PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सपना स्टाफ नर्सको, यात्रा सिडिओको : ‘टेम्पोमा टच गर्नेलाई सेफ्टी पिनले घोचेर प्रतिकार’



सपना स्टाफ नर्सको, यात्रा सिडिओको : ‘टेम्पोमा टच गर्नेलाई सेफ्टी पिनले घोचेर प्रतिकार’

  • फूलमाया पुरी-

२०५० चैत २६ गते, स्टाफ नर्सको इन्ट्रान्स परीक्षा। परीक्षा केन्द्र काठमाडौं। ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं उड्न हवाई टिकट लिइन् उनले।

स्टाफ नर्स बन्ने धोको। प्रवेश परीक्षाका लागि सम्पूर्ण तयारी पनि पुरा भयो। तर, २७ गते उनले ‘आवा’मार्फत् सुनिन्, ‘स्टाफ नर्सको प्रवेश परीक्षा सम्पन्न भएको छ।’

त्यही प्रवेश परीक्षा छुटाएकी लीलाकुमारी केसी रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनिन्।

‘भोलिपल्ट काठमाडौंको फ्लाइट थियो। परीक्षा अघिल्लो दिनै सकिएछ,’ भर्खर एसएलसी दिएर बसेकी लीलालाई फसाद पर्‍यो।

अखिर पढ्न त काठमाडौं आउनु नै थियो। २८ गते काठमाडौं उडिन् उनी। त्यहीबाट मोडियो लक्ष्य।

‘सपना थियो स्टाफ नर्स बन्ने। तर, बनियो सिडिओ,’ लीलाकुमारीले आफ्नो सिडिओ यात्राबारे सुनाइन्।

र, २०७५ वैशाखमा रामेछापले पहिलो महिला सिडिओका रुपमा स्वागत गर्‍यो उनलाई।

निजामती यात्राको १५ औं वर्षपछि जिल्लाको प्रमुख हुँदाको अनुभव कस्तो रह्यो त?

‘नियुक्तीको निर्णयले त खासै फरक पारेन। तर जब बधाईसहितका अनेकौं फोन आउन थाल्यो, तब विशेष नै पो भएछु भन्ने लाग्यो,’ सिडिओ बनेपछिको पहिलो अनुभव सुनाइन् केसीले।

ओखलढुङ्गाको सदरमुकाम सिद्धिचरणमा जन्मिएकी लीला छ जना दिदीबहिनीमा कान्छी हुन्। बुबा खड्गबहादुर खत्री प्रधानपञ्च र आमा चन्द्रकला।

त्यस समय गाउँघरमा छोरीलाई खासै स्वतन्त्रता थिएन। तर, लीलाका बुबाले दुई छोरालाई मात्र होइन, छोरीहरुलाई पनि पढाए।

खड्गबहादुर छोरीहरुलाई भन्थे : छोरीले आफ्नै खुट्टामा उभिने हो। किनकी श्रीमान भनेको छानेर पाउने होइन, तिनलाई परीक्षण गर्न पनि मिल्दैन। तर आफूले आफूलाई परीक्षण गर्न मिल्छ।

जाल्पा प्रावि गैरीगाउँमा कक्षा पाँचसम्मको पढाइ। सगरमाथा जनता माविबाट एसएलसी। त्यसपछिको सपना त नर्स नै बन्ने थियो। तर जब स्टाफ नर्सको प्रवेश परीक्षा छुट्यो तब उनको सपना मोडियो।

‘परीक्षा दिन काठमाडौं आइपुग्नुपर्ने। ओखलढुङ्गाबाट काठमाडौं आउन हवाइ सुविधामात्र थियो। दाइले प्लेनको टिकट मिलाइदिएका थिए। आवाबाट सूचना आयो। परीक्षा त सक्किसकेछ,’ हाँस्दै उनले भनिन्, ‘मिस कम्युनिकेसन भएको रहेछ। परीक्षा छुटेपनि पढ्नु त पर्‍यो। प्लेन चढेर काठमाडौं आएँ।’

प्रवेश परीक्षाको दोस्रो दिनमात्रै काठमाडौं आइपुगिन् उनी।

पहिलोपटक देखिन् गाडी। अनि टेलिफोन पनि।

‘बस यहीँ देखेँ पहिलोपटक, कति पटक फोन उठाउनै जानिनँ।’

कानुन पढेर वकालत गर्ने सोच बनाइन्। तर, दाजुको सुझाव थियो- ‘शिक्षा संकाय रोज्नु।’

त्यसपछि उनको लक्ष्य बद्लियो। उनले प्रोफेसर बन्ने सपना देख्न थालिन्।

सेफ्टी पिनले घोचेर प्रतिकार

त्यतिबेला उनी बानेश्वरमा बस्थिन्। पढ्नका लागि ताहचाल धाउनुपर्ने।

टेम्पो चढेर जान्थिन् उनी। धेरै पटक अन्जान पुरुषको अस्वभाविक व्यवहार भोगिन् उनले। यात्रुहरु उनलाई अनावश्यक छुन खोज्थे। त्यसको उनी सोझै प्रतिकार गर्थिन्।

‘टेम्पोमा मलाई जसले जबरजस्ती टच गर्थे नि? उसलाई सेफ्टीपिनले घोचिदिन्थें,’ ती दिन सम्झँदै हाँसिन् उनी।

२०५१ मा महेन्द्र रत्न क्याम्पसमा भर्ना भएकी २०५८ मा स्नातकमा गोल्ड मेडलिस्ट बनेर निस्किइन् ताहचालबाट।

पढाइमा मेहनती उनलाई शिक्षण पेशामा रमाउने र विद्यावारिधीसम्मको अध्ययन गर्ने रहर थियो।

तर, फेरि एक पटक उनको लक्ष्य मोडियो। स्नातकोत्तर जनसंख्यामा हुने भयो। भर्ना त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा। त्यही वर्ष लोकसेवाले कोर्स परिवर्तन गरेको थियो।

उनलाई दाइले लोकसेवा परीक्षा दिन सुझाए। लोकसेवाका लागि तयारी कक्षा लिइन्। पहिलो पटकमै अधिकृत तहमा पास। भन्छिन्, ‘साथीले पास भएको खबर सुनाइन्, म त घरबस्दा लगाएकै कपडामा हुर्रिँदै ट्याक्सी लिएर लोकसेवाको कार्यालयमा कमलपोखरी पुगेछु।’

नेदरल्यान्डदेखि नाम्चेसम्म

पाण्डेको पहिलो पोस्टिङ जनसंख्या तथा वातावरण मन्त्रालय। तत्कालिन ७५ वटै जिल्लामा उक्त मन्त्रालयको कार्यालय नभएको हुँदा जिल्ला विकास समितिमार्फत जनसंख्या व्यवस्थापन र किशोरावस्था र वयस्कका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने शाखामा उनको जिम्मेवारी थियो।

२०६४ मा स्वास्थ्य र जनसंख्या मन्त्रालय एक भयो। त्यहीबाट उनी उडिन् बैंकक। बैंककबाट फर्किँदा उनी अर्कै शाखामा सरुवा भइन्। भनिन्, ‘एक दिन प्रमुखले संवेदनशिल मुद्दा उठाउन भन्नुभयो। जुन मेरो अधिकार क्षेत्रभित्र नपरेकाले उठाइन्। लगत्तै म बैङ्कक गएँ। फर्किँदा रुचिभन्दा बाहिरको शाखामा सरुवा गरिएको रहेछ।’

उनी अध्ययनका लागि नेदरल्याण्ड पुगिन् सन् २००९ मा। नेदरल्यान्डमा असली पढाई शुरु भएको बताउँछिन् उनी। भन्छिन्, ‘त्यहाँ त हड्डी घोटेर चन्दन लगाए जसरी पढाइमा मेहनत गरेँ। जसले मनोबल अझ बलियो बनायो।’

विकासका लागि सिस्टम आवश्यक छ भन्ने सिकिन् त्यहाँ। एक वर्षे अध्ययन सकेर फर्किइन् उनी।

सन् २०११ को ‘डेमोग्राफी हेल्थ सर्भे’को एउटा च्याप्टरलेखिन् उनले। निजामती यात्रामा यो च्याप्टर लेखनलाई अवसरकै रुपमा लिन्छिन् उनी। त्यसपछि उनको सरुवा भयो पर्यटन मन्त्रालयमा।

पर्यटनमन्त्रालय अन्तर्गत उनको कार्यथलो बन्यो सोलुखुम्बुको नाम्चे। बढुवाको लागि नम्बर बढाउन त्यहाँ गएकी थिइन् उनी। भनिन्, ‘दुर्गममा गएपछि ४ नम्बर थपिन्थ्यो। बढुवाका लागि सहयोगी। त्यसैलेपनि रोजेकी थिएँ पर्यटकीय स्थल नाम्चे।’

लुक्लाबाट दुईदिन हिँडेर पुगिन् नाम्चे। उसो त पहिलो पटक पर्यटन बार्डको कार्यालय स्थापित गर्न पुगेकी थिइन् उनी। 'धेरै पर्यटक आउने हुँदा सरकारले कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो,' त्यसैलाई कार्यान्वय गर्न पुगेको उनले बताइन्।

तर, नाम्चेमा नेपाल सरकारलाई कसले चिन्थ्यो र। भनिन्, ‘चिनोस् पनि कसरी। स्कूल, बाटो, स्वास्थ्य चौकी हिलारीले बनाएको।’

नाम्चेमा लीलाका सुरुवाती दिन सकसपूर्ण बन्यो। बस्नका लागि कोठा नै नपाएकोले आर्मीसँगको समन्वयमा केही दिन होटलमा बसेको पनि उनले सुनाइन्।

उनलाई बस्नमात्र होइन कार्यालय स्थापनाका लागि पनि कोठा पाउन मुस्किल भयो। त्यहीका स्थानीय सोनाम ग्याल्बोको सहयोगले सहज बनायो। एक जना कार्यालय सहयोगी पनि राखिन्। उनले सीमा प्रशासनको नाममा रहेको जग्गामा पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि सबै व्यवस्था गरेकी थिइन्।

महिला भएकै कारण अपमानित

नाम्चे जाने सहमतिपत्र लिँदा पहिलो पटक अपमानित महसुस गरिन् उनले।

‘सहमतिपत्रका लागि पर्यटन मन्त्रालय जाँदा एकजना उपसचिवले महिलाहरु कोही कामै गर्दैनन्, धेरै पनि भइसकें। त्यसैले महिलालाई सहमतिपत्र नदिने भन्दा एकदम अपमानित भए झैं लाग्यो,’ भनिन् लीलाले।

तर, सहेर बस्ने अवस्था पनि थिएन।

जवाफ फर्काइहालिन्, ‘सर पुरुष पनि धेरैले कार्यालय क्षेत्रमै जाँड खाएर हिडेका छन् नी त, मैले पनि हजुरलाई त्यही नजरले हेर्ने? सबैलाई एउटै डालामा राखेर हेर्न त भएन नि!’

महिला अघि बढे पुरुष,परिवार, समाज र राज्य अघि बढ्ने बुझ्न जरुरी भइसकेको उनी बताउँछिन्।

रटेर लेखेको भरमा बढुवा

करिब एक वर्ष नाम्चेको बसाइपछि उनको सरुवा भयो सामान्य प्रशासन मन्त्रालय जनशक्ति विकास शाखा काठमाडौं।

त्यहाँ उनले सबै क्षेत्रका निजामती कर्मचारीको छात्रवृतिको पाटो हेरेकी थिइन्। माग फारममा आएको दबावलाई कार्यप्रणालीलाई आधार बनाएर तर्क दिने गरेको उनले सुनाइन्।

प्रशासनमै हुँदा उनको उपसचिव तहमा आन्तरिक बढुवा भयो। सेवामा खटेको बाह्र वर्षपछि। २०७१ चैत्रमा। बढुवाको बाटो प्रष्ट नहुँदा आफ्नो पदोन्नति ढिला भएको लाग्छ उनलाई। भनिन्, ‘कामका आधारमा मूल्याङ्कन हुनुपर्छ नि, तर हाम्रोमा रटेर लेख्नुपर्छ।’

थपिन्, ‘मलाई नै हेर्नुस न अधिकृत तहमा पास गरेको १२ वर्ष पछि उपसचिव तहमा पुगेँ। किनकी मैले मेरो कामलाई फोकस गरेँ। परिवारलाई पनि समय दिँदा घोकेर पढ्न सकिन। जसले गर्दा खुल्ला लिखितमा नाम निकाल्न सकिनँ।’

त्यसैले लोकसेवाले परीक्षा प्रणालीलाई सुधार्नु पर्ने उनले बताइन्।

पावरको खेलमा करोडौंको योजना

सामान्य प्रशासन मन्त्रालयको एक वर्ष बसाइपछि उनको सरुवा भयो राष्ट्रिय योजना आयोग काठमाडौंमा। जिम्मेवारी थियो पूर्वाधार विकास। धेरै योजना बनाए पनि लगानी कम हुनु नै विकासको कमजोरी भएको बताउँछिन् लीला। भनिन्, ‘पावरको खेलमा एक करोड बजेटको योजना बनाउने तर पाँच लाख छुट्याउने, सबैको चित्त बुझाउन विकासमा परेको प्रभावलाई नजरअन्दाज गर्नाले बजेट छरिएको पाइन्छ।’

स्थानीय तहको बजेट पनि यस्तै भएको उनी बताउँछिन्।

‘स्थानीय तहमा पनि बजेट छरिएकै छ। संघसंस्थाका योजना र बजेट पनि छरिएकै पाइन्छ,’ उनले भनिन्।

करिब तीन वर्ष योजना आयोगको बसाइपछि सरुवा भयो गृह मन्त्रालयमा। गृहमा उनले आव २०७४/७५को नीति तथा कार्ययोजना बनाइन्। केन्द्रमै रहेर योजना शाखामा काम गरिन्। त्यही अनुभवले उनलाई अहिले मन्थलीमासहज बनाएको छ। एक वर्ष केन्द्रमा बसेपछि उनी जिल्लामा खटिइन्। १५ वर्षको सेवापछि पहिलो पटक सिडिओ भएकी हुन् उनी।

सिडिओ भएपछि शुरुमा हच्किएकी लीला पछिल्ला दिनमा भने काममा निर्धक्क छिन्। भन्छिन्, ‘स्थानीय र कर्मचारीको सहयोग छ।’

रामेछापमा समन्वयकारी भूमिका र शान्ति सुरक्षा व्यवस्था मुख्य जिम्मेवारी छ उनको।

काठमाडौंबाट नजिक तर विकासमा पछि परेको छ रामेछाप। राजमार्गले नछोएको जिल्ला। सम्भावना धेरै भएपनि विकास कम। त्यस्तै पर्यटकीय र आधुनिक कृषिमा अगाडि बढ्न सक्ने। किवि र सिमिको राम्रो उत्पादन भए पनिबजार नपाएको बताउँछिन् सिडिओ पाण्डे।

‘उमाकुण्ड र दोरम्बा गाउँपालिका अति नै विकट छन्,’ उनले भनिन्।

स्थानीय तहका ६४ वटा वडामा अहिलेसम्म ४० वडा पुगिसकेकी छिन् उनी।

नागरिक मैत्री सेवा प्रवाहबारे नागरिकले महसुस गरेका छन् कि छैनन् भनेर बुझ्न वडामा पुग्ने गरेको बताउँछिन उनी।

त्यस्तै वडाको सिफारिसमा जिल्ला प्रशासनले नागरिकता र पासपोर्टलगायतका प्रमाणपत्र वितरण गर्ने हुँदा पनि स्थानीय निकायसँग भएका कमजोरी र समन्वयका विषयमा छलफल पनि गर्ने गरेको उनले बताइन्।

नागरिकमा अझै पनि सिडिओको हाउगुजी

कतिपय स्थानीयले अहिलेसम्म सिडिओनै देख्न नपाएको भेटाइन् उनले। सुनापति गाउँपालिकाको गुन्सीमा पुग्दा ७५ वर्षका वृद्धले उनलाई फूलमालाले स्वागत गर्दै भनेका थिए - छोरीहरु भगवतीका रुप हुन्।

‘त्यो भनाइले भावुकमात्र बनाएन। बितिसकेका मेरा बुबाको झल्को दियो,’ लीलाले भनिन्।

भनिन्, ‘कतिपय गाउँमा त जिल्लाको प्रमुख कस्तो हुन्छ भन्ने कल्पना पनि गर्दा रहेनछन्। त्यसैले म गएकोमा नै खुसी देखिन्थे उनीहरु।’

एक वर्षसम्मको सजाय हुने मुद्दा हेर्ने अधिकार छ उनलाई।

महिला हिंसाका घटना आर्थिक र मादकपदार्थसँग जोडिने उनको भनाइ छ। भन्छिन्, ‘परम्परागत मान्यता र चलिआएका सामाजिक संस्करमा परिवर्तन गर्न समय लाग्छ।’

नागरिकमा अझै पनि सिडिओ प्रतिको डर देखिन्छ। यो संवेदनशील र कठोरता बोकेको पद हो। कतिले त महिला भएर कस्तो कठोर भन्छन्। तर कानुन कार्यान्वयन गर्न कहिले काँही कठोर भएपनि समाजमा भए जस्तो हाउगुजी नहुने उनको अनुभव छ।

उनले भनिन्, ‘सिडिओ त जनताको सेवक हो नि।’

यस कार्यालयले जिल्लाको सम्पतिको सुरक्षा र सही तरिकाले अभिलेख गर्ने काम गर्छ। तर कर्मचारीको अभाव र उनीहरुलाई आकर्षण र उर्जाका लागि कुनै कार्यक्रम नै नहुने उनले बताइन्।

सरकारी सेवामा पनि इमान्दार साइड लगाइदिँदा दु:ख लाग्छ उनलाई। भन्छिन्, ‘यो क्षेत्रले मेहनत गर्ने जो कोहीलाई उज्जवल भविष्य दिन्छ। नयाँ सिकाइको अवसर जुराउँछ। तर इमान्दारपछि पर्ने र अरु पहुँचको भरमा अघि बढेको देख्दा दु:ख लाग्छ।’

जिल्ला हेरेर चुनौती र राजनीतिक प्रभाव भएपनि तटस्थ भएर कर्तव्य निर्वाह गर्न सक्नुनै प्रजिअका लागि मुख्य चुनौति ठान्छिन् उनी। भन्छिन्, ‘राजनीतिक प्रभावले मलाई छुँदैन। आएदेखि नै आधा कपडा झोलामै छन्, विधि विधानभन्दा बाहिर रहेर काम गर्दिनँ। त्यस्तो आइपरे बाँकी कपडा राखेर हिँड्नेछु।’

***

रामेछापको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत पाण्डे अब गृह मन्त्रालयमा सरुवा हुने भएकी छिन्। आइतवारको मन्त्रिस्तरीय निर्णयबाट सरुवाको निर्णय भएको हो। उनको स्थानमा रुद्रादेवी शर्मा केही दिनमा रामेछापमा पुग्नेछिन्।

सिडिओको अनुभव श्रृखलाः-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell