PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं छाड्दैमा सुरक्षित छैनन् कोही, गाउँघरमा पनि उस्तै सतर्क रहनुस् है !  



सहयोग रञ्जित

काठमाडौं छाड्दैमा सुरक्षित छैनन् कोही, गाउँघरमा पनि उस्तै सतर्क रहनुस् है !  

नमस्कार !

विषयमा प्रवेश यहीबाटै गरौं।

केही दिनयता बसपार्कमा भिड लागेको छ। काठमाडौं उपत्यका अलि सुनसान हुँदैछ। विश्वभर फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणको त्रासका कारण लाखौं मानिस उपत्यका छाड्दैछन्। कोरोना भाइरसबाट बच्ने बचाउने उपाय भनेकै सतर्कता हो, सामाजिक र शारीरिक दुरी कायम गर्नु हो। तर, टिकट काउन्टरमा गाउँघर फर्कनेहरुको लाइन छ। बसमा कोचिएर भएपनि उनीहरु कर्मथलो छाडेर आफ्नो जन्मथलो गइरहेका छन्।

सबैलाई शुभयात्रा।

विपद् संघारमा छ। सबैलाई थाहा छ कि भाइरस जुनसुकै बेला देखिन सक्छ। चीनबाट फर्केका एक नेपालीमा भाइरसको संक्रमण देखिएको पनि थियो। तर त्यो फैलिन पाएन र त नेपाल अहिलेसम्म ढुक्क छ। तर, अहिलेको अवस्था भाइरस नेपाल आउँदैन भनेर बस्ने समय भने होइन। चीन साथै सबै दक्षिण एसियाली राष्ट्रमा यो भाइरसले कहर मच्चाएको छ। त्यसैले त नेपाल सरकारले भाइरस रोकथामका लागि भन्दै ढिलै भएपनि कदमहरु चालेको छ। सोही अनुरुप आजसम्म मात्रै लामो दुरीका सवारी साधन चल्नेछ।

‘गाउँजानु पर्‍यो। उत्तै गएर बस्ने हो, यहाँ के हुने हो थाहा छैन।’ भन्नेहरु धेरै छन्। उनीहरुको चिन्ता जायज पनि हो। किनभने काठमाडौं उपत्यकामा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल छ। मानिसको चाप बढी छ। सरकारको तयारी सबैले देखेकै छ।

भुटानले एक विदेशीमा संक्रमण देखिने बित्तकै आफ्नो सीमा पर्यटकका लागि बन्द गरेको थियो। तर हाम्रो सरकार ‘भारत र चीनले राम्रो प्रवन्ध गरेको’ भन्दै सीमा बन्द नगरी बस्यो। अन्तर्राष्ट्रिय हवाई उडान त शनिवार अबेरसम्म चल्यो। काठमाडौंमा रहेकाहरुलाई आशंका छ, सरकारको कमजोर व्यवस्थाले कत्तै भाइरस उपत्यकामा फैलिने त होइन। करिब २५ दिन अघि नै सरकारले अहिले लिएको कदम चालेको भए यो त्रास अलि कम हुने थियो होला। तर भाइरसको संक्रमणबाट अति प्रभावित राष्ट्रहरुबाट नै मानिसहरुलाई अन्तिम समय सम्म काठमाडौं ओर्लने मौका दिइयो। त्यसैको धेरैलाई लागेको छ भाइरसको पहिलो शिकार काठमाडौं हुन्छ। गाउँघरबाट आमाबुबाले आफ्नो छोराछोरीलाई यसै काठमाडौंबाट फर्क भनेका पनि होइनन् होला।

काठमाडौं सुनसान बन्दै जाँदा गाउँघरमा मानिसको चहलपहल बाक्लिएको छ। चौताराहरुमा कोरोनाकै चर्चा छ।

गाउँघर फर्किरहेका सबैलाई काठमाडौंवासीको एउटा सन्देश छ : आफ्नो गाउँलाई सुरक्षित बनाउनुस्।

चीनको वुहानबाट फैलिएको भाइरसले कुनै जात,धर्म, देश हेरेको छैन। यहाँ नेपाली सबैले बुझ्नुपर्ने कुरा के छ भने कोरोना भाइरस जुनसुकै भूगोलमा देखिन सक्छ। काठमाडौं उपत्यका बाहिर पनि।

त्यसैले काठमाडौंबाट मास्क लगाउँदै, स्यानिटाइजर हातमा दल्दै फर्केकाहरुले अब आफ्नो गाउँमा कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर सिकाउनुपर्छ।

काठमाडौं उपत्यका र शहरी क्षेत्रमा बसेर गएकाहरुलाई थाहा छ कि यो भाइरसको प्रकोप कति डरलाग्दो छ भनेर। त्यसैले गाउँ फर्केपछि आफूले लगाएको मास्क फुकाल्ने भन्दा अरुलाई पनि आवश्यक परेको खण्डमा मास्कको प्रयोग गर्ने बारेमा चेतना दिनुपर्छ।

काठमाडौंबाट फर्किरहेकाहरुले गाउँ जाँदा झोलामा साबुन, स्यानिटाइजर लग्नु भएको छ कि छैन ?  

अब गाउँ पुगेपछि साबुन पानीले आफू पनि हात धुनु र घर परिवारलाई पनि हात धुन सिकाउनु। सामाजिक र शारिरिक दुरी कायम गर्नुस्।

कोरोनाभाइरसको लक्षण एक-दुई दिनमा देखिने होइन। हप्तौं पछाडि भाइरसले शरीरमा असर देखाउँछ। त्यसैले अहिलेको अवस्थामा काठमाडौंबाट आउँदा मलाई केही भएको छैन, भोलि पनि केही हुन्न भनेर बस्नु हुँदैन। कसैले यो सोच्छ भने त्यो ठूलो गल्ती हुनेछ। युरोपियन र अमेरिकी देशहरु अहिले त्यही गल्तीका कारण ‘लकडाउन’मा छन्। त्यसैले यदी कोही काठमाडौंमा छ र घर फर्किने सकेका छैनन् भने उसलाई पनि सतर्क रहन भन्नुस्।

***

यस भाइरसले विश्वका अधिकांश देश प्रभावित भएको अवस्थामा नेपाल सबै भन्दा ‘हाइ रिक्स’मा छ। यो सबैले स्वीकार गरेकै कुरा हो। भिडभाडमा यो भाइरसको संक्रमण धेरै हुन सक्ने भएकाले सरकारले २५ जनाभन्दा धेरै एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाएको छ। त्यसैले नेवार समुदायले जात्रामा हुन सक्ने भिडभाडलाई निरुत्साहित गर्न जात्रा नै कयौं स्थगन गरेको छ। अत्यावश्यक सेवा बाहेक सबै क्षेत्रहरु आजबाट बन्द गरिएका छन्। अत्यावश्यक सेवा बारेमा सरकारले प्रष्ट नगर्दा जनता अन्यौलमा नै छ। शहरमा भिड कम भएको छैन।  

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि आराम गर्दैहुनुहुन्छ। उहाँको स्वास्थ्य लाभको कामना। यही बेला देश भने विरामी बन्दै गएको छ। ओली सरकारका मन्त्रीहरु हाललाई सबै ठिक छ भनिरहेका छन्। यता गड्डाचौकी नाकाबाट हजारौं संख्यामा मानिसहरु नेपाल भित्रिएका समाचारहरु सार्वजनिक भएका छन्। भिडियोमा देखिएको दृश्यबाट सजिलै भन्न सकिन्छ : सबै ठिक छैन।

आज माइक्रो बसबाट कार्यालय आउँदै गर्दा यसै विषयको चर्चा थियो। एकातर्फ माछापोखरीमा गाउँ फर्केनेको भिड थियो, माइक्रो बसमा यात्रुहरु भन्दै थिए, गाउँ पनि अब सुरक्षित भएन।

गड्डाचौकीबाट हजारौं मानिसमा नेपाली सहित भारतीय समेत रहेको दाबीहरु मिडिया रिपोर्टहरुमा गरिएका छन्। भारतमा ३०० जनामा भाइरसको संक्रमण देखिएको र ५ जनाको मृत्यु भएको अवस्थामा भारतबाट लाम लगाएर बिना कुनै सावधानीहरुलाई नेपाली सीमामा प्रवेश गर्न दिनु कति जायज हो? शरीरको  तापक्रम नापेको भरमा सबैलाई छुट दिने व्यवस्था कति सुरक्षित छ? सीमाबाट फर्केकाहरु सबैलाई १४ दिने क्वारेन्टाइन / सेल्फ आइसोलेसनमा बसेका छन् कि छैनन् ?  यी सबै प्रश्न अनुतरित छन्।

भारतीय गायिका कनिका कपुरले बेलायतबाट फर्किएर आएपछि हेलचेक्राइ गर्दै केही पार्टीहरुमा सहभागी भइन्। सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने उनी हाइ प्रोफाइल पार्टीमा सहभागी भएको केही दिनमा नै उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भयो। अहिले उनको एउटा सानो गल्तीले भारतको राष्ट्रपति निवाससम्म त्रास फैलिएको छ।

हेर्नुहोस् यो चार्ट : 

 

भारतमा एकजनाको गल्तीले हजारौं व्यक्तिलाई असुरक्षित बनाएको छ। कनिका विरुद्ध मुद्दा समेत दर्ता भएको छ। यता हाम्रोमा त निर्वाध रुपमा हजारौं मानिस नेपाल छिरेका छन्। न त उनीहरु ‘ सेल्फ आइसोलेटेड’ भएका छन् न त क्वारेन्टाइनमा नै बसेका छन्। यसले गर्दा नेपालको सीमा क्षेत्र सबैभन्दा धेरै प्रभावित हुन सक्ने खतरा छ। अत: अहिलेको यो अवस्थामा सरकारले तत्काल सीमा बन्द गर्नुपर्छ। नेपाल आएका सबैको रेकर्ड राख्नुपर्छ र उनीहरुलाई जसरी भएपनि सेल्फ आइसोलेसनमा बस्न भन्नुपर्छ।

यो त काठमाडौंमा रहेको सिंहदरबारभन्दा निकै टाढाको कुरा भयो। सरकारले त्रिभुवन विमानस्थलबाट फर्केका सबैलाई १४ दिने सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर सम्झौता गराएको भनिन्छ। तर यसको अनुगमन गरिएको छैन। शनिवार मात्रै सरकारले आफैले लगाएको प्रतिबन्ध उल्लंघन गर्‍यो। यसले कोभिड १९सँग लड्ने हाम्रो तयारीका बारेमा प्रश्न उठाएको छ।

सरकारले कोरोना संक्रमणको कारण खाडी तथा युरोप मुलुकबाट नेपाल आउन रोक लगाएको थियो। तर, शनिवार एयर इन्डिया र थाइ एयरलाइन्सबाट धेरै सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किए। प्रतिवन्ध लगाइएको खाडी मुलुकबाट ६२ जना नेपाल त्रिभुवन विमानस्थल उत्रे र उनीहरुलाई भक्तपुरको खरिपाटी स्थित क्वारेन्टाइनमा राखियो।

यो समाचारले चर्चा पाइरहँदा शनिवार राति सिल्क एयर समेत धेरै संख्यामा नेपाली बोकेर काठमाडौं आयो। सिंगापुरबाट उडेको विमानमा नेपाल सरकारले प्रतिबन्धित राष्ट्रका विदेशी नागरिक समेत थिए। त्यसैले अधिकारीहरुले उक्त विमानलाई फर्काउन भने। तर, नेपालीहरुले विमान भित्रै नाराबाजी गरे। अन्तत:  उनीहरुलाई विमानबाट ओरालियो। उनीहरुलाई क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइनमा राखिने भनिएको छ।  आफूले नै लगाएको प्रतिबन्ध उल्लंघन गर्दै आएको विमानलाई सरकारले फर्काउन सक्थ्यो।  

गत शुक्रवार नेदरल्यान्ड्सको एमस्टरड्यामबाट ९० जना भारतीय नागरिक बोकेर आएको केएलएम रोयल डच विमानलाई भारतले फिर्ता पठाइदिएको थियो। विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भारतले युरोपबाट आउने सबै उडान बन्द गरेको थियो। यद्यपि, इच विमान भने शुक्रवार फ्लाइट प्लान बिना नै भारतीय आकाशमा प्रवेश गरेको थियो। विमानले दिल्लीमा अवतरण गर्न विमानस्थल अधिकारीहरुसँग सम्पर्क गरेको तर ल्यान्ड गर्न अनुमती नदिइएको एनडिटिभीले उल्लेख गरेको छ।

यहाँ कुरा मानवियताको थियो। सरकारले आफ्नो नागरिक भएकाले उनीहरुलाई नेपाल प्रवेश गर्न दियो। यसका पक्ष र विपक्षमा धेरै आवाज समेत उठे। आवाज उठ्छन् पनि। कुरा जनस्वास्थ्यको जुन छ। जे हुनु भइसक्यो अब नेपाल ओर्लिएका सबैलाई क्वारेन्टाइनमा राख्नै पर्छ। सरकारले यसलाई हल्का रुपमा नलिइ उनीहरुको हिँड्डुलमा प्रतिबन्ध लगाउँनै पर्छ।

सायद यस्तै कमजोरीका कारण नागरिकहरुमा आशंका छ काठमाडौंको सिंहदरबार प्रति। र त एकै दिन लाखौं मानिस घर फर्किँदैछन्।

काठमाडौंबाट आज लाखौं दाजुभाइ दिदीबहिनीहरु टाढिँदैछन्। सबैजना सुरक्षित र सतर्क रहनुहोला।

आज थोरै टाढा हुँदैमा केही बिग्रिदैन। भोलि कोरोनालाई पराजित गरेपछि फेरि काठमाडौं आउनुहोला। हामीबीचको माया झनै गाढा हुनेछ।

यो लेख केमा पढ्नु भयो ? ल्यापटप, मोबाइल, ट्याब्लेट, डेक्सटप, केमा ? लौ अब साबुन पानीले हात धुनुस्। स्यानिटाइजर भए पनि हुन्छ। अनि, आफ्नो उपकरण पनि सफा गर्नुस्।

फेरि पनि शुभयात्रा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell