PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पढ्ने रहरले पुर्‍यायो कोठी : आफन्तले बेचे, बचाउनका लागि प्रेमीले सक्काए मोटरसाइकल र गहना



पहिलोपोस्ट

पढ्ने रहरले पुर्‍यायो कोठी : आफन्तले बेचे, बचाउनका लागि प्रेमीले सक्काए मोटरसाइकल र गहना
Image: Vikas Khot / forbesindia

  • स्वेच्छा राउत/सविन ढकाल -

नुवाकोटकी सपना लामा दुई दिदी, हजुरआमा, हजुरबुबा र बुबासँग हुर्किइन्। उनी काखमा छँदै आमाले छाडेर गइन्। कहाँ पुगिन् सपनालाई थाहा छैन। आमा नरहनुले घर धन्दा उनकै दिदी बहिनीको जिम्मेवारी बन्यो। त्यसैले स्कूल टेक्न त के देख्न समेत पाइनन्।

बुबाले नयाँ विवाह गरेपछि भने उनको घरको झन् बसाई असहज। त्यसैले साथीहरुको लहलहैमा लागेर घरबाट भागिन् र काठमाडौं आइन्। साथीहरुले सुनाएका थिए काठमाडौंमा काम पाइन्छ। काम गरे बापत् पैसा पाइन्छ। राम्रो साहु परे, पढ्न समेत पठाउँछन्।

पढ्नु उनको सपना बनेको थियो। त्यसैले काम, पैसा र पढाईको लोभले उनलाई डोहोर्‍यायो, काठमाडौं।

शहरमा काम पाइन्, बिहान खाना, दिउँसो खाजा र राति रक्सी बेच्ने होटलमा। त्यहाँ उनले सरसफाइ र भाडा माझ्नु पर्थ्यो। मासिक पाँच हजार तलब। बस्ने र खाने सुविधा थियो। काम त पाइन् तर उनले पढ्न पाउने कुरा थिएन, त्यहीँ काम गरेर।

त्यस्तैमा, एकदिन उनका काका आइपुगे, उनले काम गर्ने बालाजुस्थित होटलमा। साहुनीसँग अनुमति लिएरै सपनालाई लिएर गए। काकाले उनलाई माइक्रो चढाएर नाराणथानस्थित कोठामा पुर्‍याएका थिए।

कोठामा काका र काकी कृष्णमाया लामा थिए। उनीहरुको सन्तान थिएन। त्यसैले सपना पुग्दा मायालु बनेकी थिइन्, काकी पनि। एकदिन काकाले 'सपनालाई केही दिन यहीँ राख्नु' भनेको सुन्दा गद्गद् परेकी थिइन् उनी। तर, तीन चार दिन बित्दा पनि कतै घुम्न जान पाइनन्। न त स्कूल नै भर्ना गराए। बरु भइहेको कमाइ पनि रोकियो। त्यसैले एकदिन मुखै फोरेर भनिन्- मलाई पैसा कमाउने इच्छा छ। यता ल्याएर किन राखेको?

त्यसपछि बल्ल काकीले भनिन्- 'तिमीलाई पढाउने हो अब। यहाँभन्दा ठूलो शहरमा गएर। त्यहाँ तिमीले यहाँजस्तो भाँडा माझ्नु पर्दैन।'

पढ्नुस: सात महिना दिल्लीको कोठी धाउँदै युवकले उम्काए बेचिएकी नेपाली चेली

सपना दङ्ग परिन्। लुगाफाटो पोको पारिन्। २०६८ माघ महिना। एकदिन उनी काकीको हात समाएर निस्किइन्। काकीसँगै अघि बढेका थिए एक मानिस जसलाई सपनाले कहिले पनि देखेकी थिइनन्। तीनैजना बस चढे।

सपनालाई 'गाडी लाग्छ'। अर्थात्, उनलाई गाडी चढ्नासाथ टाउको दुख्ने, रिंगटा लाग्ने, वान्ता आउने। त्यसैले गाडी चढ्नुअघि उनले वान्ता रोक्ने औषधी खाइन्। त्यसले झुप्प पार्‍यो। निदाइन्। त्यसपछि एकपटक ब्युँझिएर खाजा खाएको याद छ उनलाई। बेलाबेला आँखा खुल्दा जंगल देख्थिन्। कहिले पसलहरु। यात्राभर ब्युँझिएको केही बेरमै औषधी खुवाउँदै लगिन् उनकी काकीले। उनलाई लाग्यो - 'काकीले मलाई धेरै माया गर्नहुन्छ।'

+++

निद्राबाट ब्युझिँदा उनीहरुसँग यात्रा गरिरहेका व्यक्ति बोलेको सुनिन् - हामी इन्डिया पुगिसक्यौं। एक्कासी इन्डिया सुन्दा झसङ्ग भइन् उनी। तर, ढुक्क पनि किनकि काकी साथमै थिइन्।

काकी र त्यही व्यक्तिको पछिपछि लागिरहिन् उनी। बाटोमा मानिसहरु नबुझिने भाषा बोलिरहेका थिए।

'त्यसबेला मलाई तामाङ मात्र आउँथ्यो। नेपाली बल्लबल्ल फर्काउन जान्थेँ। पछि थाहा भयो ती मानिसले हिन्दी बोलेका रहेछन्,' सपनाले सुनाइन्।

काकीले पुर्‍याएको ठाउँमा केटी नै केटी थिए।

'छोरी मान्छेमात्र पढ्ने स्कूल रहेछ भन्ने लाग्यो। सरासर काकीको पछि लाग्दै गएँ। टाउको दुख्न कम भएको थिएन। एकछिन आराम गर्छु भनेर पल्टेको थिएँ,' उनले सम्झिइन्, 'ब्युँझदा म एक्लै थिएँ।'

केही बेरमा उनकै उमेरकी किशोरी आएर छेउमै बसिन्। र, सोधिन् -'तिमी यहाँ किन आएको?'

सपनाले दङ्ग पर्दै सुनाइन्- 'पढ्न।'

उनको जवाफ सुन्नासाथ ती किशोरी जुरुक्क उठिन र बाहिरिइन्।

उनी बाहिर निस्किँदै गर्दा सपनाले सोधिन् - 'मेरो काकी खोइ?'

उनको जवाफ त मिलेन नै। काकी पनि त्यसपछि भेटिइनन्।

मतलब, त्यहाँको एक झमक निद्रासँग सपनाकी काकी कृष्णमाया सधैंलाई गायव। लगातार औषधीको कारण हो या अरु नै केही, उनलाई ज्वरोले लखतरान पारेको थियो। काकी फर्कने आशा ज्वरोको तापसँगै सेलाउँदै गयो। स्कूल र पढाई त उनले पिरैले भुलिन्।

ज्यान सञ्चो भइसकेको थिएन। उनलाई कसैले सुतेको ठाउँबाट उठाएर लग्यो। र, त्यहाँ उनले काम गर्नु पर्ने बतायो।

के काम त?

जवाफले उनलाई छाँगोबाट खसे सरह भयो। उनले थाहा पाइन्- काकीले त बेचेर गइसकिछिन्। काकीले बुझेको रकम चुक्ता गर्न सपना बेचिनु पर्ने थाहा पाइन्।

उनले नाईं नास्ती गरिन्। त्यसैले पिटाइ खाइन्। पिटाइ त जसोतसो सहेकै थिइन् तर जब उनलाई अनौठा औषधी र सुईंहरु दिन थालियो, उनीसामु थप कठोर दिनहरुको सुरुवात भयो।

'औषधी धेरै गह्नाउँथ्यो। खानै गाह्रो। खाइसकेपछि झुप्प हुन्थ्यो, निद्रा मात्र लाग्थ्यो,' उनले भनिन्।

त्यस्ता औषधी खान थालेको केही सातामै उनी मोटाउन थालिन्। जम्मा १५ वर्षकी उनी उमेरभन्दा ठूली देखिन थालिन्। र, उनलाई ताकेर मूल्य तोक्नेहरुको भिड लाग्न थाल्यो।

'भन्न पनि लाजै मर्दो। त्यहाँ कसैलाई छोरी मान्छेको शरीर र कसैलाई पैसा बाहेक केही चाहिँदैन रै'छ। न आँशु झार्दा हाम्रो दु:ख बुझ्थे न बिन्ती बिसाउँदा,' सपना सुनाउँछिन्।

भारतको नयाँ दिल्लीस्थित विभिन्न कोठीमा पुर्‍याइयो उनलाई। सुरुमा कोठी नम्बर ५११ मा उनले दुई वर्ष बिताइन्। त्यसपछि कोठी नम्बर ६४ मा सारियो। त्यहाँ पनि उनले दुई वर्ष ग्राहकको सेवा गर्नुपर्‍यो। त्यसपछि कोठी नम्बर ४० मा १५ दिन रहिन्। त्यसपछि उनलाई पुन: कोठा नम्बर ६४ मै सारियो।

पढ्नुस : दश हजार भारुमा बेचिइन् बालिका : बन्धक बनाई प्रयोग गरियो वयस्क बनाउने सुई र औषधि

उनी जुनजुन कोठीमा पुगिन् त्यहाँ प्राय चेलीहरु नेपाली नै थिए। धेरैजसो चाहिँ सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका। उनीहरु मौका मिल्दा त सुख, दु:खको कुरा त गर्थे तर एकअर्कालाई कहिले पनि कुनै किसिमको सहयोग पुर्‍याउन  सक्ने अवस्था नै थिएन।

ती सबै चेलीहरुलाई खाना, खाजा खुवाउने पनि नेपाली नै थिए। उनीहरुलाई देख्दा आफ्नो मान्छे देखेजस्तो त लाग्थ्यो। तर, बोल्न नपाउनु दुवैको बाध्यता। चेलीहरु बोल्दा शारीरिक यातनाको डर! नेपाली भान्सेसँग बोल्दा जागिर नै जाने डर।

'क्यामेरा हेर्दै को कससँग बोल्यो हेर्थे र सजाय दिन्थे,' गह भरिएको आँशु पुस्दै सपनाले सुनाइन्, 'नेपाली भाषामा आफ्नो पीर पोखुँजस्तो लाग्थ्यो तर ती दाइहरुको पनि जागिर न हो। नेपाली दिदी बहिनीले भोगेको पीडा देख्दा उहाँहरुको पनि मन दुख्थ्यो होला। अँह! बोल्न चाहिँ सक्थेनन्।'

कोठामा पुगेका चेलीहरुको र नेपाली भान्सेहरुको आ-आफ्नै बाध्यता थिए।

बिरामी हुँदासमेत आराम पाउथेनन् सपना र उनका साथीहरुले। कहिले काहीँ दिउँसो १२ बजेदेखि भोलिपल्ट बिहानसम्म आराम पाउँदैन थिए। आफूसँग ग्राहक नभएको दिन पनि सुत्न भने पाउथेनन्। किनकि कोठा खाली हुन्थेन। उनीहरु कौसीमा उभिएर रात काट्थे।

'बिस्तारै बानी पर्दै गयो। चुपचाप भनेको मान्नु र एकान्तमा मन लागुन्जेल रुनुबाहेक अरु उपाय नै हुँदैन थियो,' उनले भनिन्।

+++

सपनाकहाँ आउने एक नियमित ग्राहक थिए, अरुण राई। भाषा मिल्ने भएकाले पनि उनी अरुणसँग आफ्ना पीर पोख्थिन्। परिवारको कुरा सुनाउँथिन्। त्यहाँसम्म पुग्नुको कथा पनि सुनाउँथिन्।

अरुण सोध्थे - 'मैले यहाँबाट तिमीलाई लगेँ भने जान्छौ?'

सपनालाई थाहा थियो, त्यो असम्भव कुरा। त्यसैले चुपचाप बस्थिन्। एकपटक भने कुरैकुरामा अरुणले सपनालाई माया गर्ने बताए। दुधे बालकमै आमाबाट टाढिएकी अनि काकीको क्रुरता भोगेकीले पनि हुनसक्छ माया भन्ने शब्दबाटै विश्वास उठेको थियो उनको। त्यसैले कोठीमा ग्राहक बनेर आएको कसैले माया गर्छ भन्ने कुरा विश्वास गर्न गाह्रो थियो।

तर, परिस्थितिले अरुणको प्रेमलाई सही प्रमाणित गर्यो।।

दिल्लीको एक होटलमा कुक रहेका उनले सपनालाई भेट्न कुनै कसर बाँकी छाडेनन्। उनको एउटै प्रस्ताव थियो- ‘कुनै पनि हालतमा त्यो दलदलबाट निस्क। विवाह गर्न चाहन्छौ भने तयार छु। चाहँदैनौ भने घर फर्कनु। बस् यहाँ चाहिँ नबस्नु।‘

सपना प्रति प्रश्न गर्थिन्- ‘मेरा आफ्ना भनाउँदाले त दिल्लीमा ल्याएर बेचे। तिमीले मुम्बई पुर्‍यायौं भने?’

यस्तो अवस्थामा अरुण केही बोल्दैनथे। अरुणकै आँखामा आँशु भरिएको देख्थिन् उनी। केहीपछि उनैले अरुणलाई थुम्थुम्याउ थालिन्। भन्थिन्- 'निस्कनुअघि केही रकम जम्मा गर्छु। बाहिर कोठा लिएर बस्न सक्नेहुन्छु। अनि निकाल्नु।'

सपनाले दिनमा ग्राहक रिजाएको तीन सय रुपैयाँ र रातको दुई हजार चार्ज लाग्थ्यो। सबै पैसा म्यानेजरको हातमा। म्यानेजरबाट कोठावाली साहुनीसम्म पुग्थ्यो रकम। त्यसैले उनीहरुको कमाइ शून्यजस्तै थियो। कुनै ग्राहकले टिप्स त दिन्थे। तर, त्यो पनि समेत धेरैजसो खोसिन्थ्यो। कहिलेकाहीँ भने लुकाउन पनि भ्याउँथे। त्यसैगरी लुकाएर पैसा जम्मा गर्ने सोचेकी थिइन् उनले।

तर, सपनाको योजना सिधा बाटो चलेन। उनी बिरामी परिन्। 'पेट दुख्ने, शरीरभरी दाग आउने हुन थाल्यो। अनि ग्राहकहरुले रुचाउन छाडे,' उनले भनिन्। त्यसपछि उनको पटकपटक कोठी फेरियो। बाहिरै रहेर ग्राहकको सेवा गर्ने प्रस्ताव पनि राखेका थिए, मालिकले। तर, त्यस्तै सेवामा खटाइएकी साथी कोठीबाट निस्किएको पाँच दिनपछि होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

‘त्यही सम्झेर पनि बाहिर गएको थिइँन। पैसा चिन्दिन, अङ्ग्रेजी बोल्न जान्दिन भनेर टार्थें,’ उनले भनिन्।

शरीर सिकिस्त भएपछि उनी हेपाइ सहन नसक्ने अवस्थामा पुगिन्। त्यही अवस्थामा अरुण पुगे ग्राहक बनेर। सपनाका लागि केही दिनको पैसा तिरे र लिएर निस्किए।

अरुण काम गर्ने होटलको साहुले उनीहरुलाई बस्ने ठाउँ खोजिदिएका रहेछन्। एउटा समस्या हल भयो। त्यसपछि सुरु भयो सपनाको उपचार प्रक्रिया। अरुणले आफ्नो बाइक बेचे। कानमा लगाएको सुनको मुन्द्रा पनि बेचे। पकाउने, खुवाउने, सरसफाइ गर्ने अवस्थामा थिइनन् सपना। बिहान १० बजेदेखि राती ८ बजेसम्मको ड्युटी अघि र पछि घरायसी काममा अरुण आफै खट्थे।

एक मध्य रात सपनाको छाती बेस्मारी दुख्यो। उनको रोदन र चिच्याहटले आत्तिएका अरुणले सपनालाई काँधमा उचालेर अस्पताल पुर्‍याए। काममा जान सकेनन्। भोलिपल्ट अरुणका साहु रिसाए। रिसाउनुको कारण काममा नजानु भन्दा पनि खबर नगर्नु थियो। भनेका थिए - ‘सपना मरेको भए?’

त्यस समय अरुणले बोलेको एक वाक्य सम्झँदा उनी आज पनि उस्तै भावुक हुन्छिन्।

‘मेरो ज्यान रहुन्जेल यसलाई मर्न दिन्न। भोलि यो मसँग भए पनि नभए पनि मलाई सम्झन्छे,’ अरुणलाई उदृत गर्दै उनले भनिन्।

सपना बिस्तारै ठीक हुँदै गइन्। अरुणको भर पर्ने उनको सोच थिएन। त्यसैले काम खोज्न लगाइन्। घरेलु कामदार बन्ने भइन् एक पंजावीकहाँ। दुई घण्टा परको बाटो हरेक दिन ल्याउने पुर्याेउने काम अरुणकै हुन्थ्यो। सबै कुरा राम्रै चल्दै थियो।

सपनालाई एक्कासी घरको यादले सतायो। उनमा फर्कने, समाजको प्रश्न झेल्ने साहस थिएन। तर, जब आफू भारत पुगेपछि हजुरबुबा, फूपु र जेठी दिदी बितेको थाहा पाइन् तब नेपाल फर्कने जिद्दी गर्न थालिन्।

अरुणको सबै पैसा सपनाकै उपचारमा सकिएको थियो। जोडेको सरसामान बेच्दा भाउ मिल्ने कुरै थिएन। सामान नेपाल ल्याउन खर्च धेरै लाग्ने। अरुणले 'केही समय बसौं। पैसा कमौंला अनि मिलेर फर्कौंला' भनेका थिए। सपना मानिनन्। र, उनी कोठीबाटै भागेकी एक साथीसँगै नेपाल आइन्।

+++

उनी घर गइन्। बाबा, हजुरआमा अनि कान्छी दिदीसँग भेट भयो। काकीविरुद्ध बोल्न उनीसँग न कसैको साथ थियो न साहस नै। त्यसैले चुपचाप आफ्नै सुरमा काम गर्न थालिन्।

‘केही समय त मलाई भर्खर जीवन बाँच्न सुरु गरेजस्तो भयो,’ उनले नेपाल फर्केपछिको अनुभव सुनाइन्। तर, वर्ष दिन बित्दा नबित्दै उनलाई अरुणको याद आउन थाल्यो। उनको गुण सम्झिइन्। आफूप्रति दर्शाएको प्रेम पनि। र, फेरि इन्डिया फर्कने निधो गरिन्।

अरुणलाई फोन गरीन् र भनिन् - आउँदैछु। घरमा बिदा लिएर हिँडेकी थिइन् उनी। तर, नेपाल पार गर्न पाइनन्। गत बिहीवार साथीसँगै भारततिर हिँडेकी उनलाई नेपालगञ्जमा माइती नेपालका प्रतिनिधिले सोधपुछ गरे। र, त्यहीँबाट उनको दिल्लीको यात्रा मोडिएर काठमाडौंतर्फ सोझियो।

उनले दिएको बयानका आधारमा प्रहरीले उनकी काकी कृष्णमायालाई गिरफ्तार गर्‍यो। सपनालाई माइती नेपालले उद्धार गरेको थाहा पाउनासाथ फरार थिइन् उनी।

‘काकीलाई देख्दा मन भत्भति पोल्यो। पिट्छु भन्ने सोचेको थिएँ। पुलिसहरुले छुनै नदिने रैछन्,’ उनी आक्रोशित सुनिइन्।

प्रहरीले अरुणसँग पनि सम्पर्क गरेको थियो। तर उनको फोन 'अफ' थियो।

'मैले त पुलिसलाई अनि सबै सर मिसहरुलाई भनेको छु उसको केही गल्ती छैन। ऊ त देउताजस्तै हो। आन्टीले बेच्नुभयो, तर ऊ पराइले निकाल्यो,' उनले भनिन्, 'अहिले चाहिँ डराएर फोन अफ गर्‍या होला। तर ऊ डराउनु पर्ने कारण छैन। कस्सम!'

+++

अहिले माइती नेपालमा छिन् सपना। त्यहाँ उनी दिनभर काम गर्छिन्। पढ्ने सपनासँगै भारतको वेश्यालयमा बेचिएकी उनले पढ्न अवसर भने अहिले पाएकी छिन्। अहिले उनी साँझ माइती नेपालले दिने छहारी कक्षामा सहभागी हुन्छिन्।

(सपनाको नाम परिवर्तित हो। उनका साथै व्यक्तिगत गोपनीयतालाई कायम राख्न उद्धार गर्ने युवकको नाम (अरुण) पनि परिवर्तित नै हो। - सं.)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell