PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

सारंगीको र्‍याइँर्‍याइँसँगै चोकचोकमा घन्किँदैछ ट्राफिक सन्देश, होला त नियम पालनामा बढोत्तरी?



प्रकाश भण्डारी

सारंगीको र्‍याइँर्‍याइँसँगै चोकचोकमा घन्किँदैछ ट्राफिक सन्देश, होला त नियम पालनामा बढोत्तरी?

काठमाडौं : बिहान साढे ११ वजे नेपाल वायुसेवा निगम (एनएसी) अगाडिको सडकमा अरु दिनको जस्तै सवारी चाप छ। 

गाडी चढ्ने र झर्नेहरुको भीड। कोही घाम ताप्दै प्रतिक्षालयमा बसिरेहका छन्। एनएसी हुँदै न्युरोड तथा सुन्धारा जानेको पनि बाक्लै भीड छ। गाडीका सहचालक यात्रुलाई बोलाइरहका छन्, चर्को स्वरमा।

बाँया तिरको सडक किनारमा गाढा निलो रंगको गाडी रोकिराखेको छ।

गाडीको पछाडिको भागमा (ट्रलिमा) बसेर दुई जना सुन्तला रंगको ज्याकेट लगाएकाले सारंगी बजाइरहेका छन्। तिमध्ये एक जनाले मादल पनि बजाइरेहका छन्।

गाडीको एकातिरको भागमा ‘समुदाय-प्रहरी साझेदारी ट्राफिक उज्यालो अभियान २०७६ फाल्गुन’ लेखिएको ब्यानर टांगिएको छ।

दायाँ बायाँ दुई जना ट्राफिक छन्।

उनीहरुमध्ये एक जना मादल बजाउदै छन् र अर्को एक जना सारंगी बजाएर गाउनेलाई माइक समाइदिएका छन्। एनएसी वरिपरिको माहोल सांगीतिक छ। गाडीमा सारंगी रेट्दै गाइरहेकाहरुलाई सुन्नेको भीड पनि उत्तिकै छ।

गाडीबाट झर्नेहरु सारंगीको धुन सुनेपछि के रहेछ छ भनेर हतार हतार भीडमा उभिन्छन्। कोही फोटो खिच्दैछन् त कोही भिडियो।

उनीहरुले माया प्रेमको कुनै गीत भने गाइरहेका होइनन्।

उनीहरुले गाइरहेको गीत यस्तो थियो :

मान्नै पर्ने ट्राफिक नियम
नमानेमा जान्छ है जीवन

ट्राफिक नियम पालनाका लागि चेतना जगाउन काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले सारंगी बजाएर सचेतनात्मक कार्यक्रम गरिरहेको छ।

यसै कार्यक्रम अनुसार सांरगीको धुनमा ट्राफिक चेतना छरिरहेका छन्, सांरगी बाधकहरु।

पहिलोपटक ट्राफिकले सारंगीमार्फत चेतना फैलाउँदै

काठमाडौं महानगरपालिकाको मुख्य चार वटा फरक फरक चोकमा सांरगी बजाउँदै दैनिक सचेतना जगाउने काम भइरहेको छ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा अभियान थालिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

सांरगी बजाउनेले दैनिक पारिश्रमिक पाउने छन्। माघ २९ गतेदेखि शुरु भएको अभियान फागुन महिना भरी नै चल्ने प्रवक्ता श्रेष्ठ बताउँछन्।

ट्राफिक नियम तथा स्वच्छ वातावरणको लागि सचेतना कार्यक्रम सांरगी मार्फत थालिएको उनको भनाइ छ।

‘मान्छेहरुलाई सांरगीमार्फत चेतना जगाएमा बढी प्रभावकारी होला भनेर अभियान थालिएको हो, हेरौँ अब यसको सबै क्षेत्रबाट कस्तो प्रतिक्रिया आउँछ। अहिलेसम्म राम्रै प्रतिक्रिया आइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने।

उनका अनुसार रत्नपार्क, एनएसी, ट्राफिक प्रहरी महाशाखा रामशाह पथ, बानेश्वर, कोटेश्वर, एरपोर्ट गेट अगाडी, कलंकी, नयाँ बसपार्क लगायतका ठाँउमा सचेतना कार्यक्रम भइरहेको छ। 

पूर्वट्राफिक निरीक्षक सिताराम हाछेथुलाई ट्राफिकको यो अभियान निकै मन परेको छ।

उनी आफू ट्राफिक प्रहरीमा रहेको बेला गरेका कामलाई सम्झदै भन्छन्, ‘मैले बीस पच्चिस वर्ष अगाडी आकाशे पुलबाट बाटो नकाट्नेलाई फूल दिएको थिए। ती मान्छे मलाइ अहिले पनि भेटेर मैले तपाईंको हातबाट फूल पाएको थिएँ भन्छन्।’

उनी मान्छेलाई गीत संगीतमार्फत सम्झाएमा त्यो लामो समयसम्म सम्झना हुने बताउँछन्।

मान्छेलाई नियम मान मान भन्दा झर्को मान्ने र नियम उल्लंघन भएकाले पनि यस्ता कार्यक्रम देशैभरी गर्नु जरुरी भएको उनको धारणा छ।

उनी भन्छन्, ‘यो पूर्ण सफलता होइन। तर पनि हामीले ५ दश जनालाई मात्रै सचेत बनाउन सक्यौं भने पनि भैहाल्यो, त्यसले ठूलो अर्थ राख्छ समाजमा।’

होला त ट्राफिक नियमको पालनामा बढोत्तरी?

ट्राफिक प्रहरी र विभिन्न सरोकारवाला निकायले ट्राफिक नियम पालनका लागि विभिन्न सचेतनाका कार्यक्रम अघि बढाएपनि नेपालमा ट्राफिक नियम उल्लंघनका घटनामा उल्लेख्य रुपमा कमी आएको छैन।

नियम उल्लंघनका कारण पनि साना ठूला सवारी दुर्घटना भइरहेको ट्रफिक प्रहरी बताउँछन्। सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि डरलाग्दो छ। हरेक वर्ष दुई हजार भन्दा बढीको सडक दुर्घटना मृत्यु हुने गरेको छ।

यो आँकडा घट्नुको साटो पछिल्ला पाँच वर्षमा बढिरहेको छ। आर्थिक वर्ष २०७१/७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। तर पाँच वर्षको अन्तरालमा यो सङख्या बढेर २ हजार ७ सय पुगेको छ।

कतिपय ठूला दुर्घटना समेत ट्राफिक नियमको पालना नगर्दा भइरहेका छन्।

यो अभियानले नियम पालनमा के कतिको प्रभाव पार्ला? भन्ने प्रश्नमा पूर्वट्राफिक निरीक्षक हाछेथु ट्राफिक प्रहरीले यसलाई मात्रै सबै चिज हो भने भुल हुने बताउँछन्।

यो एउटा सिर्जनात्मक उपाय भएको उनी बताउछन्।

‘यसले त मान्छेको ध्यान तान्ने हो नि कसैलाई करकाप गर्नुपर्दैन। तर यो मात्र सबै चिज होइन,’ उनले भने।

ट्राफिक इन्जिनियर आशिष गजुरेलले सडक दुर्घटना एउटा कारणले मात्रै नहुने बताए। ट्रफिक नियम पालना नगर्दा दुर्घटना हुनु एउटा कारण भएको तर सडक दुर्घटनालाई एउटा सिस्टमको रुपमा हेर्नुपर्ने उनको धारणा छ

‘हाम्रोमा समस्या के हो त्यो नै पत्ता लागेको छैन। ८० प्रतिशत चालकको कारणले भन्ने गरिन्छ’, उनले भने, ‘त्यो सत्य होइन। त्यसरी भन्ने भए शतप्रतिशत नै भनिदिए भयो। उसैको हातमा स्टेरिङ हुन्छ। सडक दुर्घटनालाई सिस्टमको रूपमा हेर्नुपर्‍यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell