
काठमाडौं : निर्वाचन आयोगमा दल दर्ताका लागि यतिबेला जनता समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधवार राति एकता गर्ने समझदारी भएको थियो।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै समाजवादी पार्टी फुटको संघारमा पुगेको थियो। फुटलाई रोक्नका लागि रातारात पार्टी एकताको समझदारी भयो। पार्टी एकतापछि प्रस्तावित 'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दर्ता भएको छ।
१३८८ दर्ता नम्बरसहित दर्ता भएको निवेदनमाथि कारवाही लकडाउनपछि सुरु हुने बताइएको छ। निर्वाचन आयोगले निवेदन लिएपछि दल दर्ताको प्रक्रिया ४५ दिनसम्म लाग्न सक्छ।
नवगठित दलले दल दर्ताका लागि दिएको निवेदनमा आवश्यक कागजात भने बुझाएको छैन। पार्टी एकताका लागि भएको सहमतिपत्रसहित निवेदन दर्ता गराइएको छ। निवेदनमा अन्य आवश्यक कागजात लकडाउन खुलेपछि बुझाइने उल्लेख छ।
दल दर्ताका प्रक्रियाका लागि घोषणापत्र, झण्डा, चुनाव चिन्हको नमूना, कम्तीमा पाँचसय जना मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपी सहितको हस्ताक्षर पनि आवश्यक पर्छ।
आयोगमा पेश गरिएका कागजातमा आयोगले थप अध्ययन गर्न र सनाखतका लागि समेत बोलाउन सक्नेछ। थप कुनै विवरण वा कागजात माग गर्न पनि आयोगले सक्नेछ।
सम्पूर्ण कागजात जाँचपछि दर्तायोग्य देखिएमा ४५ दिनभित्र आयोगले निवेदकलाई जानकारी दिनुपर्नेछ। निवेदनमा पार्टीको झण्डा र चुनाव चिन्ह भने उल्लेख गरिएको छ।
'दल दर्ताका लागि निवेदन दियौं। बाँकी प्रक्रिया लकडाउन पछि पूरा गर्छौं। पार्टी फुट्दैन,' निवेदन दर्तापछि राजेन्द्र महतोले भने।
यता पार्टीका नेताहरुले अध्यादेशका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद समेत दिएका छन्।
'अध्यादेश जारी गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद। लकडाउनले ढिला भइरहेको थियो फुट होइन् जुट्यो,' आयोग पुगेका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले संक्षिप्त प्रतिक्रिया दिए।
यो पनि पढ्नुहोस्