PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अभियुक्तले स्वीकारे : बलि दिनका लागि भारत लगिँदै थियो 'मोडल'लाई



सविन ढकाल

अभियुक्तले स्वीकारे : बलि दिनका लागि भारत लगिँदै थियो 'मोडल'लाई
प्रतीकात्मक फाइल फोटो

काठमाडौं : प्रलोभनमा पारेर मोडललाई भारत लैजाँदै गर्दा पक्राउ परेका अभियुक्तले 'तान्त्रिक पूजा'का लागि उनलाई त्यहाँ लगिँदै गरेको स्वीकारेका छन्। गत पुस ८ गते विराटनगर र काठमाडौंबाट नियन्त्रणमा लिएका अभियुक्तहरुले मोडललाई तान्त्रिक पूजाको लागि लगेको प्रहरीसामु स्वीकार गरेको दावी गरेको छ। बलि दिनका लागि उनलाई लगिँदै गरेको सूचनापछि प्रहरी मुभ भएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर र धादिङकी २६ वर्षीय प्रेममाया तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

'उनीहरुले बयानमा स्वीकार गरेका छन्। बलि दिनको लागि भारत लैजाने योजना बनाएको उनीहरुले बताइसकेका छन्,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

तर, प्रहरीले वयान बाहेक बलि दिनकै लागि उनलाई लगिएको हो भन्ने प्रमाण जुटाउन सकेको छैन। मोडल युवतीलाई उद्धार गर्दा अभियुक्तको साथबाट तान्त्रिक पूजाका सामाग्री पनि बरामद गरेका थिए।

पुस ४ गते परिसरमा उजुरी परेपछि प्रहरीले मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो। विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

युवतीलाई प्रेममाया तामाङले मोडलिङ गर्न शुरुमा प्रस्ताव गरेकी थिइन। उनले युवतीको ६ फिट उचाई नाप गरी त्यसको भिडियो विराटनगरमा रहेका उमेश साहलाई पठाइन्। त्यसपछि उनलाई विराटनगर लैजाने योजना बनेको थियो। उमेश मुख्य योजनाकार भएको खुलेको छ। साहको पनि ग्रहदशा बिग्रिएको र एक जना बाबाले युवतीलाई तान्त्रिक पूजा गरेपछि पार पाइने भनेपछि योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको हो।

'साहले आफ्नो पनि दशाग्रह जाने भएपछि मोडल युवती भारतसम्म पुर्‍याएर पूजा गर्ने योजना भएको खुलेको छ,' डिएसपी बोगटीले भने।

कृष्णा तामाङले काठमाडौंबाट विराटनगर जाने हवाई टिकट काटेकी थिइन्, मोडलका लागि। दिलकुमारी बुढा युवतीसँगै विराटनगर पुगेकी थिइन्। विराटनगरमा रहेका उमेश साहले भ्यानमा राखेर उनलाई राम जानकी मन्दिरको खाजा घरमा लगेका थिए। त्यसपछि विराटनगर जलजलाचोक स्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ बुक गरेर युवतीलाई राखिएको थियो।

त्यहाँ फेरि युवतीको उचाई लगायत महिनावारी भए नभएको, घाउ चोटपटक, अप्रेसन गरे नगरेको जाँच गरेका थिए। कृष्ण र उमेश बाहिर गएर युवतीलाई तान्त्रिक पूजाका लागि सीमा पारी लगेर पूजा गराउने भन्दै अपरिचित व्यक्तिहरुसँग कुराकानी गरेको प्रहरीले जानकारी पाइसकेको थियो। उनीहरुको छलफलमा उमेश माझी, रंजित कुमार चौधरी, दिलिप पोदारसँग समेत छलफल गरी तान्त्रिक पूजाका सामाग्रीसहित युवतीलाई मोडलिङका लागि आवश्यक सामान कपडा किनाउने बहानामा जोगवनी पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फूलचोक बुढीगंगा १ वाट कोभर्ट अप्रेसनमा रहेको प्रहरीले नियन्त्रणमा लिएको थियो।

अर्का योजनाकार दिलिप पोदारले भारत बिहारको मन्दिरको तन्त्रिक लगायतसँग सम्पर्क गरेको देखिएको छ। संलग्न प्रेम माया र कृष्णले ५ लाख रुपैयाँ पाउने लोभमा युवतीलाई भारत लैजाने प्रकृयामा संलग्न भएको देखिएको छ।

यो पनि पढ्नुहोस

डेढ वर्ष अघिको त्यो घटना जसले सपनालाई बलिबाट जोगाउन सघायो

सपनाले पाएको त्यो 'क्लु' जसले बली चढाउने योजना भयो चकनाचुर, बाबु बनेर प्रहरी अधिकृतको 'कोभर्ट अपरेसन'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell