१ डिसेम्बर।
धनगढीका गोरख बमका साथी ओम कार लिएर आइपुगे मिडिया प्रडक्सन सिटी। बिहान ८ बजेतिर म बर दुबई जाँदैछु। गोरखलाई मैले दुबई आएको पर्सिपल्टबाट चिन्न थालेको। भीम भाइकै साथी रहेछन्। छोटो भेटमै मेरो पनि साथी भइहाले।
रातिको ड्युटी सकेर फर्कँदै रहेछन् ओम। पूरा नाम त उसले भनेनन्। उसको छेउमा अर्का नेपाली पनि। पछाडि एक महिला र एक पुरुष रहेछन्। मलाई त्यही पछाडिको सिटमा बीचमा बसाए ओमले। सबै जना कामबाट फर्कँदै रहेछन्।
पुरुष भारतीय। महिला फिलिपिनी। काठमाडौँबाट दुबई उड्नुअघि साथीहरूले सचेत गराएका थिए, उता पुगेपछि महिलालाई झुक्किएर पनि नछोएस्। छोएमा सिधै जेल। दुबई जानुअघि त्यहाँको कानुनबारे केही खोजेको थिएँ। गुगलले सबैभन्दा सुरुमा देखाएको थियो : नो किस, नो फोटो। त्यही सम्झेर म भारतीय युवकतिर ढल्किएर बसेँ।
ती युवती भने मतिर हेर्दै मुसुमुसु हाँस्दै थिइन्। डरै लागे पनि छड्के नजर ती युवतीतिरै भएकोले हाँसेको देखिहालेँ। हसाईँको कारण के होला? बुझ्न खोजेँ।
फोनमा पो बोलिरहेको रहेछिन्।
एकैछिनको कुदाइपछि भारतीय युवक ओर्लिए। पछाडि फिलिपिनी र ममात्र। फिलिपिनीसँग कुरा गरौँ कि भनेर यता हेरेँ। उनी त घुर्न पो थालिसकिछिन्। फिलिपिनी र नेपाली लगभग उही तहमा काम गर्ने रहेछन् भन्ने यहाँ थाहा पाएँ। अनि फिलीपिनीसँग घुलमिल गर्न पनि सजिलै रहेछ।
केहीबेरमै दुबई मल आइपुगियो। त्यहाँबाट अलिकति गुडेपछि फिलीपिनी त्यतै झरिन्। अहँ उनीसँग मुख खोल्ने हिम्मत आएन।
सत्व पुगेपछि झर्नुपर्ने भयो म पनि- ओमहरु बर दुबई नजाने भएकाले। कारबाट झर्दै गर्दा मलाई भनियो, ३३ नम्बरको बस चढेर जानु, ठ्याक्कै पुगिन्छ।
अघिल्लो दिन मेट्रो कार्ड साटिएको थियो। बसस्टप पुगेर कार्डमा पैसा रिचार्ज गर्न खोजेको कार्ड त एक्सपायर भइसकेको रहेछ। परेन आपत्।
यहाँ बस चढ्न र मेट्रो चढ्न एउटै कार्डले काम गर्ने। त्यो कार्ड भ्यालिड चाहियो र त्यसमा पनि कम्तीमा ७ दिराम ब्यालेन्स चाहिने रहेछ। नभए, चेकिङमा पर्ने डर। चेकिङमा परे ५० देखि २५० दिराम जरिवाना हुने चेतावनी।
मसँग जम्मा ३० दिराम थियो। नयाँ कार्ड लिने हो भने सबै पैसा खर्चनुपर्ने। ट्याक्सीमा बर दुबई जाँदा पैसा नपुग्ने पो हो कि।
अमेरिकी डलर त थियो मसँग। तर ट्याक्सी चालकले साटिदिएन भने।
म मनी एक्सचेन्ज खोज्न भौँतारिए। मेरो फोनमा डाटाले काम गर्न छाडेकोले ठाउँ खोज्न पनि मुस्किल हुन थालेको थियो। त्यसैले मैले सिधा सडकभन्दा दायाँबायाँ हिँड्ने आँट गरिनँ। धेरैबेरको सिधा सडक हिँडाइपछि बल्ल 'वेस्टर्न मनी ट्रान्सफर' भेटेँ। पैसा पनि साटिने रहेछ।
'आइ निड एक्सचेन्ज? भित्र पस्नसाथ एकसय अमेरिकी डलर साट्न अनुरोध गरे।
'योर नेम?'
नेत्र बहादुर।
आप नेपालसे? काउन्टरबाट सोधे।
'एस' मैले भने।
'हिन्दी नही आता है' उसले जिज्ञासा राख्यो।
'नो नो' मैले पनि धाक लगाए।
'अरे ओ देखो नेपालके आद्मी हे हिन्दी नही आता हे,' उसले अलि पर रहेको आफ्नो साथीतिर हेर्दै हाँस्यो।
'आइ एम फ्रम माउन्टेन। सो हिन्दी इज डिफिकल टु मि,' मैले झनै फूर्ति लगाए।
'फ्रम एभरेस्ट,' उसले ३६२ दिराम दिँदै सोध्यो।
'यस। नियर फ्राम एभरेस्ट, थ्याङ्क्स,' भन्दै निस्किएँ। त्यसपछि हिँडे मेट्रो कार्ड खोज्न।
मेट्रो कार्ड पाउन पनि मुस्किलै भयो। एउटा झन्डैझन्डाको पसल रहेछ। पसले ग्राहक भनेर मलाई बोलाउँथ्यो। त्यसमध्ये एकजनाले सोध्यो, 'नेपाली हो?'
'हो,' मैले भने, 'मेट्रो कार्ड चाहियो कता पाइन्छ?' यताउति हेरेपछि उसले कार्ड लिनुभन्दा ट्याक्सी चढेरै बर दुबई जान ठिक हुने सुझाए। मैले पनि त्यसै गर्दा ठिक हुने ठानेँ। अहिले त मसँग दिराम पनि त टन्नै छ। बर दुबई पुग्दा बढीमा ५० दिराम लाग्ला।
ती नेपाली ब्रदरसँग नाम सोधखोज त गरिएन तर उनले एकछिन पखको संकेत गर्दै ट्याक्सी पनि आफैं रोकिदिन लागे। एकैछिनमा ट्याक्सी आइपुग्यो। लामो दाह्री भएका ड्राइभर रहेछन्। देब्रेतिरको सिटमा स्टेरिङ समाइरहेको ड्राइभरलाई उसले धम्कीको शैलीमा भने, ठिक पैसा लिने ठग्ने हैन। ड्राइभरको अनुहार भने खिन्न भएको थियो। तै पनि उसले हुन्छ भनेर मलाई चढायो। नेपाली ब्रदरसँग हात हल्लाइयो।
५ एइडीबाट ट्याक्सीको मिटर सुरु भयो। ड्राइभर भन्दै थियो -तिमी ढुक्का होउ। यो दुबई हो। यहाँ तिमीलाई कसैले ठग्न सक्दैन।
होला पनि। कानुनी कडाइसँग डराउँदा रहेछन् सबै। तर फनफनी घुमाइदेलान भन्ने पिर पो त।
केहीबेरमा बर दुबईस्थित एस्टोरिया होटेलमा पुगेँ। ३६ दिराम पुगेछ। होटेलमा काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा मेरो पर्खाईमा थिए। हाम्रो गन्तव्य थियो -अबुधाबी।
हामीले हिमालयन रेस्टुरेन्टमा खाना खायौँ। साथमा काभ्रे सेवा समाजका साथीहरू र गायक विशाल काल्तान पनि थिए। खानपछि हामी अबुधाबी यात्रमा निस्क्यौँ। बाटोमा दिल दाइ नेपालको विकासबारे चिन्तित देखिन्थे। आठ लेनको वानवे बाटोमा उनी अटोमा गाडी चलाउँदै थिए। बाटो वरिपरि हरियाली। मरुभूमिको बाटोमा यो हरियाली नै रोचक विषय लाग्यो। सँगै बाटोमा राखिएका क्यामेराबारे पनि चर्चा भइरह्यो। अबुधाबीको यात्रा मेरो तालिकामा थिएन। तै पनि अपर्झट जाने मौका जुरेको छ। त्यसैले पनि खुसी भइरहेको छु।
बाटोमा नेपालको विकास र यहाँको विकासबारे दाँज्न थालियो।
विकासको मोडल हाम्रो नेताको कान र आँखासम्म पुर्याउन सके राम्रो हुने थियो भन्दै थिए दिल दाइ।
नेपालीको स्तर नउकासे दुबईमा मन्त्री नै आए पनि नेपालीकै दर्जा दिने हो।
'सगरमाथा, पशुपति, गौतमबुद्धको देशलाई मेनटेन गर्न सकेनन् नेताहरूले। संरक्षणमात्र भए हुन्थ्यो त्यो भएन,' प्रवासमा नेपालको चिन्ता।
करिब साढे एक घन्टाको कुदाइपछि हामी युएईको राजधानी अबुधाबी पुग्यौँ। त्यहाँ मलाई साथी बिरु वाइबा पनि पर्खिरहेका थिए -म अबुधाबी आउँदैछु भनेपछि भेट्नुपर्छ भन्दै। हामी सबैभन्दा पहिले अबुधाबीको इमिरेट्स प्यालेसतिर अघि लाग्यौँ।
युएईको ४८औँ राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा अबुधाबी झिलिमिली पारिएको थियो। इमिरेट्स प्यालेसमा पनि भीड। त्यही भएर होला -गाडी भित्र पस्न दिइरहेको थिएन। तर दिल दाइले भने होटलको रेट बुझ्न भन्दै गाडी भित्रै लगे। हामी इमिरेट्सको ढोकामा झर्यौँ। दिल दाइ गाडी पार्किङतिर लागे। हामी भने रमझम हेर्न र फोटो खिच्न व्यस्त भयौँ। यहाँका शौचालयको सफाइ पनि चर्को। एकजना त सफा गर्न खडा भइरहने रहेछन्।
जता हेरे पनि फोटोजेनिक स्थान। हुँदाहुँदा शौचालय पनि हाम्रा लागि सेल्फी लिने ठाउँ बनिदियो। त्यसपछि हामी बाहिर निस्केर पनि फोटो लियौँ। हामीले इमिरेट्स होटलको अगाडि रहेको अग्ला भवनलाई पृष्ठभूमि पारेर पनि फोटो खिचायौँ।
त्यसपछि हामी लाग्यौँ गाडीतिर। गाडी भेट्न मुस्किल पो भयो। पार्किङका लागि अन्डरग्राउन्डमा तीन तला रहेछन्। पी १, पी २ र पी ३। ती सबैमा पुग्न लिफ्टको प्रयोग। पी ३ मा राखिएको गाडी भेट्न हामीलाई मुस्किलै पर्यो। धन्न गाडी राखिएको ठाउँको फोटो लिनुभएको रहेछ पहिले नै दिल दाइले नत्र गाडी खोज्दै रात पर्ने थियो।
झन्डै १० मिनेटपछि गाडी राखिएको ठाउँ पुग्यौँ। त्यहाँबाट हामी क्रोनिक बिचतिर लाग्यौँ। जहाँ हामीलाई पर्खदै थिए अबुधाबीका नेपाली साथीहरू। क्रोनिक बिचमा स्थानीयहरू परिवारै आएर बर्बेक्यू पार्टीमा मस्त रहेछन्। रात परिसकेको थियो। यस्तो राति पनि उज्यालो थियो क्रोनिक बिच। बालुवा मैदानमा फुटबल, भलिबल र बास्केटबल खेल चलिरहेको थियो। बालबालिका निर्धक्क खेलिरहेका थिए।
त्यहाँ एकछिनको घुमाइपछि हामी नेपाली चोक पुग्ने भयौ। हामी क्रोनिक बिचबाट बाहिरियौँ। अनि पुनः पार्किङ क्षेत्रमा आइपुग्यौँ। यसपटक पनि निकै अप्ठेरो भयो गाडी भएको ठाउँमा पुग्न। अघिल्लोपटक जसरी गाडीको फोटो लिएनछन् दिल दाइले। झन्डै १५ मिनेटको खोजीपछि बल्ल भेटियो गाडी। त्यसपछि हामी लाग्यौँ नेपाली चोकमा।
त्यहाँ हामीलाई डोजर खाना भनियो। अरू ठाउँ हेरि यहाँ खाना सस्तै रहेछ। बिहान हिमालय रेस्टुरेन्टमा ३५ दिराममा खान खाएको थिएँ। यहाँ १० दिराम पर्दोरहेछ। डोजर चाहिँ सुँगुरलाई भनिँदो रहेछ।
रेस्टुरेन्टमा नेपालीको भीड थियो। नेपाली खान खाएर साँझ फर्क्यौँ दुबई।
सम्बन्धित समाचार