PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

सरकार ४१ हजारमा म कति नम्बरमा छु? म कहाँ पुगे के गर्दैछु? [ब्लग]



विधुर ढकाल

सरकार ४१ हजारमा म कति नम्बरमा छु? म कहाँ पुगे के गर्दैछु? [ब्लग]

यो कुनै समाचार होइन न त विचार नै हो। यो त खाली प्रश्न मात्रै हो। प्रश्नैप्रश्नको पुलिन्दा। जवाफ सरकारसँग छ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ विरुद्धको लडाईलाई प्रभावकारी बनाउन 'परीक्षण, परीक्षण र परीक्षण' लाई जोड दिएको छ। परीक्षणसँगै संक्रमितहरुसँगको सम्पर्कमा रहेकाहरुको ट्रेसिङलाई जोड दिएको छ।

नेपाल सरकारले आइतवारमात्र विदेशबाट आएका ४१ हजार १ सय ४० नेपालीको ट्रेसिङ गरेको दावी प्रस्तुत गर्‍यो। विदेशबाट आएकाहरुको सम्पूर्ण जानकारीसहित ट्रेसिङ गरिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

नेपालमा अहिलेसम्म पाँच जनामा संक्रमण देखिएको छ। संक्रमित सबै विदेशबाट आएका हुन्। हालसम्म नेपालमा एक हजार ६० जनाको स्वास्थ्य परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयको यस तथ्यांकले १ हजार ५५ जनमा संक्रमण देखिएको छैन।

नेपालमा देखिएका पाँच जना संक्रमितहरु फरकफरक देशबाट आएका छन्। यी पाँच जना चार वटा विमानमा नेपाल भित्रिएका हुन्। दुई जना भने दोहा ट्रान्जिट हुँदै कतार एयरको क्युआर ६५२ बाट नेपाल आएका हुन्।

सुरुवातको केस माघमा नै देखिएको हो। पछिल्ला चार केस चैतमा देखिए। पछिल्ला चार संक्रमित नेपाल आउँदा प्रयोगमा आएका तीन विमानमा कति यात्रु थिए? कतिको ट्र्याक भयो? सामाजिक सञ्जालमा यस विषयमा चर्चा चलेको छ। सरकारले ४१ हजार जना विदेशबाट आएकाहरुलाई ट्र्याकिङ गरेको दाबी गरिरहँदा अहिलेसम्म कोरोना संक्रमण देखिएका पछिल्ला ४ केससँग जोडिएका तीन वटा विमानबाट नेपाल भित्रिएकालाई समेत ट्र्याक गर्न सकिएको छैन। नेपालमा सबैभन्दा पहिलो केस सार्वजनिक हुँदा त अन्य यात्रुलाई सरेको हुनसक्ने आशंकासमेत गरिएन, ट्र्याकिङ त परको कुरा।

विमानस्थलबाट बाहिरिनुलाई नै ट्रेसिङ मान्ने हो भने ठीकै होला अन्यथा यो मित्थ्याङ्क बाहेक केही हुन सक्दैन। तर, मन्त्रालयले स्थानीय तह परिचालन गरेर उनीहरुलाई ट्र्याकिङ गरेको दावी गरेको छ। मन्त्रालयको पछिल्लो दावी सही हो भने किन पछिल्ला कोरोना संक्रमितहरु चढेको अन्तर्राष्ट्रिय विमान र आन्तरिक विमानबाट यात्रा गर्नेहरु किन पहिचान हुन सकिरहेको छैन त? के फ्लाइटमा आएकाको अध्यागमनको सूची र उनीहरुको ठेगाना पाउनुमात्र ट्र्याकिङ हुनु हो?

फ्रान्सबाट दोहा हुँदै चैत ४ गते नेपाल आएकी किशोरी चढेको विमानमा १ सय ५८ जना यात्रु आएको देखिएको छ। त्यसपछि ती यात्रुमा पनि संक्रमण भएको आशंकमा सरकारले उनीहरुको खोजी थाल्यो। चैत ४ गते स्वदेश फर्किएका उनीहरुमध्ये केही अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्। अहिलेसम्म विमानमा भएका १ सय ५८ जनामध्ये १ सय ३५ जना मात्र सम्पर्कमा आएका छन्।

'हामीले सबैलाई सम्पर्क गरिरहेका छौं। तर सबै जना सम्पर्कमा आएका छैनन्,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भनेका छन्। ४५ जिल्लाका मानिसहरु सो विमानबाट काठमाडौं ओर्लिएका थिए।

त्यस्तै चैत ६ गते नेपाल आएको एयर अरेवियाबाट एक यात्रुमा पनि कोरोनाको संक्रमण देखियो। विमानमा १ सय ७० जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ। संक्रमण देखिएपछि प्रहरीले त्यस विमानका यात्रुसमेत खोज्न थालेको छ। अहिलेसम्म ३२ जना यात्रुमात्र सम्पर्कमा आएका छन्।

त्यस्तै दुबईबाट भारत ट्रान्जिट पारेर आएका धनगढीका युवामा संक्रमण देखियो। दुवईबाट भारत हुँदै एयर भिस्तराको बाट चैत ७ गते नेपाल आएका थिए। उनीसँगै विमानमा १ सय ३० जना यात्रु थिए। अहिलेसम्म उनीसँगै आएका ४ जनामात्र सम्पर्कमा आएका छन्।

भिस्तराबाट काठमाडौं आएका यात्रु चैत ८ गते नेपालगञ्ज उडे। त्यसमा रहेका यात्रुसमेत खोजीमै छन्। कतार एयरको क्युआर ६५२ मा काठमाडौं ओर्लिएर यति एयरबाट पोखरा हुँदै बाग्लुङ गएकी अर्की किशोरीमा संक्रमण देखियो। यति एयरको यो फ्लाइटका यात्रु को को थिए, अझै प्रहरीले ट्र्याक गर्न सकिरहेको छैन।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा कहिले देखिको हो? भन्ने उल्लेख छैन। सरकारले चैत १० गतेदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान नै बन्द गरेको छ। त्यसअघि पनि ५५ वटा देशका नागरिकलाई प्रवेश गर्न रोक लगाएको थियो। वैसाख ३ गते सम्मलाई अन्तर्राष्ट्रिय उडान बन्द नै छ।

अब आफ्नै कुरा

उत्तरी छिमेकी चीनमा डिसेम्बरको अन्त्य देखि कोभिड-१९ को संक्रमण आउटब्रेक भयो। जनवरी १६ मा उत्तरी छिमेकी चीनबाट काठमाडौं ओर्लिएको सरासर विमानस्थलबाट बाहिरिएँ। त्यतिबेला नोवेल कोरोना भाइरस कोभिड-१९ भइसकेको थिएन्। संक्रमणको त्रास पनि कम थियो। तर, पनि सतर्कता अपनाउँदै बसेँ।

फेब्रुअरी आइपुग्दा कोभिड-१९ को संक्रमण विश्वव्यापी रुपमा फैलिँदै थियो। विश्व स्वास्थ्य संगठनले विश्वलाई नै जोखिममा राखेको थियो, नेपाल त्यसमा पर्ने नै भयो।

फेब्रुअरी १६ मा वुहानबाट नेपालीहरुलाई उद्धार गरेर नेपाल ल्याइयो।

उनीहरुलाई खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखियो।

त्यतिबेला वुहानमा लकडाउन र पूरै चीनमा सटडाउन गरिएको थियो। यसबीच चीनको वुहान बाहेकका अरु देशबाट नेपालीहरु धमाधम नेपाल आए। ती नेपालीको ट्र्याकिङ गरिएन। उनीहरु सोझै घर पुगे। सचेत नागरिक थिए, सेल्फ क्वारेन्टाइनमा बसे। आइसोलेसनमा बसे। आफै स्वास्थ्य परीक्षण गर्न टेकु पुगे। तर, टेकुबाट परीक्षण नगरी पठाइए। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेसँगै नेपालमा कति उडान भए? कति मानिस आए संख्या त विमानस्थल कार्यालयसँग होला। विमानमा को को आए भन्ने संख्या पनि अध्यागमन विभागसँग होला। तर, उनीहरु कहाँ छन् भन्ने तथ्यांक सरकारसँग छ?

सरकार यसबीच नेपाल आएको म कहाँ छु? मेरा साथीहरु कहाँ छन्? केही साथी नेपाल आएर पुन: चीन फर्किसकेका छन्। उनीहरु यहाँ आएर को को सँग सम्पर्कमा रहे? ट्रेसिङ भयो? ४१ हजारको संख्यामा म छु कि छैन? छु भने कहाँ कतिऔं नम्बरमा छु? अहिलेसम्ममा ममा कुनै संक्रमण देखिएको छैन। अहिलेसम्म तापक्रम पनि नापेको छैन। यदि ममा संक्रमण रहेछ भने मैले अहिलेसम्म कतिलाई भेटिसकेँ? मलाई नै थाहा छैन। सरकारले के तथ्यांक राखेको होला? वुहानबाट आएकालाई मात्र क्वारेन्टाइनमा राख्दैमा सबैको ट्र्याकिङ हुने हो?

अब देशकै कुरा

हवाई जहाजबाट नेपाल प्रवेश गर्नेको संख्या त सरकारसँग होला के भारत तर्फको खुला सिमानाबाट नेपाल भित्रिएकाहरुको तथ्यांक नेपालसँग छ?

सरकारले लकडाउन र सीमा नाका बन्द गरेपछि पनि स्थानीय सरकारले रोक्दारोक्दै केन्द्र सरकारको ठडो आदेशमा नेपालीहरु नेपाल आए। क्वारेन्टाइन नै भत्काएर उनीहरु घर पुगे। को कहाँ पुगेका छन्? सरकारलाई जानकारी छ?

अझै महाकाली नदीपारी नेपालीहरु भित्र पस्ने बाटो खोजिरहेका छन्। छिमेकी मुलुक भारतमा लकडाउन आयोजना गरियो। भारतमा कोभिड-१९ को संक्रमण एक हजार ३९७ पुगेको छ। मृतकको संख्या ४५।

भारतको राजधानी नयाँ दिल्लीस्थित निजामुद्दीन मरकज मस्जिदमा आयोजना गरिएको एक धार्मिक सभाबाट कोरोना भाइरस फैलिएको अनुमान गरिएको छ।

बंगलेवाली मस्जिद समेत भनिने निजामुद्दीन मरकजमा आयोजित सभामा दैनिक १ हजार भन्दा धेरै मानिस सहभागी हुने धार्मिक प्रार्थनामा सहभागीमध्ये २४ जनामा भाइरसको संक्रमण देखिएको छ। दुई सयमा भाइरसको लक्षण देखिएको छ। उक्त सभामा सहभागी भएका केही व्यक्तिको मृत्यु समेत भइसकेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कर्फ्यू’घोषणा गरेको अघिल्लो दिन धेरै संख्यामा मानिस मस्जिदमा भेला भएका थिए। प्रहरीले उक्त सभामा सहभागी भएका मानिसहरुको खोजी गरिरहेको छ। फेला परेका सबैलाई अवस्था हेरेर क्वारेन्टाइन वा आइसोलेसनमा राखिएको छ।

भारतीय प्रहरीका अनुसार उक्त सभामा भारतीयसँगै २ सयभन्दा बढी विदेशी नागरिक समेत सामेल भएका थिए। सभामा १९ जना नेपाली नागरिक समेत सहभागी भएका थिए। नेपालसँगै मलेसिया, म्यान्मार, अफगानिस्तानका नागरिक समेत त्यहाँ पुगेका थिए।

त्यस धार्मिकसभामा कोको नेपाली त्यहाँ पुगेका हुन्? उनीहरु अहिले नेपाल आइसकेकी उतै छन्? यदि नेपाल आइपुगेका हुन् भने कहाँ छन्?

गत फागुन ३ देखि ५ गते सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा इस्लामिक सम्मेलन ‘इज्तिमा’ भएको थियो। त्यहाँ नेपाल तथा भारतका करिब तीन लाख भन्दा बढी मुस्लिम समुदायका अगुवाहरु सहभागी भएको दाबी आयोजकले गर्दै आएका छन्। इज्तिमा’मा भारतको नयाँ दिल्लीका धर्मगुरु मौलाना साद साहाबलेसमेत प्रवचन दिएका थिए। सप्तरीमा सम्मेलन सकिएसँगै उनीहरु दिल्ली गए। यस टोलीमा सप्तरी आसपासका मुस्लिम समुदायका अगुवाहरु पनि दिल्ली गए।

उनीहरु नेपाल फर्किए पनि कहाँ छन् भन्ने जानकारी स्थानीय तहका प्रतिनिधिहरुलाई नै छैन।

यता पूर्व सिचाँई मन्त्री शिवकुमार यादवले दिल्ली बाट धार्मिक यात्रा गरि फर्किएकाहरुलाई तुरुन्त सम्पर्कमा आउन अनुरोध गर्दै फेसवुकमा सूचना जारी गरेका छन्। 'कृपया क्वारेन्टाइनमा बसि दिनुस्,अहिलेको लागि तपाईं आफ्नो सहित परिवार, समाज ,देशको लागि यहीँ ठूलो धर्म हुनेछ। अन्यथा ठुलो अपराध हुन जानेछ,' उनले अगाडि लेखेका छन्, 'सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि ,उहाँको परिवारजन,पडोसी,संबंधित धार्मिक समुदायको अगुवा / संघ सङ्गठन ले दबाब सृजना गर्नुपर्‍यो। रिसाउछ भनेर अहिलेको संवेदनशिलता लाई उपेक्षा न गरौं।'

 

संक्रमित सभामा पुगेर आएकाहरु संक्रमणको उच्च जोखिममा नै हुने भए। उनीहरुले समाजलाई पनि जोखिममा पारेका छन्।

फ्रान्सको एक धार्मिक सभाबाट क्लस्टर ट्रान्समिसन सुरु भएसँगै युरोपमा कोभिड-१९ महामारीको रुपमा फैलिएको तथ्यलाई नजरअन्दाज नगरौं। भारतमा क्लस्टर ट्रान्समिसनको रुपमा यही दिल्लीको सभालाई लिइएको छ। यही क्लस्टरबाट नेपालमा प्रवेश गरेकाहरुलाई ट्रेसिङ र ट्र्याकिङ नगर्ने हो भने यो क्लस्टर ट्रान्समिसन महामारीको रुपमा फैलिने छ।

सरकार संख्या भन्दा पनि नतिजामा जानुस्। कति आए भन्नुलाई ट्र्याकिङ भनिँदैन्। कहाँ के गर्दै छन् भन्ने जानकारी राख्नुलाई ट्र्याकिङ भनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell