाले।'

 

व्यवसायीको पहिलो निर्देशन: उद्धारमा खट्नु

र्‍याफ्टिङको पहिलो उद्देश्य हो - व्यवसाय। तर, आपत् आइपर्दा सक्दो चाँडो सहयोगमा खट्न कम्पनीले नै निर्देशन दिने श्रेष्ठले बताए।

भने, 'एक्सिडेन्ट हुँदा रेस्क्युमा खट्नुपर्छ भनेर कम्पनीले भनेको हुन्छ - हेल्प गर्नुपर्छ। निकाल्नुपर्छ भनिरहेको हुन्छ।'

यसका लागि कम्पनीको आदेश पर्खी बस्नुनपर्ने उनले सुनाए। श्यामले भने, 'त्यस्तो घटना जोकोहीलाई पर्न सक्छ। मानवीय धर्म नै हो उद्धारमा लाग्नु। त्यसैले हामी घटनास्थलतिर कुदिहाल्यौं।'

खोला छेउछाउ र्‍याफ्टिङ हुनु राम्रो

सुनकोशी नदी छेउछाउ यस्ता र्‍याफ्टिङ कम्पनी थपिँदै गएकोमा खुशी रहेछन् श्रेष्ठ। भने, 'व्यवसायमात्र हैन। नदी जोगाउन पनि यसले सहयोग गर्छ। र, आपतमा पनि।'

नदी छेउमा डुंगा नभएको भए तीव्र रुपमा उद्धार सम्भव नहुने उनको भनाई थियो।

'हामी सक्दो चाँडो खट्न पाएर नै यसरी छिटो उद्धार भयो,' श्यामले भने।

प्रहरीमै चाहियो रिभरगाइड

दुर्घटनादेखि आपतविपद्को साथी प्रहरी भएको उल्लेख गर्दै श्यामले नदी छेउछाउमा रहेको प्रहरी केन्द्रमा सरकारले र्‍याफ्टिङ र र्‍याफ्टिङमा अनुभवी व्यक्ति राखे स्याबासी पाउने सुनाए।

यसका लागि सरकारले कदम चाल्नुपर्ने उनको सुझाव छ। भने, 'प्रत्येक घटनामा पहिलो सम्बन्ध नै पुलिससँग हुन्छ। सरकारले पुलिससँग पनि यस्ता सामग्री व्यवस्थापन गरिदिए एकदम राम्रो हुनेथियो। किन भने प्रहरी सबैभन्दा पहिलो संस्था हो दुर्घटनामा जनतालाई सघाउने। नदी नजिक भएका प्रहरी चौकीमा र्‍याफ्टिङ बोट भएमा प्रहरी टिम जान सक्छ।'

त्यस्तै, प्रहरीसँग पनि 'रिभर गाइड'हरु हुनुपर्ने उनले बताए। 'यस्तो हुन सकेमा प्रहरीले पनि स्याबासी पाउँथे। कि त प्रहरीलाई तालिम देओस् सरकारले कि गाइडहरु भर्ती गरोस्,' श्रेष्ठले भने।

उद्धारमा खटिएका यज्ञनारायण श्रेष्ठले पनि प्रहरीमा तालिम प्राप्त रिभर गाइड भएमा सजिलो हुने बताए। प्रहरीमा केही तालिम प्राप्त भएको र उनीहरु र्‍याफ्टिङ व्यवसायी झै सधैं खटिनु नपर्ने भएकाले तालिमका विषय बिर्सन सक्ने उनको कथन थियो।

यो पनि

सुकुटे बस दुर्घटना: यी दर्दनाक दृश्य जसलाई सुनकोशीको पानीले पनि मेटाउन सक्नेछैन

सुनकोशी दुर्घटनामा बसभित्र फसेकालाई बचाउन गाउँलेले चलाए बन्चरो र गल, सोनाम भन्छन् : सबैको साथले भयो उद्धार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell