PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

विस्थापनविरुद्ध संघर्षमा खोकनावासी, भन्छन् : यो अन्तिम महोत्सव नहोस्



सहयोग रञ्जित

विस्थापनविरुद्ध संघर्षमा खोकनावासी, भन्छन् : यो अन्तिम महोत्सव नहोस्
महोत्सवका तस्विर : खोकना पर्यटन महोत्सवको फेसबुक पेजबाट

काठमाडौं :  साँघुरा गल्लीमा वृद्धाहरु सुकुल बनाउँदै गरेको देखिए। परम्परागत शैलीमा खाद्यान्न उत्पादन गर्नेहरुको भिड बेग्लै। उनीहरु परम्परागत औजार चलाउनमा व्यस्त। जिब्रो पड्काउँदै नेवारी परिकारमा चाख्ने युवाहरुको जमात पनि उत्तिकै। केही समूह भने दिनभरी अनेक बाजा बजाउँदै शहर परिक्रमामा।

साँझ सांस्कृतिक कार्यक्रम- नेपाल भाषाका गीत र दाफा भजनहरुले रौनक थप्यो माहोलमा। अवसर थियो- जावलाखेलबाट करिव सात किलोमिटर दक्षिणमा रहेको पुरानो नेवार बस्ती खोकना महोत्सवको। 

तोरीको तेल र खुर्सानीका लागि प्रख्यात यस शहरले महोत्सवमा आफ्नै सांस्कृतिक विरासत प्रदर्शन गर्‍यो। त्यहाँ घुम्न हजारौं मानिस पुगे।

जो खोकना पुगे, सबैले सत्कार देखे, त्‍यहाँको संस्कृति र नाचगानमा रमे। खोकनावासी पनि खुशी हुँदै आफ्नो शहरमा आएकालाई स्वागत गर्नमा नै व्यस्त रहे।

आइतवार महोत्सव सकियो। अब खोकनावासी महोत्सवको खुशीलाई बिट मार्दै फेरि आन्दोलनको तयारीमा छन्। किनभने उनीहरु भर्खरै सकिएको 'खोकना पर्यटन महोत्सव'लाई अन्तिम बनाउन चाहँदैनन्।

खोकनाले सरकारसँग विद्रोह थालेको धेरै भयो। माइतीघरमा खोकनावासी धेरैपल्ट उत्रिए। सरकारका योजनाहरुका कारण आफ्नो ऐतिहासिक शहर नै नष्ट हुने भन्दै विरोध गर्दै आइरहेका छन्। बुंगमतीले पनि उनीहरुको साथ दिएको छ।

खोकना र बुंगमती हुँदै काठमाडौं-तराई (मधेश) द्रुतमार्ग (फास्ट ट्रयाकसँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ,  नयाँ स्याटलाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ। फास्ट ट्रयाकका कारण खोकनाको कुदेश र सिकाली मन्दिरमा असर पर्ने भन्दै स्थानीयले विरोध गर्दै आएका हुन्।

सरकारले सबै परियोजना एकै स्थानमा ल्याएर ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै गत माघ २८ गते उनीहरु माइतीघरमा उत्रिएका थिए विरोधका लागि। उनीहरुले सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरे। त्यसको केही सातामा नै उनीहरु खोकना चिनाउन महोत्सवमा होमिएका थिए।

केही दिनको रमझमपछि फेरि खोकनावासी आफ्नो शहर बचाउन सडक संघर्षको तयारीमा जुटेको बताउँछन् नेपालमान डंगोल। 

'हामीले महोत्सवलाई बिथोल्ने प्रयास गरेनौं। किनभने यो हाम्रो शहर चिनाउने अवसर थियो। तर, यो महोत्सवलाई हामी अन्तिम पनि बनाउन चाहँदैनौं। त्यसैले हामी फेरि विरोधका कार्यक्रम सहित अगाडि आउँछौं।'

स्थानीय सरकारको आयोजनामा नेपाल भ्रमण वर्षको प्रवर्द्धन हेतु गरिएको महोत्सवमा आफूहरुले खोकनाबाट आफूहरु विस्थापित हुन सक्ने आशय घुम्न आएकाहरुलाई दिएको नेपालमानको दाबी थियो।

'गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभयो। हामीले उहाँलाई स्थानीय सरकारमार्फत् खोकनाको पीडा बताएका थियौं। केही भएको छैन। वडामा रहेका पनि हाम्रै दाजुभाइ हुन्। उहाँहरुले साथ दिनु भएन,' उनले भने। 

यता, वडा २१ का अध्यक्ष रवीन्द्र महर्जन भने आफूहरु पनि विस्थापनको विरुद्धको रहेको बताए।

'यो महोत्सव हामीले यहाँको सम्पदा संरक्षणका लागि नै गरेका हौं। सबै विकास योजनाहरु एकै ठाउँमा  हुन नहुने भन्ने कुरामा हामी पनि सहमत छौं। हामीले यस बारेमा सरोकारवाला निकायहरुको ध्यान केन्द्रित गराएका छौं,' उनले भने।

महर्जन यो महोत्सवमा उल्लेखनीय संख्यामा मानिस सहभागी भएकाले खोकनाको महत्व झन् बढेको बताउँछन्। त्यसैले सबैलाई साथमा लिएर सम्पदा संरक्षण गर्दै खोकनामा आगामी दिनमा पनि यस्तै महोत्सव संचालन गर्ने उनको मत छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell