काठमाडौं : वैदेशिक रोजगारीको शिलशिलामा दुवईबाट फर्किएका सिन्धुलीका सुरज देशमा नै केही गर्न चाहन्थे। दुवईबाट कमाएर ल्याएको केही रकम लगानी गरेर आफ्नै व्यवसाय गर्ने उनको चाहना। तर, के गर्ने? कसरी गर्ने? भन्ने योजना बनिसकेको थिएन। एक किसिमले उनी अलमलमा नै थिए।
उमेर ३९ का उनी पढेलेखेका थिए। सामाजिक सञ्जालहरु भाइवर, फेसबुक, इमेलमा समेत सक्रिय। एक दिन सुरजलाई विदेशबाट एउटा इमेल आयो। विदेशी युवतीको म्यासेज रहेछ। ती युवतीले सुरजसँग सहयोग मागेकी रहिछिन्।
केही दिन सुरजले खासै चासो दिएनन्। तर, म्यासेज आउने क्रम बढ्दै गएपछि उनी पनि युवतीसँग सम्पर्कमा रहन थाले। युवतीले मेलमा आफ्नो आफन्त बितेको साढे ९ मिलियन बैंकमा फ्रिज भएको जानकारी दिएकी थिइन्।
घटना झन्डै एक वर्ष अघिको हो। त्यसपछि उनीहरु भाइवरमा समेत जोडिन पुगे। उनीहरु बीच कुराकानी भयो। यतिसम्म कि दुवै जना नजिकिए। अन्ततः ती युवती बिहेको प्रस्ताव राख्दै नेपालसम्म आउन तयारी भइन्। दुवैले मिलेर नेपालमा नै व्यवसाय गर्ने योजना बुने।
तर, तिनै सुरज केही दिनअघि मात्र प्रहरीकहाँ पुगेका छन्। उनी आफू लुटिएको भन्दै महानगरीय अपराध महाशाखामा जाहेरी दिन पुगेका हुन्। इमेल मार्फत् भेट भएकी युवतीले सुरजको सात लाख रुपैयाँ लुटेको उनले प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ। 'सात लाख रुपैयाँ ठगिएको भन्दै उजुरी आएको छ। हामी अनुसन्धान गरिरहेका छौं,' महाशाखाका डिएसपी दुर्गा दाहालले भने।
कसरी लुटियो सुरजको सात लाख रुपैयाँ?
ती युवतीले सुरजलाई उनी स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी भएको बताएकी थिइन्। त्यसपछि उनले आफ्नो खातामा रहेको रकम सुरजको खातामा पठाउने भन्दै खाता खोल्न लगाइन्। बढ्दो सम्पर्क र विश्वासले सुरज पनि 'हस्' भन्ने अवस्थामा पुगिसकेका थिए। सबै कागजपत्र मिलाएपछि बैंकमा खाता खोलिएको थियो। सिल्भर खाता नामक अकाउन्ट खोलिएको जानकारी बैंकबाट नै सुरजको इमेलमा आएपछि नपत्याउने कुरै भएन।
त्यसो त बैंक खाता खोल्ने बित्तिकै सुरजको एकाउन्टमा १७ सय अमेरिकी डलर पनि डिपोजिट भएको थियो। १ लाख ९० हजार रुपैयाँभन्दा बढी रकम सुरजको खातामा आएको थियो। खातामा रकम भित्रिन थालेपछि सुरजमा थप लोभ नपलाउने कुरै भएन। अब साढे ९ मिलियन डलर आउने प्रतीक्षामा थिए उनी। मिलिनियर बन्ने सपनाको खाका तयार भइसकेको थियो। तर, त्यो रकम आउनुभन्दा पहिले केही ट्याक्स तिर्नुपर्ने भयो।
सुरज ट्याक्सको रकम तिर्न तयार भए। तर, कहाँ तिर्ने?
तिनै युवतीले एक नेपाली युवकको खाता दिइन् - रमेश खड्का। सुरजले सात लाख रुपैयाँ खातामा हालिदिए।
रमेश खड्का तिनै हुन् जससलाई मंसिर २५ गते प्रहरीले पक्राउ गरेको छ। खड्का अनलाइनबाट ठगी गर्ने गिरोहका सदस्य रहेछन्। सुरजले रकम पठाएका व्यक्ति पनि तिनै थिए जसबारे समाचार आउपछि उनले थाहा पाए - ठगिएँ। त्यसपछि प्रहरीकहाँ पुगेका थिए उनी।
'उहाँमात्र होइन, अहिलेसम्म १७ जनाको उजुरी आएको छ। १० जना पीडित सम्पर्कमा छन्,' महाशाखाका डिएसपी दाहालले भने।
अनि... 'हनि ट्र्याप'
अनलाइनबाट ठगी गर्ने दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीहरुको बैंक खाताबाट १५ करोड रुपैयाँ बराबरको कारोबार भइसकेको खुलेको छ।
ठगीका मुख्य नाइके भने नाइजेरियन पिटर हर्मन र स्मिथ मोरिस भएको प्रहरी अनुसन्धानमा देखिएको छ। पिटर ९ वर्षअघि नेपाल आएर रमेशको होटेलमा बसेका थिए। पिटरको योजनामा रमेशले नेपालमा एजेन्ट बनाएर ठगीको थालनी गरेको देखिन्छ। रकम ठगी गर्न उनीहरुले विभिन्न युवतीहरुको समेत प्रयोग गर्ने गरेको देखियो।
'उनीहरु जे पनि गर्छन्। उनीहरुसँग ठूलो सञ्जाल देखिन्छ। लोभमा पार्दै ठगी गरेको पाइयो,' डिएसी दाहालले भने।
लोभले ठगिएला नि!
प्रहरीले सामाजिक सञ्जालमा लोभ देखाएर पठाइने जानकारीबाट बच्न अनुरोध गरेको छ। विभिन्न चिठ्ठाको नाममा ठगी गर्ने समूह सक्रिय भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो।
'हामी पनि सचेत हुनुपर्छ। कुनै कुरा बुझ्दै नबुझी लोभमा परेर रकम पठाउनु भएन,' महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने।
ह्याकर समूहले नेपाल ४० जनाभन्दा बढी एजेन्ट बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। उनीहरुले पिटर र स्मिथको योजनामा नेपालमा ठगी गर्दै आएका थिए।
प्रहरील नियन्त्रणमा रहेका तिनै जनाले आफूहरुले लोभमा परेर काम गरेको बयान दिएका छन्। पिटर र स्मिथले दिने २० देखि ३० प्रतिशत कमिसनको रकमको लोभमा काम गरेको बताएका छन्।
सम्वन्धित समाचार