PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

को हुन् दुर्घटनामा परेकी बालिका? आफन्त कुर्दै अस्पताल



कुञ्जरमणि भट्टराई

को हुन् दुर्घटनामा परेकी बालिका? आफन्त कुर्दै अस्पताल

काठमाडौं : दोलखाको कालिञ्चोक तीर्थयात्रा गएर फर्केको यात्रु सवार बस आइतवार बिहानै लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै दुर्घटना पर्‍यो। घटनामा परी अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ। २० जना घाइतेको काठमाडौंको ह्याम्सलगायत अन्य अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबाट जोगिएकी एक सात महिने शिशु भने सिन्धु सदाबहार अस्पताल खाडीचौरमा छिन्। उनी उपचारको लागि होइन, आफन्त नै नआएको कारण १० घण्टादेखि अस्पतालमै छिन्। अहिलेसम्म मेरो बच्चा हो भन्ने कोही नआएकाले अस्पतालमा नै रहेको अस्पतालका चिकित्सक राजकुमार दंगालले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा चिकित्सक दंगालले भने, 'अहिलेसम्म मेरो बच्चा हो भनेर कोही आएका छैनन्। कोही सम्पर्कमा आए जानकारी दिनुहोला।'

सात महिने बालिकाको स्वास्थ्य अवस्था सबै ठीक छ। बिहानै दुर्घटना भएपछि अरु घाइतेसँगै पहिले उनै बालिकालाई अस्पताल लगिएको थियो। अहिले बालिका अस्पतालमा नै खेलिरहेकी छिन्। उनी गाडीमा कोसँग सवार थिइन्? उनका अभिभावकको मृत्यु भयो या दुर्घटनामा घाइते भए भन्नेसमेत खुल्न सकेको छैन। 'हामीले पनि सोधीखोजी गरिरहेका छौं। तर उनको आफन्त को हो? अहिलेसम्म पहिचान भइसकेको छैन,' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी निरिक्षक गणेश खनालले भने।

घाइतेमध्ये केही यात्रुले बालिका चालकको छोरी भएको दावी गरिरहेका छन्। चालक भने अहिलेसम्म फरार नै छन्। प्रहरीका अनुसार चालकको अहिलेसम्म पहिचान हुन सकेको छैन। चालककी श्रीमतीसमेत गाडीमा भएको भनिएको छ। तर पुष्टि भने कतैबाट भइसकेको छैन। 'धेरैले चालकको बच्चा भएको र उनकी श्रीमती दुर्घटनामा मृत्यु भएको जानकारी दिनुभएको छ,' अस्पतालमा कार्यारत कर्मचारी कृतिका श्रेष्ठले घाइते यात्रुलाई उद्धित गर्दै भनिन्।

घाइतेमध्ये अधिकांशलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ। त्यसमा पनि बालिकाको आफन्त हुन सक्ने आशंकामात्र गरिएको छ। 'बच्ची अहिले खेल्नेखाने गरिरहेकी छिन्। कुनै त्यस्तो स्वास्थ्यमा समस्या नै छैन। आफन्तले आएर बुझ्न सक्नुहुन्छ,' चिकित्सक दंगालले भने।  

सिन्धुपाल्चोक ६ किलो बस दुर्घटनाका घाइते ह्याम्स अस्पतालमा, 'अधिकांश घाइतेको अनुहारमा चोट, हड्डी भाँचिएको'

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, १७ जना घाइते

कालिञ्चोक दर्शनपछि राति नै फर्केकी निर्मला भन्छिन् : 'बाटो अफ्ट्यारो छ भन्दै मुडेमै बस रोकियो, बिहानै दु:खद् खबर सुन्नुपर्‍यो'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell