PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

व्यवसायीको अवरोध, उपमेयरको आक्रोश: यसरी लाग्यो दुईमाजु मन्दिरमा बनेको टहरामा ताला

व्यवसायीको अवरोध, उपमेयरको आक्रोश: यसरी लाग्यो दुईमाजु मन्दिरमा बनेको टहरामा ताला

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं: मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएको टहरामा ताला लगाइएको छ। टुँडिखेलको महत्वपूर्ण हिस्सा रहेको दुईमाजु मन्दिरमा बनाइएको फलामे टहरामा काठमाडौं महानगरपालिका र गुठी संस्थानले ताला लगाएको हो।

मल्ल राजाहरुको देवाली मन्दिरका साथै पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेपछि शक्ति आराधना गरेको दुईमाजु मन्दिरमा गुठी संस्थान, काठमाडौं महानगरपालिकाको संलग्नतामा भाडामा दिइएको थियो।

त्यसयता, स्थानीयले गुठीको कदमको विरोध गर्दै आएका थिए। दशैं अगाडि नै उनीहरुलाई हटाउनु पर्ने माग स्थानीयले गर्दै आएका थिए। तर तिहारसम्म व्यापार गर्न दिने र त्यसपछि उनीहरुलाई हटाउने सहमति भएको थियो।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र गुठी संस्थान काठमाडौं शाखाका प्रुमख शैलेन्द्र पौडेलले टहरामा ताला लगाएका थिए।

पढ्नुस् : खुल्लामञ्चपछि मल्ल राजाको देवाली मन्दिर 'दुईमाजु' अतिक्रमणमा, साँघुरिँदै टुँडिखेल

गुठीको जग्गामा पसल सञ्चालन गर्न गुठी संस्थानले २०७५ सालमा नै अमृता भट्टराईलाई महिनाको १५ हजार तिर्ने करार गराएर पाँच वर्षमा मन्दिरमा व्यापार गर्न भाडामा दिएको देखिन्छ। तर, भट्टराईले सम्झौता विपरीत अरुलाई मन्दिर परिसरमा व्यापार गर्न दिएर आफूले मासिक रुपमा धेरै भाडा असुल्ने गरेको खुलेको थियो।

भट्टराई गुठी संस्थानले मन्दिर सरसफाइ गर्ने दायित्व दिएकी कर्मचारी थिइन्। उनलाई दुईमाजु मन्दिरमा व्यापार गर्न दिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको समेत संलग्नता रहेको स्थानीयले दाबी गर्दै आएका थिए।

चौतर्फी विरोधपछि गुठीसँग मन्दिर परिसरमा व्यवसाय सञ्चालन गर्न सम्झौता गरेकी अमृता भट्टराईले सम्झौता खारेज गर्न निवेदन दिएकी थिइन्। निवेदन बमोजिम सम्झौता खारेज भइसकेको जनाउँदै गुठी संस्थानले मन्दिर परिसरबाट पसल हटाउने निर्णय गरेको थियो। सोही बमोजिक गुठीले काठमाडौं महानगर र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पसल हटाउन सहयोग गर्न पत्र काटेको थियो।

पढ्नुस: 'अकुपाइ टुँडिखेल', मानव साङ्लोलाई जनप्रतिनिधिको साथ: 'हामीले धेरै सह्यौ, अब पनि चुप बसे केही बाँकी रहँदैन'

स्थानीयले आजै पसल हटाएर मन्दिर छेकिने गरि बनाइएको अवैध टहरा हटाउन माग गरेका थिए। यद्यपि, मन्दिर परिसरमा पसल संचालन गर्दै आएकाहरुले प्रहरी, नगर प्रहरीका साथै उप प्रमुख खड्गीलाई समेत रोकेका थिए।

उनीहरुले पसल राख्ने अनुमति पाएको भन्दै कानूनी रुपमा पसलबाट नहट्ने बताएका थिए। यता, गुठी संस्थान काठमाडौं शाखाका प्रमुख पौडेलले भट्टाईसँग भएको करार सम्झौता रद्द भइसकेको भन्दै दुईमाजुमा पसल संचालन गर्न नहुने बताएका थिए।

व्यापारीहरुले भने आफूहरुले भट्टराई मार्फत मणी ठाकुरसँग पसल राख्ने सहमति गरेको र यसरी सम्झौता रद्द गरेर आफूहरुलाई हटाउने नपाउने भन्दै नाराबाजी गरेका थिए। सो क्रममा उपमेयर खड्गीलाई समेत केही व्यक्तिले धक्काधक्की गरेका थिए। त्यसपछि निकै आक्रोशित बनेकी खड्गीले अवैध रुपमा राखिएको पसल हटाउने र मर्कामा परेका व्यवासयीहरुलाई क्षतिपूर्ति भराउन बारे पहल गर्ने बताएकी थिइन्।

वैशाख १४ गते शनिवार खुल्लामञ्च परिसरमा अवैध रुपमा बनाइएका ४० वटा सटरहरु भत्काइको थियो। त्यसबेला समेत खड्गीले दुइमाजु मन्दिरमा पसल राख्ने कार्यको विरोध भएको थियो। केही समयपछि सञ्चालक आफैंले पसल हटाएका थिए। तर, ६ महिनापछि फेरि दुइमाजु परिसरमा पसलहरु राखिएको थियो।

खुल्लामञ्चमा बनाइएको टहरा हटाउन प्रधानमन्त्रीले बैशाखमा नै दिएको आदेश अनुसार डोजर चलाइएको र त्यसपछि दुईमाजु मन्दिरमा राखिएका पसलहरु आफै हटेको तर केही महिना अगाडी फेरि पसल संचालन गर्नुले व्यावसायीहरुलाई कसैले उक्साएको हुन सक्ने बताइन्। उपप्रमुख खड्गीले हाललाई सम्पूर्ण कागजातले मन्दिर परिसर खाली गर्नुपर्ने देखिएको भन्दै ताला लगाउन निर्देशन दिएकी थिइन्। 

भनिन्,'यसको संरक्षण अब नगरपालिका र गुठी संस्थानले गर्छ। पहिला त यहाँ गुठीले पसल संचालन गर्नै दिन हुन्न थियो। सबै ठाउँबाट गल्ती भएका छन्। गल्ती गरेकाहरुलाई कानूनी कारवाही हुनुपर्छ।'

व्यापारीले भने दुइमाजुमा पसल सञ्चालन गर्न पाउनुपर्ने भन्दै अदालतमा मुद्दा समेत दायर गरेका छन्। उनीहरुले आफूहरु पसल हटाउन तयार रहेको तर टहरा बनाउन आफूहरुले लगानी गरेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएका छन्। व्यवसायहरुले भने मन्दिरको विषय अदालतमा गएको भन्दै सामान नहटाउने अड्डी लिएका थिए। पछि प्रहरीको सहयोगमा टहरामा ताला लगाइएको थियो। पसल हटाउन नगर प्रहरी र प्रहरी दुईमाजु मन्दिर परिसर प्रवेश गर्दा खोज्दा केही समय अवस्था तनावपूर्ण भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell