काठमाडौं : बिहीवारदेखि राज्यकै संयन्त्रले गरेको एउटा 'अपहरण' निकै चर्चामा छ। पूर्व राज्यमन्त्री तथा डाक्टर सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर काठमाडौं ल्याइएको प्रकरणले देश तरङ्गित छ।
समाजवादी पार्टीका नेताले यसलाई सामान्य प्रकरण नमानी अपहरण नै करार घोषणा गरेका छन्। तर, अपहरण भनिएको यस घटनामा जोडिएका मुख्य व्यक्ति पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा सासंद महेश बस्नेत र अर्का सासंद किसन श्रेष्ठ आफूहरु अपहरणकारी नभएको दाबी गरिएका छन्।
समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अपहरण भएको भन्दै उनीहरुमाथि कारबाहीको माग गरिरहेका छन्। त्यसो त अपहरणमा परेका भनिएका डाक्टर सुरेन्द्र यादवले 'अपहरण' शब्द प्रयोग नगरे पनि इच्छाविपरीत काठमाडौं ल्याइएको अन्तर्वार्ता दिइरहेका छन्।
के कानुनी रुपमा यो अपहरण हो त?
मुलुकी अपराध संहिता ऐन २०७४ को भाग-२, परिच्छेद – १७ मा अपहरण सम्वन्धि व्यवस्था गरिएको छ। अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर दफा २११ अपहरण गर्न नहुने भनिएको छ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले अपहरण गरेको मानिनेछ भनिएको छ। आखिर के भयो भने अपहरण मानिने छ त?
ऐनमा नै लेखिएको छ - 'कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा' अपहरण गरेको मानिने उल्लेख गरेको छ।
ऐनमा लेखिए अनुसार पूर्वराज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको प्रकरणमा कसैले पनि बल प्रयोग गरेको देखिँदैन। अहिलेसम्म अपहरण भनिएका सुरेन्द्रले कतै पनि आफूलाई बल प्रयोग गरेर ल्याएको बताएका छैनन्। स्वयम् पूर्व महानिरीक्षक खनालले पनि बल प्रयोग नगरेको र आफुखुसी आएको बताएका छन्।
हो, म जनकपुर गएर ल्याएको हुँ : पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल
'पहिलेदेखि चिनेको साथी हो। काठमाडौं उहाँको इच्छाले नै आउनु भएको हो,' पहिलोपोस्टसँगको कुराकानीमा पूर्वआइजीपी खनालले भनेका थिए।
न्युज २४ टेलिभिजनमा प्रस्तोता रवि लामिछानेसँगको कुराकानीमा डाक्टर स्वयमले पनि बल प्रयोग नभएको बताएका छन्।
'हिजो अचानक पुग्नु भो। फोन गर्नुभयो। उहाँसँग दुई जना माननीय पनि आउनु भएको रहेछ। त्यो मलाई थाहा थिएन। उहाँ मलाई जबर्जस्ती उठाउनु भयो भन्ने पनि सत्य होइन,' उनले भनेका छन्।
तर, ऐनको त्यही दफमा लेखिएको छ - 'छलकपट गरी वा डार त्रासमा पारे त्यो पनि अपहरण' हो। जानकारी नै नदिइ घरमा पुगेको र पटकपटक आफू जनकपुरमा काम छ जान्छु भन्दा 'होइन काठमाडौं नै जाने' भनेको डाक्टर सुरेन्द्रले अन्तर्वार्तामा बताएका छन्। त्यसैले यसलाई अपहरण भन्ने आधार पनि देखिएको छ।
'हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई' भन्ने कानुनी परिषामा भने अपहरण भएको देखिँदैन। उनीहरुले कहीँ कतै धम्की नदिएको यादवले समेत बताएका छन्। यस घटनामा जोडिएका सबै जनाको प्रारम्भीक अन्तर्वार्ता हेर्दा यसले यो बुँदालाई पुष्टि गर्दैन। त्यसैले यो बुँदामा टेकेर हेर्दा अपहरण भन्ने अवस्था देखिँदैन। तर, पूर्व मन्त्री यादवले दवाव दिएको शब्द पनि प्रयोग गरेका छन्।
कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा पनि अपहरणको परिभाषा भित्र पर्छ। यो घटनामा कसैले सवारी नियन्त्रणमा लिएको जवर्जस्ती गरेको भने देखिँदैन। तर, डाक्टर यादवको भनाइलाई मान्ने हो भने आफूले जान नचाहेको समयमा विभिन्न दवाव दिएको प्रस्ट छ। साथै उनलाई आफ्नो गाडीमा चढ्न समेत दिएका छैनन। रवि लामिछानेले टेलिभिजन कार्यक्रमा प्रश्न गरेका थिए - तपाईँ आफ्नो इच्छाले आउनु भएको हो?
उनले जवाफमा भनेका छन्, 'पक्कै पनि होइन। मलाई जनकपुर जानु थियो। उहाँहरुको प्रेसर थियो। मलाई काम छ जनकपुर जान्छु भनेको थिएँ। मलाई छुट्न ग्राहो भइरहेको थियो।'
साथै उनले महानिरीक्षक खनालसँगै दुई माननीय देखेपछि शंका लागेर मोबाइलको सीम नै चेन्ज गरेको बताएका छन्।
कान्तिपुर टेलिभिजनसँगको अर्को अन्तर्वातामा उनले भनेका छन्- 'मलाई शंका लाग्यो त्यसपछि तल ओर्लिएँ। अनि म अर्को सीम हाले। किन भने कि मलाई यो थियो कि मेरो सीम रेकर्डिङ भइरहेको छ।' उनले अर्को सीमकार्ड फेरेर डाक्टर बाबुराम भट्टराईलाई फोन गरेको बताएका छन्। यसले उनीमाथि कति दवाव थियो भन्ने देखिन्छ।
अपराधको परिभाषामा कुनै पनि कार्य अपराध हुनको लागि अपराधिक मनसाय र अपराधिक कार्य भएको हुनपर्छ। यस घटनामा भने दुवै कुरा भएको कानुनविद्हरु बताउँछन्। जस्तो केही दिनअघि सरकारले ल्याएको अध्यादेश मार्फत् राजनितिक फाइदा लिएर पार्टी फुटाउने खेल। यो मनासय अन्तर्गत पर्दछ। यदि कसैको इच्छा विपरीत ल्याइएको पुष्टि भए अपराधिक कार्य पनि मेल खान्छ।
काठमाडौंमा ल्याएर मेरियट होटेलमा राखेपछि बिहान ५ बजे उनी अरुले नदेख्ने गरी भागेको देखिन्छ। कैद भएको बुझेपछि लुकेर निस्किएको उनले अभिव्यक्ति दिनुले बन्धकमा परेको प्रस्ट हुन्छ।
डाक्टर यादव आवद्ध पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले घटनामा संलग्नमाथि कारबाहीको माग गरिरहेका छन्। नेकपाका नेताले पनि घटनाको छानविन हुनुपर्ने बताएका छन्। यदि उनीहरुले अपहरण गरेको भए गम्भीर विषय रहेको बताएका छन्। यदि होइन भने पनि अरुलाई आरोप लगाउनु जघन्य अपराध भन्दै डाक्टर बाबुराम भट्टराईमाथि नै कारवाही हुनुपर्ने बताएका छन्। त्यसैले पनि यो प्रकरण अपहरण हो होइन भन्ने पुष्टि गर्नको लागि पनि अनुसन्धान आवश्यक देखिन्छ।
पूर्व महान्यायधिवक्ता युवराज संग्रौला यसलाई पूर्णरुपमा अपराधको संज्ञा दिए।
'यसलाई कानुनले अपराध नदेख्ला तर यो विषम परिस्थितिमा कानुनी रुपमा नभए पनि नैतिक रुपमा अपराध नै हो,' संग्रौलाले भने।
त्यस्तै, प्रकरणमा मुछिएका नेकपा सासंद महेश बस्नेतले घटनाको प्रोपागाण्डा भएको बताएका छन्। आफ्नो चरिचत्र हत्या भएको दावी गरेका छन् उनले।
'सांसद अपहरण गरेको भन्नु कपोलकल्पित कुरा हो। बाबुराम भट्टराई, विश्वदीप पाण्डेको प्रोपागाण्डा हो। उहाँहरुले चरित्रहत्या गर्नुभयो। सांसद यादव, उहाँकी श्रीमतीले समेत कतै पनि अपहरण हो भनेर भनिरहनु भएको छैन,' उनले भने।
यदि उनले भनेको जस्तो भए कसैको चरित्र हत्या गर्नु पनि अपराध नै हो।
यस घटनालाई अनुसन्धानको दायरमा ल्याउन अपहरण गरिएका भनिएका पूर्वराज्यमन्त्री यादव वा उनको परिवारले प्रहरीमा उजुरी दिनुपर्ने हुन्छ। त्यसपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गर्न सुरु गर्छ। त्यसो त विभिन्न संचार माध्यममा आएको समाचारका आधारमा पनि प्रहरीले अनुसन्धा गर्न सक्छ। तर, घटना राजनीति कनेक्सन र हाइप्रोफाइल व्यक्ति जोडिएकाले त्यतिसम्मको साहस कसले देखाउने?
'यो दुखान्त अवस्थामा राजनीतिलाई विकृति गर्ने अपराधिलाई समाप्त नगरेसम्म देश विकास हुँदैन,' पूर्व महान्यायधिवक्ता संग्रौलाले भने। त्यसैले पनि अनुसन्धान हुनुपर्ने उनको तर्क छ।